close

नाम कपी भएपछि पहिलेको थ्रेड्स एपले ट्यागलाइनमा लेख्यो- इन्स्टाग्रामसँग हाम्रो सम्बद्धता छैन

टेकपाना टेकपाना

असार २२, २०८० १६:३०

नाम कपी भएपछि पहिलेको थ्रेड्स एपले ट्यागलाइनमा लेख्यो- इन्स्टाग्रामसँग हाम्रो सम्बद्धता छैन

काठमाडौं । नाम कपी भएपछि पहिलेको थ्रेड्स एप इन्स्टाग्रामसँग आफ्नो सम्बद्धता नभएको उल्लेख गर्न बाध्य भएको छ । इन्स्टाग्रामको एप थ्रेड्स बिहीबार औपचारिक रूपमा सुरु भएको थियो । लाखाैं मानिसले झुक्किएर आफ्नो एप डाउनलाेड गर्न थालेपछि थ्रेड्सले इन्स्टाग्राममा कुनै सम्बद्धता नरहेकाे उल्लेख गरेकाे हाे ।

थ्रेड्स डटकम क्रियटरका सीप प्रवर्द्धन गर्न सघाउने प्लेटफर्म हो । सन् २०१७ मा जोन म्याककर्ड, मार्क रिच, रोस्याउ काजी सुमन वेन्कटास्वामीले सुरु गरेको यो प्लेटफर्मको मुख्य उद्देश्य क्रियटरहरूलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिसँग कामका लागि सहकार्य गराउनु हो । विशेषगरी सफ्टवयेर बनाउने, ग्राफिक्स डिजाइन गर्ने, विभिन्न आर्ट गर्ने आर्टिस्टहरू र कुनै न कुनै सीप भएका क्रियटरहरू यो प्लेटफर्म प्रयोग गर्छन् ।

आफू सक्रिय रहेका क्षेत्रको बारेमा जानकारी दिने, विभिन्न प्रोजेक्टबारे छलफल गर्ने उक्त प्लेटफर्ममा क्रियटर तथा कम्पनीले थ्रेड्स बनाउन सक्छन् । त्यसैमा उत्सुक कम्पनी तथा व्यक्ति जोडिएर आफूलाई लागेका कुराहरू राख्छन् ।

यस प्लेटफर्ममा थ्रेड्सको च्यानल बनाउन सकिन्छ । त्यस्ता थ्रेड्स च्यानलमा सार्वजनिक वा व्यक्तिगत दुई किसिमका हुन्छन् । उक्त प्लेटफर्म बेटा भर्सनमा भएकाले सहजै लगइन गर्न सकिँदैन । इन्भिटेसन कोडमार्फत मात्र लगइन गर्न सकिने यो प्लेटफर्म अहिले इन्स्टाग्रामले उही नामको एप ल्याउँदा तनावमा छ ।

टप लेभल डोमेन डटकम पहिले नै थ्रेड्सले दर्ता गरिसकेको थियो । त्यसैले इन्स्टाग्रामले आफ्नो माइक्रो ब्लगिङ साइटका लागि डट नेट डोमेन लिएको छ ।

इन्स्टाग्रामले सो एप ल्याउनुअघि नै थ्रेड्सले आफ्नो एप गुगल प्लेस्टाेर तथा एप्पल एपस्टोरमा एप उपलब्ध गराइसकेकाे थियाे, जसले गर्दा प्रयोगकर्ताले ती प्लेटफर्ममा थ्रेड्स सर्च गर्दा पहिलेको थ्रेड्स सुझावमा देखियो । र, प्रयोगकर्ताले इन्स्टाग्रामकै एप सोचेर उक्त एप इन्स्टल गरी प्रयोग गर्न खोजे ।

यसरी उक्त प्लेटफर्मका लागि उपयुक्त नहुने प्रयोगकर्ताले इन्स्टल गरेर प्रयोग गर्न खोजेपछि कम्पनीले बाध्य भएर आफू इन्स्टाग्राममा आवद्ध नभएको ट्यागलाइन राखेको हो ।

एप स्टोरमा थ्रेड्स सर्च गर्दा सबैभन्दा माथि देखिने थ्रेड्सको ट्याग लाइनमा लेखिएको छ, “नट एफिलियटेड विथ इन्स्टाग्राम,” अर्थात् इन्स्टाग्रामसँग सम्बद्ध छैन ।

इन्स्टाग्रामको एप थ्रेड्स एप ट्वीटर जस्तै देखिने भएकाले अहिले बढी चर्चामा छ । उक्त एप सार्वजनिक भएको सात घण्टामै एक करोड र १२ घण्टामा तीन कराेड बढी प्रयोगकर्ता जोडिएका थिए ।

पछिल्लो अध्यावधिक: असार २२, २०८० १६:५७