काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् हुन् वरुण पौडेल । यस महाशाखाको मुख्य कार्यालय बबरमहल, काठमाडौंमा छ । काम गर्ने भवन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेसन बिल्डिङको दोस्रो तलामा छ । महाशाखाले २४ घण्टा नै मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ ।
सर्वसाधारण तथा हवाई उड्डयनलाई मौसमबारे जानकारी दिनु महाशाखाको काम हो । महाशाखासँग साढे दुई सय किलोमिटर दूरीमा काम गर्नसक्ने तीन ओटा रडार स्टेसन छन् । पाल्पा, सुर्खेत र उदयपुरमा राखिएका ती रडार मुख्यत: बादल कुन कुन ठाउँमा लागेको छ, कस्तो खालको बादल लागिरहेको छ? ती बादल कता जाँदैछन्, ती कस्तो प्रकारको बादल हुन् भन्ने जस्ता विषयहरूको अध्ययन गर्न प्रयोगमा आउँछन् ।
ती रडारको सहायताबाट महाशाखाले मौसमबारे रियल टाइम अब्जरभेसन गर्न सक्छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार यी रडार महङ्गा तथा नवीनतम् प्रविधि भएको र यो वर्षमात्रै विदेशबाट ल्याएर दुई ओटा रडार इन्स्टल गरिएको हो । यसअघि नेपालमा एउटा मात्र यस प्रकारको रडार थियो ।
महाशाखाले कीर्तिपुरबाट प्रत्येक दिन अपर एयर (Upper Air) मूल्याङ्कनका लागि विहान ५:४५ मा नियमित रुपमा बेलुन उडाउँछ । त्यसबाट वायुमण्डलमा हुने मौसमको अवस्था थाहा पाउन सकिन्छ । त्यसबाट रियल टाइम अर्थात् वास्तविक समयकाे डेटा प्राप्त हुन्छ । त्यो बेलुन ३० किलोमिटरमाथि भएर नष्ट हुन्छ ।
महाशाखाले मौसम पूर्वानुमान गर्न उडाउने यो बेलुन निकै खर्चिलो छ । एउटा बेलुन उडाउन करिब ३० हजार रुपैयाँ दैनिक लाग्छ । यसरी दैनिक रूपमा बेलुन उडाउन थालेको तीन वर्ष भएको छ । यसबाट महाशाखालाई चाहिने तथ्याङ्क प्राप्त हुन्छ । त्यो बेलुन कहाँ कहाँ गयो भन्ने कुरा भने जीपीएस सिस्टमबाट थाहा पाइन्छ ।
यो काठमाडौं उपत्यकाबाट बाहिर पनि पुग्न सक्छ । सुरुमा यो आकाशतिर जान्छ । पछि हावाको कारण विभिन्न दिशा लिन थाल्छ । त्यो बेलुन आफैंले केही गर्दैन । तर त्यसमा वायुमण्डलको तापक्रम, जलवाष्प, चाप आदि नाप्ने सेन्सर जडान गरिएको हुन्छ ।
महाशाखाको कार्यालयमा भएको कम्प्युटर मोनिटर
अहिले महाशाखा मातहत ८८ बढी ‘अटोमेटिक वेदर स्टेसन’ छन् । त्यस्तै ३५ भन्दा बढी क्षेत्रमा वेदर क्यामरा स्टेसन छन् । चीन र जापान सरकारको सहयोगमा डेडिकेटेड लाइनका दुई भू-उपग्रह सञ्चालनमा छन् । ती सबैबाट महाशाखाले रियल टाइममा डेटा प्राप्त गर्छ ।
मौसम पूर्वानुमान गर्न तथ्याङ्क चाहिन्छ । तिनलाई विश्लेषण गर्नुपर्छ । यसैका लागि महाशाखाले यी प्रविधिहरू प्रयोग गरिरहेको हो ।
अहिले महाशाखाले सर्वसाधारणलाई बिहान र बेलुका आफ्नो बुलेटिनद्वारा मौसमबारे जानकारी दिने गर्छ । तर हवाई उड्डयनलाई भने प्रत्येक आधा घण्टामा मौसमबारे रिपोर्ट दिने गर्छ । यसका लागि महाशाखालाई दिनभरको फ्लाइटबारे जानकारी हुन्छ ।
त्यही आधारमा महाशाखाले तिनलाई रिपोर्ट बनाइदिनु पर्ने हुन्छ । यसरी पाइलटले उड्नुभन्दा पहिले यो चार्ट पढ्ने गर्छन् । सँगै महाशाखाले तयार पारेको रिपोर्ट रेडियो सिङ्गलका माध्यमबाट पाइलटले टावरबाट जानकारी पाइरहेको हुन्छ । साथै जहाजभित्रै मौसमसम्बन्धी जाँच गर्ने सिस्टमहरू हुन्छन् ।
महाशाखाले मौसमसम्बन्धी एभिएसन डेटा तयार पार्न छुट्टै चेम्बर छुट्याएको छ । प्राप्त भएका डेटा विश्लेषण गरेर महाशाखाले हवाई सञ्जालको नेटवर्कमा पठाउने गर्छ । यसका लागि यहाँ म्यानुअल्ली पनि काम हुन्छ ।
यहाँका कर्मचारीहरूले प्रत्येक आधा घण्टामा एयरपोर्ट वरपरको मौसम अवस्था कस्तो छ भनेर अपडेट गर्छन् । जुन अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाउ), एयर ट्राफिक कन्ट्रोलर (एटीसी), लोकल एयरलाइन्स लगायत आदि ठाउँमा जान्छ ।
म्यानुअल्ली मौसम निरीक्षण गर्न महाशाखाको ३६० डिग्री हेर्न सकिने कोठा छ, जहाँबाट विभिन्न रिफ्रेन्स पोइन्ट देखिन्छ । अथवा कर्मचारीले आफैंले आकाश हेरेर पनि त्यो काम गर्छन् । तिनैका आधारमा पनि महाशाखाले मौसमको अवस्थाबारे जानकारी गराउँछ ।
‘रियल टाइम अब्जरभेसन’ र ‘फरकास्ट’ गरी दुई किसिमको काम महाशाखाले गर्छ । रियल टाइम अब्जरभेसनमा अहिलेको तापक्रम यति छ, यति पानी परेको छ भन्ने जस्ता रडारले दिएका जानकारीहरू प्रस्तुत गर्ने काम हुन्छ ।
त्यस्तै ती अब्जरभेसन आधारमा भविष्यमा के हुन्छ भनेर अनुमान गर्ने काम ‘फरकास्ट’ हो । यसलाई ‘न्युमेरिकल वेदर प्रेडिक्सन मोडेलिङ फरकास्ट’ भनिने मौसमविद् पौडेल सुनाउँछन् । सूर्यास्त र सूर्योदयको समय पनि महाशाखाले निकाल्ने गर्छ । यसका लागि ‘इम्पेरिकल फर्मुला’ प्रयोग गर्नु पर्ने पौडेल बताउँछन् । एक पटकमा एक वर्षको तालिका बनाउन सकिने उनको भनाइ छ । तर सूर्योदयको लागि हरेक दिन फरक ‘फर्मुला’ भने नहुने उनी सुनाउँछन् ।
यी काम गर्न देशका विभिन्न ठाउँमा भएका मौसम सम्बन्धी सूचना दिने केन्द्रहरूबाट महाशाखाको डेटाबेस म्यानेजमेन्ट सिस्टम (डीबीएमएस) डेटा आउने गर्छ । सामान्यतया: ती डेटा तीन/तीन घण्टा अथवा बिहान बेलुका इन्टरनेटको माध्यमबाट आउँछन् । त्यसपछि महाशाखाका कर्मचारीले तिनको अध्ययन तथा विश्लेषण गर्छन् । ती डेटालाई मोडेल फोरकास्ट वा अब्जरभेसनमा पनि प्रयोग गर्छन् ।
महाशाखाले बिहान बेलुकाको आफ्नो बुलेटिनमा प्रदेश अनुसार मौसम पूर्वानुमान राख्ने गर्छ । तर स्थानीय पालिकाहरूका आधारमा भने यो काम महाशाखाले गरेको छैन । तर पानी परेको, हावाहुरी चलेको, बादलको अवस्थाबारे भने बुलेटिन मार्फत जानकारी दिने गर्छ ।
कार्यालयमा मौसमविद् पौडेल
केही वर्षअघिसम्म मौसम पूर्वानुमान गरेको मिल्थेन । मान्छेहरूले त्यो कुरालाई विश्वास गरिहाल्दैन थिए । तर अहिले मौसम पूर्वानुमानकाे विश्वासनीय बढेकाे छ । यसको कारण नवीनतम् प्रविधि भएको वरिष्ठ मौसमविद् पौडेल बताउँछन् । तर यो कामलाई पनि उनी निकै जटिल भएको तर्क छन् ।
“थर्ममिटरले तापक्रम नापे जस्तै ठ्याक्कै मौसम पूर्वानुमान गर्न सकिँदैन । यो निकै जटिल काम हो," उनी भन्छन्, "यसमा धेरै कम्पोनेन्टहरूमा ध्यान दिनुपर्ने हुन्छ । मल्टिपल पारामिटरहरूलाई विलेश्लण गर्नुपर्ने हुन्छ ।”
अहिले मौसमबारे थुप्रै ठाउँबाट जानकारी प्राप्त गर्न सकिन्छ । त्यस्तै कतिपयले इन्डिभिजुअल मोडलबाट मौसम सम्बन्धी सूचना प्रदान गर्छन् । तर ती सूचना महाशाखाको भन्दा फरक हुनसक्छ । यसको कारण त्यसरी सञ्चालनमा आएका मोडलहरूको सिस्टम सानो हुने मौसमविद् पौडेलको भनाइ छ । त्यहीकारण आफूहरूले तिनको र महाशाखाको पूर्वानुमान ट्याली गर्ने उनी बताउँछन् ।
त्यस्तै महाशाखाले आफ्नो क्षमता बढाउन विभिन्न तालिम सञ्चालन गर्ने, सीपयुक्त जनशक्ति उत्पादन गर्न विदेशी दक्षसँग ज्ञान साटासाट गर्ने काम पनि गरिरहेको छ ।
निकै मेहनतपछि तयार हुने मौसम सम्बन्धी यी पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, बुलेटिन आदिमा हेर्न सकिन्छ । त्यस्तै फोन गरेर पनि मौसम सम्बन्धी जानकारी पाउन सकिन्छ । यसका लागि महाशाखा सरकारी कार्यालय भएपनि २४ घण्टा नै खुला हुन्छ ।
प्रविधिमा पहिलेको तुलनामा धेरै सुधार भएको उनले देखेका छन् । अहिले प्रत्येक १०/१० मिनेटमा भू-उपग्रह इमेज प्राप्त हुन्छ । उनी पुराना दिन सम्झिँदै त्यसबेला त्यस्तो प्रविधि नभएको बताउँछन् ।
“त्यस बेला अपडेटेड इमेज हेर्न मिल्दैन थियो । बिहान र बेलुका मात्र रङ्गहीन तस्वीर आउँथ्यो,” उनी सम्झन्छन्, “यस्तो रङ्गिन तस्वीर थिएन । हामीले फरकास्ट दिउँसै गर्न पर्थ्यो । तर बेलुकासम्म कुर्दा पनि तस्वीर आउँदैनथ्यो ।”
त्यस्तै अहिले महाशाखाको वेबसाइट धेरै 'युजर फ्रेन्ड्ली' भएको उनको भनाइ छ । त्यहाँ मौसम सम्बन्धी विभिन्न सूचना प्रयोगकर्ताले केही क्लिकमै हेर्न सक्छन् । उनी जस्तै मौसमविद्का रुपमा काम गर्न माध्यमिक तहमा (११/१२) विज्ञान विषय पढी मिटियोरोलीको अध्ययन गर्नुपर्ने हुन्छ ।
आफूले यो विषय पढ्दा सिद्धान्त मात्र पढेको, तर काम गर्दा भने धेरै भिन्न पाएको अनुभव उनीसँग छ । हरेक दिन, हरेक मौसममा नयाँ नयाँ चुनौती र प्रविधिहरू आइरहने भएकाले आफू अपडेट भइरहनु पर्ने उनी बताउँछन् ।
हिमाल चढ्ने आरोहीदेखि खेतबारीमा काम गर्ने किसानसम्म, घरमा बस्ने मान्छेदेखि नीति निर्मातासम्मलाई मौसम सम्बन्धी जानकारी आवश्यक पर्ने भएकाले यो निकै महत्त्वपूर्ण भएको उनको बुझाइ छ ।