close

म्याद सकिनै लाग्दा ४० लाखमध्ये एमडीएमएसमा ११२६ मात्रै दर्ता, नहुनेमाथि प्रतिबन्ध लाग्ला ?

टेकपाना टेकपाना

असार २२, २०८० १९:५

म्याद सकिनै लाग्दा ४० लाखमध्ये एमडीएमएसमा ११२६ मात्रै दर्ता, नहुनेमाथि प्रतिबन्ध लाग्ला ?

काठमाडौं । सरकारले एमडीएमएसमा मोबाइल फोन दर्ता गर्न तोकेको समयसीमा समाप्त हुनै लाग्दा समेत दर्ता हुनेको सङ्ख्या भने अत्यन्तै न्यून देखिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ४० लाखभन्दा बढी फोन ‘ग्रे लिस्ट’मा रहेकोमा हालसम्म ११२६ फोन मात्रै दर्ता भएका हुन् । 

सरकारले संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै १५ जेठ अघि नेपाल भित्रिए पनि एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन निश्चित शुल्क भुक्तानी गरी दर्ता गर्न सकिने घोषणा गरेको थियो । त्यसका लागि असार मसान्तसम्मको म्याद दिइएको छ । उक्त म्याद सकिन अब एक साता जति मात्र बाँकी हुँदा समेत मोबाइल दर्ता गर्नेको सङ्ख्या नगन्य देखिएको हो । 

हालसम्म ४२३ आईफोन, ६१० एन्ड्रोइड फोन र ५८ ओटा बार फोन प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता भएका छन् । १ साउन पश्चात दर्ता नभएका मोबाइल फोन नेपालमा नचल्ने गरी लक लगाउने चर्चा भए पनि हालसम्म त्यसका लागि कुनै ठोस निर्णय भने भइसकेको छैन । 

बजेट मार्फत एमडीएमएसमा दर्ता गर्न आईफोन तथा एक लाख रुपैयाँभन्दा महँगा मोबाइलका लागि १० हजार रुपैयाँ, अन्य एन्ड्रोइडका लागि तीन हजार रुपैयाँ र बार फोनका लागि २०० रुपैयाँ शुल्क तोकेको छ । 

 

कति छ दर्ता नभएका फोनमा प्रतिबन्ध लाग्ने सम्भावना ? 

१५ जेठमा सरकारले एमडीएमएसमा दर्ता गर्न असार मसान्तसम्मको म्याद घोषणा गरेको भए पनि शुल्क बुझाउने प्रणाली भने ७ असारदेखि मात्रै सञ्चालनमा आएको हो । त्यससँगै भन्सार विभागले एक सूचना जारी गर्दै एमडीएमएसमा दर्ता नभएका मोबाइल असार मसान्तसम्म दर्ता गर्न अनुरोध गरेको थियो । 

तर ४० लाखभन्दा धेरै फोन एमडीएमएसमा दर्ता नरहेको अवस्थामा त्यसका लागि तीन हप्ताको समय पर्याप्त थिएन । यत्रि मात्र होइन, सम्बन्धित प्रयोगकर्तालाई उनीहरूको मोबाइल दर्ता छ कि छैन भन्ने जानकारी अहिलेसम्म गराइएको छैन । 

सार्वजनिक सूचना जारी गरिएको भए पनि प्रयोगकर्ता आफैंले प्राधिकरणको एमडीएमएस पोर्टलमा मोबाइल दर्ता रहे/नरहेको चेक नगरी थाहा हुँदैन ।

जब कि प्राधिकरणको सिस्टममै दर्ता नभएका मोबाइल र ती मोबाइलमा प्रयोग भइरहेका मोबाइल नम्बरको रेकर्ड रहेको छ । सरकारले ती मोबाइल फोनमा अहिलेसम्म एउटा एसएमएस पठाएर सम्बन्धित प्रयोगकर्तालाई जानकारी समेत गराउन सकेको छैन । 

प्राधिकरणका एक अधिकारीले सम्भवतः शुक्रबार साँझ वा आइतबार बिहान मोबाइल एमडीएमएसमा दर्ता नरहेको र निर्धारित शुल्क बुझाएर दर्ता गर्न भन्दै एसएमएस पठाउने तयारी भइरहेको बताए । 

तपाईंको मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, यदि छैन भने कसरी दर्ता गर्ने जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् अथवा टिप्सको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

 

प्रयोगकर्तालाई एमडीएमएसमा आफ्नो मोबाइल दर्ता नरहेको थाहा भए पनि दर्ता गराउने प्रक्रियाको बारेमा राम्रो जानकारी छैन । दर्ता गर्ने म्याद थोरै भएको र सम्बन्धित प्रयोगकर्तालाई जानकारी समेत नगराइएको अवस्थामा १ साउनदेखि दर्ता नभएका मोबाइल नेपालभित्र नचल्ने निर्णय लिन सरकारका लागि असम्भव जस्तै छ । 

आर्थिक विधेयकबाटै मोबाइल दर्ता सम्बन्धी व्यवस्था, मिति र दस्तुर निर्धारण गरिएको अवस्थामा त्यसको म्याद थप गर्न त्यसलाई संशोधन गर्नुपर्ने हुन्छ । यस्तोमा मन्त्रिपरिषद्‌बाट म्याद थपको निर्णय हुनसक्ने अनुमान गरिएको छ ।  

 

कति छन् एमडीएमएसमा दर्ता नभएका मोबाइल ?  

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल करिब ५५ लाख मोबाइल फोन एमडीएमएसमा दर्ता नभई प्रयोगमा रहेका छन् । यो गत भदौदेखि यही १५ जेठसम्मको तथ्याङ्क हो ।

यद्यपि कति मोबाइल फोन हुन बाँकी छन् भन्ने यकिन तथ्याङ्क भने प्राधिकरणसँग पनि छैन । दर्ता नभएका आईएमईआई सङ्ख्या ८३ लाख २७ हजार ६०६ रहेको छ । जुन मोबाइलमा जति सिम कार्ड लाग्छ, त्यति नै आईएमईआई हुने गर्छन् । 

यस्तोमा ५५ लाख अनुमानित मोबाइल सङ्ख्या हो । पछिल्लो समय आईओटी (इन्टरन्ट अफ थिङ्स), एमटुएम (मसिन टु मसिन), सेलुलर ट्याब लगायतका उपकरणमा समेत सिम कार्ड हुने गरेको छ । त्यस्ता डिभाइस भने एमडीएमएसमा दर्ता गरिरहनु पर्दैन । 

पछिल्लो अध्यावधिक: असार २२, २०८० १९:१३