काठमाडौं । नेपाल उद्योग परिसंघकोमेक इन नेपाल ‘स्वदेशी’ र ईकमर्स प्लेटफर्म दराजबीच स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको उत्पादन प्रबर्द्धन गर्ने समझदारी भएको छ ।
मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको अभियान हो ।
स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल – स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ ।
यही अभियान अन्तर्गतका सदस्यहरूको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको परिसंघले जनाएको छ ।
यस समझदारी अनुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउडली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरूले आफ्ना वस्तुहरू यस सेक्सनमा राख्न पाउनेछन् ।
सम्झौता अनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको वस्तु दराजको प्लेटर्फममा राख्न तथा खरिद बिक्री गर्न दराजले स्वदेशी सदस्यहरूलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउने परिसंघले जनाएको छ ।