close

आईएमएस ग्रुपले सामसङ मोबाइलको डिस्ट्रिब्युसन बिक्री गरेको चर्चा, के हो वास्तविकता ?

टेकपाना टेकपाना

साउन २, २०८० १८:४७

आईएमएस ग्रुपले सामसङ मोबाइलको डिस्ट्रिब्युसन बिक्री गरेको चर्चा, के हो वास्तविकता ?

 

काठमाडौं । नेपालका लागि सामसङ मोबाइलको आधिकारिक वितरक आईएमएस ग्रुपले डिस्ट्रिब्युसन बिक्री गरेको चर्चा चल्न थालेको छ । काठमाडौंको कमलादी स्थित कम्पनीको सबैभन्दा ठूलो र पुरानो शोरूम बन्द भएसँगै यस्तो हल्ला सुनिन थालेको हो । 

साथै जलविद्युत क्षेत्रमा गरेको लगानीले सोचे जस्तो प्रतिफल दिन नसकेको र आर्थिक संकटको अवस्था सिर्जना भएपछि डिस्ट्रिब्युसन बिक्री गरिएको हुनसक्ने कतिपयले आशंका व्यक्त गर्न थालेका छन् । 

हामीले यसको वास्तविकता बुझ्न आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिकेश मल्होत्रासँग सम्पर्क गरेका थियौं । तर उनले डिस्ट्रिब्युसन बिक्री गरेको लगायतका चर्चा हल्ला मात्रै भएको बताए ।

“हाम्रो तर्फबाट यस्तो कुनै पनि सूचना बाहिर सार्वजनिक गरेका छैनौं,” उनले भने, “ग्रुप अन्तर्गत सामसङको व्यवसाय म आफैंले हेरिरहेको छु ।”

रोयल सिङ्घे होटेलसँगै रहेको कम्पनीको सबैभन्दा पुरानो शोरूम पनि बन्द नभएर नजिकै तीनचार घर पर सरेको मल्होत्राले स्पष्ट पारे । 

“नयाँ स्थानमा सरेको शोरूम अबको दुई हप्तामा तयार हुन्छ,” उनले अगाडि भने, "अहिले त्यसका लागि आवश्यक सामान आउने क्रममा छ ।"

नेपालको मध्य तथा पश्चिम क्षेत्रमा सामसङ मोबाइलको वितरकको अधिकार आईएमएस ग्रुपसँग रहेको छ । कमलादीसँगै दरवार मार्ग स्थित शेर्पा मल, जाउलाखेल, बुटवल, पोखरा, न्युरोड खिचापोखरी र पाकोमा गरी हाल कम्पनीका सात ओटा सामसङ मोबाइल शोरूम सञ्चालनमा छन् ।

देशको पूर्वी क्षेत्रमा भने सामसङ मोबाइलको डिस्ट्रिब्युसन गोल्छा समूहसँग रहेको छ । सामसङ नेपालकै नम्बर वान मोबाइल ब्रान्ड हो । जसको बजार हिस्सा ३५ प्रतिशत रहेको कम्पनीको दाबी छ । 

सामसङ ब्रान्डका कम्प्युटर मनिटरको एक्सक्लुसिभ डिस्ट्रिब्युटर समेत रहेको आईएमएसले सामसङ टिभी समेत बिक्री तथा वितरण गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८० १८:४७