close

अढाई लाखमै पाइने आकर्षक बिजुली स्कुटर लुयान एस ३०, यस्तो छ फिचर (भिडिओसहित)

टेकपाना टेकपाना

असार ३१, २०८० १८:१४

अढाई लाखमै पाइने आकर्षक बिजुली स्कुटर लुयान एस ३०, यस्तो छ फिचर (भिडिओसहित)

 

काठमाडौं । विद्युतीय स्कुटरको लुयान एस ३० ‘लुक्स’ आकर्षक नै छ । अगाडि र पछाडिको भागमा ब्रान्डको लोगो छ । नेपालका लागि यो स्कुटरको आधिकारिक बिक्रेता जिरो इमिसन राइड एन हो ।

स्कुटरको ‘बिल्ट क्वालिटी’ पनि राम्रै छ । यसको अगाडि भागमा आयातकार डिस्प्ले छ । जसमा चार्ज कति बाँकी छ,  स्कुटर कुन मोडमा छ भन्ने लगायतका जानकारी देखिन्छन् । 

ईस्पोर्टस् र इकोनोमी गरी स्कुटरमा दुई ओटा मोड छन् । कम्पनीका अनुसार स्कुटरले ईस्पोर्टसमा ६० देखि ८० किलोमिटरको रेञ्ज दिन सक्छ भने यसको अधिकतम गति ६५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

इकोनोमीमा भने ८० देखि १०० किलोमिटरसम्म रेञ्ज पाउन सकिन्छ । जसमा ४५ किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सकिन्छ । स्कुटरमा ट्रिप मिटर पनि जडान गरिएको छ ।

स्टार्ट गरेपछि कति किलोमिटर गुड्यो भन्ने कुरा यसमा देखिन्छ । तर अफ गरेपछि भने यो स्वत: ‘रिसेट’ हुन्छ । साथै सुरुमा अन गर्दा स्कुटर अहिलेसम्म जम्मा कति गुडेको छ भन्ने देखिन्छ ।

स्कुटरलाई चाबी र रिमोट गरी दुई तरिकाबाट अन गर्न सकिन्छ । तर बुट स्पेस र ह्यान्ड लक भने रिमोटबाट ‘अन’ हुँदैन ।

यसको ‘लुकिङ ग्लास’ पनि सामान्य किसिमकै छ । ग्लास ठूलै भएकाले पछाडिबाट आएका अन्य सवारी साधन हेर्न समस्या हुँदैन । स्कुटरको बायाँ ह्यान्डलमा हेडलाइट, साइड लाइट र हर्नका लागि बटन छन् ।

दायाँ ह्यान्डलमा भने मोड परिवर्तन गर्ने र देखाउनका लागि मात्रै दुई ओटा बटन राखिएका छन् । यसमा प्रयोग भएको हेडलाइट एलईडी हेड याम्बी हो । जसले गर्दा रातको समयमा पनि स्कुटर कुदाउन खासै समस्या हुँदैन । 

यसमा ३१ लिटरको बुट स्पेस रहेको छ । जहाँ एउटा मिनियचर सर्किट ब्रेकर (एमसीबी) पनि दिइएको छ । केही दिन स्कुटर नचलाउने हो भने यो एमसीबी बन्द गर्न सकिन्छ ।

तर यसो गर्दा स्कुटरमा भएको ह्विल लक र एन्टी थिफ फिचरले काम गर्दैन । सामान्यतया: अरु कसैले तपाईंको स्कुटर छोए अलार्म बज्ने फिचर नै एन्टी थिफ हो । त्यस्तै कसैले स्कुटरलाई सार्दै छ भने स्वत: गुड्न बन्द गराउने काम ह्विल लक फिचरले गर्छ । 

यसको सिट निकै लचिलो छ । पछाडि बसेका मान्छेलाई आराम गर्न ब्याक रेस्ट पनि दिइएको छ ।

जुन उकालो र अफरोडमा काम लाग्छ । १.५ किलोवाट क्षमताको लिक्विड कुल हव मोटर रहेको यो स्कुटरको पिक पावर ३५०० वाट रहेको छ । त्यस्तै ७२ भोल्ट ३२ एम्पियरको लिथियम आयन ब्याट्री यसमा राखिएको छ । जसलाई आईपी ६७ रेटिङ दिइएको छ । 

यसको अर्थ धुलो/धुँवा वा पानीबाट ब्याट्रीलाई त्यति धेरै असर गर्दैन भन्ने हो । यो ब्याट्री चार्ज गर्नका लागि कम्पनीले छ एम्पियरको एसी चार्जर  दिएको छ । यसबाट शून्यदेखि फुल चार्ज हुन छदेखि आठ घण्टा लाग्छ ।

यसलाई घरमै चार्ज गर्न सकिन्छ । यसमा आयल कुल मोटर दिइएको छ । त्यसमा बेलाबेला तपाईंले तेल हालिरहनु पर्ने हुन्छ । एक पटक तेल परिवर्तन गर्दा दुई हजार रुपैयाँ जति लाग्ने कम्पनीले जनाएको छ । 

 

यसले गर्दा मोटर जाम हुनबाट जोगिन्छ । चीनमा उत्पादन भएको यो विद्युतीय स्कुटरको ‘फस्ट इम्फ्रेसन’को लागि हामी काठमाडौंबाट ह्वाइट गुम्बा गएका थियौं ।

स्पोर्टस मोडमा जाँदा कुनै समस्या भएन । तर  ईकोनोमी मोडमा पनि सजिलै आउन सकिने जस्तो लागेको  थियो । ह्वाइट गुम्बामा जाँदा स्कुटरको बीच भागले एक पटक पनि भुइँ छोएको थिएन । 

किनकी यसमा १४४ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । त्यस्तै १० इन्चको ट्युबलेस टायर दिइएको यो स्कुटरमा दुवै टायरमा डिस ब्रेक छ । कम्पनीले यो स्कुटरको ब्याट्री र मोटरमा दुई वर्ष तथा चार्जर र कन्ट्रोलरमा एक वर्षको वारेन्टी दिएको छ ।

नेपाली बजारमा यसको मूल्य दुई लाख ५४ हजार ७ सय रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १८:१४