close

लयमा फर्कदै विश्वव्यापी स्मार्टफोन बजार

टेकपाना टेकपाना

साउन ३, २०८० १४:३१

लयमा फर्कदै विश्वव्यापी स्मार्टफोन बजार

 

काठमाडौं । लामो समयदेखि ओरालो लागिरहेको विश्वकाे स्मार्टफोन बजार विस्तारै लयमा फर्कन थालेको छ । हुन त बजारमा अहिले पनि त्यति ठूलो परिवर्तन आइसकेको छैन । यद्यपि पहिलेको तुलनामा स्मार्टफोन आपूर्तिमा केही सुधार भएको भने देखिन्छ ।

क्यानलिसले सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा १२ प्रतिशतले घटेको स्मार्टफोनको बिक्री दोस्रो त्रैमासिकमा ११ प्रतिशतमा आएको छ । अर्थात् पहिलो त्रैमासिकमा १२ प्रतिशतले घटेको आपूर्ति दोस्रो त्रैमासिकमा ११ प्रतिशतले घटेको हो । १ प्रतिशतमै देखिएको यो अन्तरले स्मार्टफोनको बजारमा विस्तारै लयमा फर्कने स्थिति देखिएको  रिपोर्टमा उल्लेख छ ।

बितेको छ त्रैमासिकसम्म लगातार घटिरहेको स्मार्टफोनको आपूर्तिमा केही सुधार देखिएको हो । रिपोर्टका अनुसार विश्वबजारमा सबैभन्दा बढी स्मार्टफोन आपूर्ति गर्ने शीर्ष पाँच कम्पनीमा क्रमश: सामसङ, एप्पल, साओमी, ओप्पो र भिभो रहेका छन् । रिपोर्टका अनुसार दोस्रो त्रैमासिकमा विश्वबजारमा सामसङको २१ प्रतिशत बजार हिस्सा छ भने एप्पलको १७ प्रतिशत छ ।

त्यस्तै साओमीको १३ प्रतिशत, ओप्पोको १० प्रतिशत र भिभोको ८ प्रतिशत हिस्सा छ । सस्ता र सुलभ स्मार्टफोनका कारण चिनियाँ ब्रान्ड साओमी, ओप्पो र भिभोले स्मार्टफोनको बजारमा आफ्नो हिस्सा बढाउँदै गइरहेका छन् ।

यी शीर्ष पाँचबाहेक अन्य स्मार्टफोनको बजार हिस्सा ३१ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकमा २८ प्रतिशत थियो । रिपोर्टलाई समीक्षा गर्ने हो भने सामसङ र एप्पल जस्ता ब्रान्डको स्मार्टफोनको भन्दा अन्य ब्रान्डका स्मार्टफोनको आपूर्तिले गर्दा पनि स्मार्टफोनको बजारमा सुधार आएको हो । 

वर्षको पहिलो त्रैमासिकमा २२ प्रतिशत बजार हिस्सा भएको सामसङको दोस्रो त्रैमासिकमा २१ प्रतिशत पुगेको थियो भने एप्पलको २१ प्रतिशतबाट १७ प्रतिशतमा बजार हिस्सा झरेको छ । जबकि साओमीको भने पहिलो त्रैमासिकमा ११ प्रतिशत बजार हिस्सा रहेकोमा दोस्रो त्रैमासिकमा १३ प्रतिशत पुगेको छ । ओप्पो र भिभोको बजार हिस्सा भने क्रमश: १० प्रतिशत र ८ प्रतिशतमा सीमित भएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १४:३१