close

अनलाइनबाट सजिलै पैसा कमाउन सकिने लोभमा युवाले एक गुमाए ६३ लाख

टेकपाना टेकपाना

असार ३१, २०८० १४:५४

अनलाइनबाट सजिलै पैसा कमाउन सकिने लोभमा युवाले एक गुमाए ६३ लाख

काठमाडौं । स्क्यामरहरू (ठगी तथा जालझेलमा संलग्न व्यक्तिहरू) का लागि साधारण मान्छेलाई ठग्ने माध्यम  ‘वर्क फ्रम होम’ बनिरहेको छ । भारतमा एक महिना यता यस्तो स्क्याम (ठगी) मा फसेर हजारौं युवाहरूले लाखौं रकम गुमाउन पुगेका छन् ।

यही प्रकृतिको स्क्यामबाट मोरैया, अहमदाबाद भारत बस्ने थ्रीडी डिजाइनर देवाङ्ग चौहानले ४० लाख भारु  (६३ लाख रुपैयाँ) गुमाएको घटना बाहिर आएको छ । उनले आफू ठगिएको थाहा पाएपछि हालै प्रहरीमा उजुरी दिएका छन् ।  

टाइम्स अफ इन्डियाका अनुसार गत अप्रिल २१ मा चौहानको ह्वाट्सएपमा पार्ट टाइम तथा वर्क फ्रम होम जागिरबारे अज्ञात नम्बरबाट मेसेज आयो । उनमा पनि उक्त पार्ट टाइम काम प्रति रुचि जाग्यो । त्यसपछि उनले तुरुन्तै त्यस नम्बरमा कल गरे ।

फोन कलमा ती युवा र अज्ञात व्यक्तिबीच कुराकानी भयो । त्यसपछि चौहानलाई युट्युब भिडियोहरूमा लाइक तथा भिडिओ शेयर गर्ने कामको प्रस्ताव आयो । त्यो काम गर्दा राम्रै पैसा आउने भएपछि चौहान पनि मख्ख थिए र, काम सुरु गरे ।

अज्ञात व्यक्ति र चौहानको सम्झौता अनुसार उनले पहिलो चरणमा प्रतिघण्टा तीन ओटा भिडियोमा लाइक र सम्बन्धित युट्युब च्यानलमा सब्सक्राइब गर्नुपर्ने थियो । त्यसका लागि उनलाई ५० रुपैयाँ भारु दिने भनिएको थियो ।

चौहानले काम गरिसकेपछि अज्ञात व्यक्तिले भने अनुसार पहिलो पटक उनको खातामा तलब स्वरूप १५० भारु जम्मा गरिदियो । त्यस लगत्तै चौहानलाई १६० बढी सदस्य रहेको टेलिग्राम ग्रुपमा ‘एड’ गरियो ।

त्यहाँ उनी जस्तै अन्य व्यक्तिहरू पनि थिए । सजिलै पैसा कमाउन सकिने भएपछि चौहान लगायत अन्य व्यक्तिहरू खुसीले गदगद थिए ।

काम दिने अज्ञात व्यक्तिले उनीहरू सबैलाई काम सुरु गर्नुअघि प्रिपेड शुल्कको रूपमा १५०० भारु तिर्न लगाए । काम सकिना साथ पारिश्रमिक स्वरूप उनीहरूलाई तलबको ४०० भारु र प्रिपेड रकम स्वरूप उठाइएको १५०० फिर्ता गरियो ।

अन्य युवा जस्तै चौहानले पनि दोस्रो पटक कूल १९०० भारु पाए । त्यसको केही समयपछि उनले तेस्रो चरणको काम गरे । 

तेस्रो चरणको कामका लागि उनीहरूले दुई हजार ५० भारु प्रिपेड (अग्रिम) शुल्क स्वरूप बुझाउनुपर्ने थियो । पहिलो पटक बुझाउँदा रकम फिर्ता पाएपछि उनीहरूले सजिलै दोस्रो पटक पनि प्रिपेड शुल्क बझाए । पहिले जति सहजै पारिश्रमिक पाएका थिए, तेस्रो चरणमा उनले सो रकम पाएनन् । 

उनीहरूले जति पटक काम गरे, त्यसभन्दा अघि प्रिपेड शुल्क स्वरूप हरेक पटक तोकिएको रकम बुझाउनुपर्ने हुन्थ्यो । जति बढी प्रिपेड शुल्क बुझायो, त्यति नै बढी आम्दानी हुने आश्वासन दिइएको थियो । 

दुई पटकसम्म लगातार पारिश्रमिक पाइरहेका चौहानले तेस्रो पटक भने पाएका थिएनन् । तर पनि बढी रकम पाउने आशमा उनले चौथो, पाचौं पटक लगानी गर्दै दिइएको काम गर्दै गए ।

काम गरे बापत पारिश्रमिक स्वरूप पाउनु पर्ने रकम बढ्दै थियो । यता अज्ञात व्यक्तिले भने उक्त रकम दिने कुनै सुर गरेका थिएनन् । 

पारिश्रमिक स्वरूप दिनुपर्ने रकम नदिएरै ती अज्ञात व्यक्तिले उनीहरूबाट लगानी उठाउँदै काममा लगाइरहेका थिए । हरेक पटक काम गर्दा उनीहरूले भनेको प्रिपेड शुल्क बुझाउनुपर्ने हुन्थ्यो र दिइएको ‘टास्क’ (जिम्मेवारी) पनि पूरा गर्नुपर्ने हुन्थ्यो । 

यसरी उनीहरूलाई यस्तो जालोमा फसाइ सकिएको थियो, जहाँ उनीहरूले हरेक पटक तिर्नुपर्ने प्रिपेड शुल्क बुझाउन बाध्य भइरहेका थिए । 

अज्ञात व्यक्तिले चौहान लगायत अन्य युवाहरूले गर्नुपर्ने काम, तिर्नुपर्ने प्रिपेड शुल्क र उनीहरूले पाउनुपर्ने पारिश्रमिकको रिपोर्ट राख्नका लागि छुट्टै वेबसाइट पनि बनाएका थिए । ती अज्ञात व्यक्तिले यी सबै गतिविधिले यसरी गरेका थिए कि कसैलाई पनि आफू कुनै दिन ठगिन्छु भन्ने रत्तिभर आशङ्का थिएन ।

त्यसैले हरेक दिन नयाँनयाँ व्यक्तिहरू छोटो समयमै मोटो रकम कमाउने आशामा जोडिंदै गइरहेका थिए । यता समय बित्दै जाँदा चौहानले ती अज्ञात व्यक्तिलाई ३० लाख भारु दिइसकेका थिए । त्यही पनि उनले पारिश्रमिक पाउनका लागि जोड गरेनन् र, काम गरे वापत उनले १० लाख बढी पाउन बाँकी थियो ।

“उनीहरूले मलाई अन्तिम पटक एउटा क्रिप्टो करेन्सी फर्मको रिभ्यु गर्ने काम दिए,” चौहानले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा भनेका छन्, “मैले त्यो काम गरे वापत पाउनुपर्ने पारिश्रमिक पनि दिइएन । बरु उल्टै मैले ‘थम्स डाउन’ (डिसलाइक) आइकनमा क्लिक गरेर नेगेटिभ रिभ्यु दिएको भन्दै भुक्तानी ब्लक गरियो ।”

त्यसबाहेक पनि चौहानले बुझाएको र कमाएको सबै रकम पाउनका लागि ११ लाख भारु कर तिर्न जोड गरियो । उनी यस्तो भुमरीमा फसिसकेका थिए कि जहाँ न उनी आफ्नो ४० लाख गुमाउन चाहन्थे न त ११ लाख भारु कर तिर्न नै सक्थे ।

त्यसपछि मात्र चौहानले आफू ठगिएको महसुस गरे र, उनले तत्कालै प्रहरी चौकीमा उजुरी दिए । अहिले यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रहरीले यस प्रकारका अनलाइन स्क्यामबाट बच्न बारम्बार सतर्क गराइरहेको छ । सजिलैसँग धेरै पैसा कमाउन सकिने कसैले सुनाए उसबाट सावधान हुनु पर्ने प्रहरीको सुझाव छ । 

 

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १४:१३