close

३० दिन हिरासतमा बसेका ‘राजु मास्टर’ को पश्चाताप, भन्छन्ः भुलेर पनि कोही वनएक्स बेटमा नलाग्नू

राजु पौडेल (राजु मास्टर)

साउन २, २०८० १९:४६

३० दिन हिरासतमा बसेका ‘राजु मास्टर’ को पश्चाताप, भन्छन्ः भुलेर पनि कोही वनएक्स बेटमा नलाग्नू

हामीले अलिकति गल्ती गर्‍यौं । गल्ती गरिसकेपछि मैले माफी माग्न आउन थोरै ढिला गरेँ । धेरै जनलाई थाहा छ, हामीले वनएक्स बेटको विज्ञापन बजाएको हुनाले हामी ३० दिन जति कारागारमा बस्नुपरेको थियो । र, धेरै साथी मिडियामा आउनु भयो । आफ्नो गल्तीहरू स्वीकार्नु भयो । सबैले आफ्नो गल्ती स्वीकारेपछि तँ किन नआएको, तँ किन ठूलो पल्टेको भन्ने कुरा थियो ।

वास्तवमा कुरा त्यस्तो होइन । म कारागारबाट निस्किएको भोलिपल्ट मेरी आमालाई भेट्न सिधै आफ्नो घर पोखरा गएँ । सुरुमा आमालाई भेट्ने बित्तिकै खुट्टा समाएर माफी मागेँ । आमा मैले गल्ती गरेँ, २१ वर्षको यो कलाकारिता यात्रामा पहिलो पल्ट गल्ती गरेको हो ठूलो अनुभव भयो भनेँ । त्यसपछि आमाले मेरो टाउकोमा हात राख्दै भन्नुभयो, "गल्ती भगवानले पनि गर्छन् बाबु । अब चाहिँ नगर्नू ।”

 म दुई दिन जति पोखरामा बसेँ । कामको व्यस्तताले आमासँग बस्न पाएको थिएन । र, बसेँ । म हिजो मात्रै काठमाडौं फर्केँ । धेरै कुराहरू भन्नु छ । धेरै जनाले बुझ्नु भएको छैन । वनएक्स बेट भनेको के हो ? धेरैले तास खेल्ने हो भन्ने बुझ्नु भयो । मलाई अहिले पनि तास खेल्न आउँदैन । 

हामीले तास खेलेको पनि होइन, खेलाइएको पनि होइन । खेल्नलाई उत्प्रेरित गरिएछ । त्यो चाहिँ गल्ती गरेकै हो । त्यसका लागि भगवानरूपी दर्शकसँग माफी माग्न चाहन्छु । कानूनले सानो गल्ती ठूलो गल्ती भन्दैन । र, मैले यो हाम्रो सानो गल्ती हो पनि भन्दैन । किनभने हामीले बजाएको विज्ञापनले देशलाई ठूलो घाटा हुने रहेछ । 

कसरी घाटा हुन्छ भन्ने म सोचिरहन्थेँ । हामीले बजाएको विज्ञापनबाट धेरैले वनएक्स बेट खेल्नुहुने रहेछ । मलाई पनि खेल्न आउँदैन । मलाई थाहा भएसम्म यो बजाउने कसैलाई पनि खेल्न आउँदैन । हामी एउटै के कुरामा अडिग थियौं भने हामी विज्ञापन बजाउने मान्छे हो । हामी सिरियल बनाउँछौं । र, सिरियल चल्नका लागि विज्ञापन चाहिन्छ । र, विज्ञापन बजाउने हाम्रो कामै हो भन्ने सोच थियो । 

हामी त घुम्तीको पसल हौं भन्ने सोच्थेँ । घुम्तीको पसलमा तास बेच्न पाइन्छ । हामीले बेचेको तास कसले कहाँ खेल्छ त्यो हाम्रो मतलबको विषय होइन भन्ने सोच्थेँ । तर, त्यो होइन रहेछ । यो वनएक्स बेट यस्तो चिज रहेछ । जसले देशलाई कङ्गाल बनाउन सक्छ । हाम्रो कारणले देश धेरै ठूलो खाडलमा जाने रहेछ । 

हजुरहरू पनि आफ्नो बच्चा, आफ्ना दाइभाइ, आफ्नो श्रीमतीको मोबाइलमा वनएक्स बेट छ भने प्लिज डिलिट गर्दिनुस् । यो देशका लागि एकदमै ठूलो घातक रहेछ । वनएक्स बेट के रहेछ भने मैले बुझेको थिएन । यो सट्टेबाजी भन्ने शब्द कारागारमा छिरेपछि थाहा पाइयो । यो सट्टाबाजी सट्टाबाजी भनेको छ, जुवा भन्या छ । जुवा भनेको खेल हो भन्ने थाहा थियो । यो जुवा र सट्टेबाजी गैरकानूनी हो भन्ने मलाई राम्रोसँग थाहा थिएन । तर, गैरकानूनी हो भन्ने केही कुरा सुनेकै हो । 

म पानीमाथिको ओभानो बनेर हुँदैन । मलाई यो गैरकानूनी हो भन्ने केही प्रतिशत थाहा थियो । म के कुरामा मात्र अडिग थिएँ भने हामी त तास बेच्ने हो, तास त खेल्न पाउँदैन । तर, बेच्न त पाउँदैन । हरेक पसल पसलमा तास बेच्न पाइन्छ । मैले पनि त एक अर्थले तास बेचेको हो । मैले खेलेको पनि होइन । खेलाएको पनि होइन ।

मैले वनएक्स बेटमा कसैलाई पनि खेलाएको छैन भन्ने सोच्थेँ । तर म गलत रहेछु । त्यसको गहिराइमा पुगेँ म । म कारागारबाट निस्केपछि पोखराको एक जना मेरो प्रहरी साथीलाई भेटेँ र उहाँसँग भेटेँ । उहाँसँग ‍बसेर मैले यो सबै कुराहरू बुझ्न खोजेँ । त्यसपछि यसबारे मैले राम्रोसँग बुझेकै रहेनछु भन्ने थाहा पाएँ । वनएक्स बेट कसरी ठूलो घातक हो भनेर मैले सोधेँ ।

मैले उहाँलाई सोधें भने, “हामीले त विज्ञापन बजाएको हो । हो इलिगल हो थाहा छ । विज्ञापनै बजाएको हो । यो खेलाउने पो समातिनुपर्छ । हामी त विज्ञापन बजाएर सिरियल चलाउने हो । सिरियल वा कुनै पनि टेलिभिजन कार्यक्रम चल्नलाई विज्ञापन चाहिन्छ । हामीले त्यही विज्ञापन बजाएको हो । तास खेल्न पाइँदैन । तर तास बेच्न किन पाइन्छ त ?” 

त्यसपछि उहाँले भन्नुभयो, “तपाईंहरूले जसको विज्ञापन बजाउनु भयो, उनीहरूले देशलाई कर तिर्दैनन् एउटा कुरा । अर्को कुरा यदि कर तिर्थ्यो र देशले यसलाई नियमन गरी सिस्टममा ल्याउँथ्यो होला ।”

त्यसपछि पो म झस्किएँ । ​वनएक्स बेट खेल्ने धेरै साथीहरू रहेछन् । अहिलेको पुस्ताका धेरै भाइबहिनी रहेछन् । विदेशमा कुनै पनि म्याच भयो भने त्यसमा नेपालबाटै बाजी राख्ने खेल रहेछ यो । मैले नेपालमै कोहीसँग खेलेर पाँच सय रुपैयाँ हारेँ भने त्यो रकम जसले जिते पनि देशमै जान्छ । 

तर, यो बाजी कस्तो रहेछ भने हामीले यहाँ थापेको बाजीको पैसा सोझै विदेश जाने रहेछ । र, यो सय, हजार, लाखमा होइन करोडमा खेल्ने रहेछन् त्यो पनि डलरमा । त्यो कुरा हामीलाई थाहा थिएन । 

मैले यो सट्टेबाजीबारे धेरै त बुझेको छैन । तर, मैले बुझे अनुसार हाम्रो देशको नियमले जुवा तास खेल्ने खेलाउने र बजाउनेलाई एउटै कानून लाग्ने रहेछ । हामीलाई दिने सजाय एउटै रहेछ । मैले धेरै साथीलाई के सोधेँ भने, "हाम्रो युट्युब भिडिओमा गुगलले थुप्रै किसिमका विज्ञापन बजाउँछ त्यसलाई कसले नियमन गर्छ ?" 

उहाँहरूले मलाई के भन्नु भयो भने, “युट्युबमा बज्ने विज्ञापन आधिकारिक हुन् । गुगलमा दर्ता हुन्छन् । गुगलमा दर्ता भएपछि तीनलाई गुगलले नियमन गरेको हुन्छ । ती खुलेआम विज्ञापन होइनन् । तर, यो वनएक्स बेट युट्युबमा कहिले बजेको देख्नु भएको छ ? युट्युबमा चाहिं बजेको छैन । तर, कति देशमा मुख्य स्पोन्सर नै वनएक्स बेट हुन्छन् । भारतमा पनि वनएक्स बेटको विज्ञापन ठूलो बोर्डमा राखिएको हुन्छ ।,”

उहाँले भन्नुभयो, “भारतलाई ट्याक्स तिरेको छ । नेपाल सरकारलाई तिरेको छैन । त्यसैले नेपाल सरकारले यसलाई गैरकानूनी मानेको हो । र, गैर कानूनी चिजलाई तपाईंले बजाइदिँदा त्यो देशको कानून विपरीत भयो ।”

वनएक्सबेट मार्फत हरेक दिन देशबाहिर अरबौं रुपैयाँ जान्छ भन्ने कुरा सुनाउनुभयो । म झसङ्ग भएँ । मैले मेरो देशको लागि ठूलो घात गरिरहेको रहेछु । मैले पो एउटा विज्ञापन बजाएको हो त । तर, देश यस्तो आर्थिक अवस्थामा गुज्रिरहेको बेला मैले देशलाई घात हुने काम गरिरहेको रहेछु ।

त्यसका लागि मैले जान अनजानमा गरेँ । म सरी भन्न चाहन्छु । मबाट एकदमै ठूलो भूल भयो । हामीले बजाएका विज्ञापनबाट दैनिक कति रकम बाहिर गइरहेको छ भन्ने सुन्यो भने हामी छाँगाबाट खस्छौं । त्यसैले त हामीलाई ३० दिन कारागारमा थुनिएको रहेछ ।

वनएक्स बेटबाट पैसा कसरी बाहिर जान्छ धेरैले बुझ्नुभएको छैन । वनएक्स बेट एउटा एप्लिकेसन हो । त्यो एप्लिकेसनमा पैसा क्वाइन हुन्छ । त्यो किन्नुपर्ने रहेछ । त्यो क्वाइन डलरमा किन्नुपर्ने रहेछ । कसरी किन्छन् त्यो मलाई अझै पनि थाहा छैन । 

त्यो क्वाइन किनेको पैसा विदेश जाने रहेछ । र, अझै डरलाग्दो कुरा के बुझेँ भने गाउँठाउँका बच्चाबच्चीको मोबाइलमा वनएक्स बेट एप्लिकेसन छ अरे । भनेपछि त्यो एप्लिकेसन कस्तो खालको खतरनाक छ भने, सुरुमा एक लाख हाल्यो भने पाँच लाख दिन्छ अरे । भन्नुको अर्थ सुरुमा जितिन्छ अरे । अनि पाँच लाख जितेपछि अझै खेलौं अझै खेलौं लाग्ने रहेछ ।

अनि पाँच लाख जितेको ठाउँमा १५ लाख हारेको उसलाई थाहै हुँदैन अरे । यसमा आ-आफ्नो दक्ष अनुसार खेल्ने होला । तर, लत लाग्दै गएपछि ठूलो रकम हारिने रहेछ । यसरी ठूलो रकम हारेपछि हाम्रै देशको दाजुभाइ कङ्गाल भए । उनीहरू मात्र होइन उनीहरूको पैसा पनि विदेश गएपछि देश पनि कङ्गाल भयो । कुरा यस्तो रहेछ ।

(कलाकार राजु पौडेल (राजु मास्टर) ले आफ्नो फेसबुक पेजमा भिडिओ अपलोड गरी व्यक्त गरेको कुराबाट साभार)

पछिल्लो अध्यावधिक: साउन २, २०८० १९:४७