close

यस्तो छ १७ हजारमै पाइने ८ जीबी र्‍याम भएको स्मार्टफोन

टेकपाना टेकपाना

असार २६, २०८० १५:३

यस्तो छ १७ हजारमै पाइने ८ जीबी र्‍याम भएको स्मार्टफोन

काठमाडौं । नेपाली बजारमा २०२३ को जुलाईतिर प्रवेश गरेको फोन हो, इन्फिनिक्स हट ३० आई (Infinix Hot 30i) । यो एक बजेट फोन हो । तर यसमा ८ जीबी र्‍याम, १२८ जीबी स्टोरेज क्षमता दिइएको छ । झट्ट हेर्दा यो सस्तो फोन हो भन्ने लाग्दैन ।

फोनमा ग्लास फिनिश (Glass finish) हुनुको साथै डायमन्ड कट भएको ब्याक प्यानल छ । त्यसले फोनको लुक्सलाई निकै आकर्षक देखाएको छ । डायमन्ड ह्वाइट, मिरर ब्ल्याक र ग्लेसियर ब्लु रङ गरी यो फोन तीन रङमा उपलब्ध छ । यसको अब्बल पक्ष भनेको र्‍याम र स्टोरेज क्षमता हो । किनकि कतिपय ब्राण्डले बजेट फोनमा ४ जीबी र्‍याम पनि मुस्किलले दिन्छन् । तर यसमा ८ जीबी र्‍याम छ, जसलाई भर्चुअल रुपमा ८ जीबी पनि थप गर्न सकिन्छ। 

समयसँगै महङ्गी बढ्छ, तर प्रविधि सस्तो हुँदै जान्छ । केही समय अगाडिसम्म ६४ जीबी स्टोरेज भएको फोन २० हजार रुपैयाँ मुनि अपेक्षा गर्न सकिँदैनथ्यो । तर अहिले १२८ जीबी स्टोरेज सामान्य बजेट फोनमा समेत पाउन थालिएको छ ।

फोनमा मिडियाटेक हेलियो जी३७ चिपसेट छ । फोनमा ८ जीबी र्‍याम भएपनि प्रोसेसर अलि पुरानै भएकाले पर्फमेन्समा खासै ठूलो परिवर्तन पाइँदैन । तर फोनमा फेसबुक, टिकटक, युट्युब जस्ता एप्लिकेसनहरू राम्ररी चल्छ । त्यस्तै पब्जी, फ्रिफायर जस्ता गेम नर्मल सेटिङमा राम्रै चल्छ ।

यस फोनमा मुख्य क्यामेरा ५० मेगापिक्सेलकाे छ । पछाडिको अर्को लेन्सले ‘डेप्थ सेन्सर’को मात्रै काम गर्छ । सेल्फी क्यामेरा भने जम्मा ५ मेगापिक्सेलको मात्रै छ । तर क्यामेरामा एआई क्याम, ब्युटी, पोट्रेट, एआर शट, स्लो मोसन, पानोरमा, टाइम ल्याप्स जस्ता मोड छन् । यी मोड रिल, टिकटक, स्न्याप बनाउन निकै उपयोगी हुन्छन् । त्यसैगरी भिडिओ पनि अगाडि र पछाडि दुवैबाट ३० एफपीएस र १०८० रेजाेलुसनमा खिच्न सकिन्छ ।  

यो एन्ड्रोइड १२ मा आधारित फोन हो । जुन यसको निकै दुर्वल पक्ष हो । त्यसैले एन्ड्रोइड १३ ले अफर गरेका फिचर र विशेषता नयाँ फोन लिँदै गर्दा पनि प्रयोगकर्ताले उपभोग गर्न पाउँदैनन् । यसको युजर इन्टरफेस (यूआई) भने ठीकठाक नै छ ।

नोटिफिकेसन बारमा जस्तै एज प्यानल मार्फत विभिन्न एप र फिचरमा पहुँच पाउन सकिन्छ । यदि नोटिफिकेसनहरू हेर्नु छ भने मोबाइलको बायाँ माथिबाट तलतिर स्क्रोल गर्नुपर्छ । फ्ल्याशलाइट, स्क्रिन ब्राइटनेट लगायतका अन्य फिचरमा पहुँच पाउन भने दायाँ भागबाट तलतिर स्क्रोल गर्नुपर्छ । 

यसमा थिम कस्टमाइजेसन र विजेटहरू भने सीमित मात्रामा उपलब्ध छन् । मल्टी टास्क गर्न ‘स्क्रिन स्प्लिट’ जस्ता फिचर भने छैनन् । ९० हर्जको स्क्रिन रिफ्रेस रेट भएको फाेनमा ६.५६ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ । ब्राइटनेसको मामिलामा पनि फोन ठीकै छ । ५०० निट्स (nits)को ब्राइटनेस भएकाले घाममा पनि मोबाइल चलाउन समस्या हुँदैन ।

ब्याट्री ५००० एमएएच क्षमताको छ । तर कमजोर भनेको चार्जिङ क्षमता हो । यसमा जम्मा १० वाटको चार्जर दिइएको छ । जसले फोनलाई चार्ज गर्न लगभग साढे दुई घण्टा जति लाग्न सक्छ । 

समग्रमा भन्दा अपरेटिङ सिस्टमका हिसाबले कमजोर भएपनि यूआईका हिसाबले मूल्य अनुसार ठीकठाक छ । सस्तो मूल्यमा स्टोरेज, ब्याट्री र क्यामेरा राम्रो भएको फोन लिन चाहने विद्यार्थी तथा वृद्धवृद्धालाई यो फोन विकल्प हुनसक्छ । नेपालमा यसको मूल्य १७ हजार रुपैँया रहेको छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८० १५:३