close

डा. सुब्बाको ईभी अनुभव- ‘यो गाडी नकिन्दा एउटालाई मन पराएर अर्कोसँग विवाह गरे झैं भएको थियो’

साउन ४, २०८० ८:४४

डा. सुब्बाको ईभी अनुभव- ‘यो गाडी नकिन्दा एउटालाई मन पराएर अर्कोसँग विवाह गरे झैं भएको थियो’

एक पटक साथीहरूसँग मेरो विद्युतीय गाडी (ईभी)मा काठमाडौंबाट बर्दिबास गएका थियौं । सकिन्न कि भन्ने थियो । त्यसो भए सिन्धुलीगढीसम्म पुगेर फर्कने अर्को योजना थियो । तर यी दुवै पूरा भएनन् । गाडीको रेञ्जका कारण हाम्रो योजना तुहियो ।

बाटोमा कतै पनि चार्जिङ स्टेसन थिएन । खुर्कोट र मुलकोटमा खोज्यौं । तर पाइएन । सिप्रदी, दिगो लगायतका केही कम्पनीले मुलकोटमा चार्जिङ स्टेसन राखेका रहेछन् । तर ती कुनैबाट पनि मेरो गाडीमा चार्ज गर्न मिल्दैन थियो । त्यही एउटा कारणले खुर्कोटबाट आधा बाटो पुगेर फिर्ता हुनुपर्‍यो । 

मेरो गाडी एमजी (मोरिस ग्यारेज) मोटर्सको जेडएस भर्सनको हो । नेपालमा यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालि हो । सन् २०१८ तिर कम्पनीले नेपाली बजारमा पहिलो पटक एमजीको ईभी भित्र्याउँदा नै मलाई यो ब्रान्ड मन परेको थियो । तर मूल्य निकै महँगो थियो । यसको ‘सिङ्नेचर ब्लु’ रङको गाडी धेरैले किने ।

त्यसपछि मैले पनि त्यही किन्ने योजना बुनेँ । निकै महँगो भएकाले मैले एकैपटकमा किन्न सक्दिनँ थिएँ । प्रहरी कल्याण कोषबाट पैसा लिएर किन्नेवाला थिएँ । तर समयभन्दा अगाडि नै रिटायर्ड भएको कारण मैले त्यो सुविधा पाइनँ । गाडी लिने भनेर मैले शाेरुममा एक लाख रुपैयाँ बुझाइसकेको थिएँ । पैसाको व्यवस्था नहुने भएपछि बुझाइसकेको एक लाख रुपैयाँ पनि फिर्ता ल्याएँ । केही समयपछि कोरोना महामारी आयो । त्यसपछि एमजी गाडी किन्ने योजना नै स्थगित गरेँ ।

तर नियमित जागिर छाडेपछि एउटा गाडी किन्नुपर्छ भन्ने सोचेर हुन्डाईको ‘आई २० एक्टिभ’ किनेँ । त्यो राम्रो कार थियो । तर ‘मन पराएको एउटा केटी, तर विवाह भने अर्कैसँग’ भने जस्तै मनमा सोच आइरह्यो । ‘यो गाडी त भएन’ भन्ने भइरह्यो । प्रहरी सेवामा छँदा १० वर्षजति जिप चढेँ । सामान्यत: जिपको भित्री भाग अलि अग्लो हुन्छ । त्यसो हुँदा मलाई निकै सजिलो महसुस हुन्थ्यो । कारमा भने सहज हुन्न थियो ।

कोभिडपछि ईभीमा सरकारले कर बढायो । कर बढेपछि गाडीहरू नेपालमा धेरै आएनन् । तर केही समयपछि उल्लेख्य गाडीहरू भित्रिएर मूल्य सस्तो भयो । यो बीचमा मैले एमजीको ईभीबारे पनि अध्ययन गरिरहेको थिएँ । युरोपमा पनि राम्रै बिक्री हुँदो रहेछ । युकेको एमजी जेडएसको एउटा फेसबुक ग्रुपमा पनि मेम्बर छु । युरोपको धेरै ठाउँमा यो गाडी बिक्री हुने रहेछ ।

कोभिडपछि ९९ वाटको यो गाडी नेपालमा आयो । त्यसको मूल्य मेरो बजेटभित्र नै पर्थ्यो । एमजीको ईभी किन्न हुन्डाईको कार बेचिदिएँ । त्यसबाट पनि राम्रै रकम आयो । अनि एमजी जेडएस ईभी बुक गरे । यसबाट म २०७१ किलोमिटरसम्म यात्रा पार गरिसकेको छु । मसँग भएको गाडी रातो रङमा छ ।

सुरुमा ‘सिङ्नेचर ब्लु’ कलर भएको किन्ने भनेको थिएँ । तर अलि पूरानो हुन थालेपछि यो रङ उड्दो रहेछ । मेरो रोजाइमा सिल्भर कलर थियो । त्यसमा फोहोर धेरै नदेखिने र सफा गर्न कम पर्थ्यो । तर एमजीको सिल्भर कलर त्यति राम्रो लागेन  । रङ संयोजन मन परेन । बाटोमा रातो रङको यो गाडी देखिन थालेपछि भने मैले त्यही किन्ने योजना बनाएको थिएँ । अनि त्यही भनेर लिएँ ।

अहिले मसँग दुई ओटा ईभी छन् । एउटा एमजी र अर्को महेन्द्र कम्पनीको । यी दुई गाडी तीन वर्षको अवधिमा जोडियो । कम्पनीले २० प्रतिशत डाउनपेमेन्टको अफर ल्याएको बेला महेन्द्रको ईभी किनेको हुँ । अहिले यो मेरी श्रीमतिले चलाउँछिन् । तर विगत केही वर्षयता ईभीको संख्या बढ्दै गएको छ । मेरै कतिपय साथीहरूले किनिसके । हामी अत्यन्तै मिल्ने चार जना साथीसँग नै ईभी छ । 

म बीआईडी अटो थ्री पनि हेर्न गएँ । तर सबै कुरा हेरेपछि पनि एमजी नै राम्रो लाग्यो । हुन त एमजीको ‘नन् फेस्ड भर्सन’को सेकेन्ड ह्यान्ड पनि किन्न एजेन्टले अफर गरेको थियो । तर मैले किनिनँ । किनकी त्यसमा फिचर कम थियो । 

सुरुमा आएका ती ईभी एमजी कम्बसन इन्जिनको प्लेटफर्ममा आधारित थिए । त्यही भएर पनि धेरै सुविधाहरू दिन नसकेको हुन सक्छ । तर पछिका कारहरूमा धेरै फिचरमा सुधार भयाे । हुन यो पनि कम्बसन इन्जिन प्लेटफर्ममा नै आधारित हो । तर मलाई लाग्छ, अब आउने ईभीहरू विशुद्ध ईभी प्लेटफर्ममा आधारित हुनेछन् । जसमा अझ धेरै फिचर हुन्छ । जसले गर्दा चलाउँदा अनुभव भिन्न हुनेछ ।

यो गाडी नामसारी गर्दा त्यस्तो समस्या भएन । एजेन्टले नै सबै काम गरिदियो । तर इम्बोस्ड नम्बर लिँदा भने निकै सास्ती भोग्नु पर्‍याे । इम्बोस्ड नम्बर मलाई कि राज्यलाई चाहिएको भन्ने सोच आयो । खासमा इम्बोस्ड नम्बर त मलाई त चाहिएको होइन । तर पनि यसको महत्त्व बुझेको छु । 

प्रहरीमा हुँदा स्मार्ट सीसीटीभीमा जानुपर्छ भनेर एउटा प्रोजेक्ट चलाएको थिएँ । त्यस परियोजना अन्तर्गत विभिन्न वडा कार्यालय, पालिकाले प्रहरीलाई सीसीटीभी क्यामेरा दिए । अहिलेका हातले लेखिने जुन नम्बर प्लेटलाई सीसीटीभी क्यामेरालाई राम्ररी चिन्न सक्दैन । तर इम्बोस्ड नम्बरलाई सीसीटीभी क्यामेराले राम्ररी चिन्छ ।

त्यस्तै विभिन्न आपराधिक गतिविधि पहिचानमा समेत इम्बोस्ड नम्बरको भूमिका हुन्छ । त्यसकारण इम्बोस्ड नम्बर चाहिन्छ भनेर म आफैं अगाडि सरेको व्यक्ति हुँ । तर मेरै गाडीमा त्यो राख्दा भने नमिठो अनुभव भोगेँ । मैले बैंङ्कलाई निवेदन दिने, पाँच/छ ओटा कागजपत्र तयार पार्ने, यातायात विभागमा जाने लगायतका काम गर्नु पर्यो । जब कि कुनै गाडी नेपालमा छिर्दा नै यातायात विभागसँग सहकार्य गरेर एउटा नम्बर दिए भइहाल्यो ।

यदि पछि ग्राहकले त्यो नम्बर परिवर्तन गर्न चाहे त्यसको व्यवस्था गरे भइहाल्यो । तर अहिलेको प्रक्रिया निकै झन्झटिलो छ । जसरी बालबालिका जन्मन साथै जन्मदर्ताको प्रमाणपत्र दिइन्छ, त्यस्तै कुनै पनि नयाँ गाडी नेपाल भित्रिनासाथ इम्बोस्ड नम्बरको  व्यवस्था गर्न सकिन्छ । आखिर यो त राज्यलाई चाहिने कुरा हो ।

यस गाडीमा इलेक्ट्रोनिक्स सिस्टमहरू भएको हुँदा धेरै सुविधा छ । ७ इन्चको डिस्प्लेमा पावर कति खपत भइरहेको छ, गाडी मुन मोडमा छ लगायतका कुरा हेर्न सकिन्छ । तर यसले अलि ढिलो रेस्पोन्स गर्छ । 

तर सुधार गर्ने कुरा पनि धेरै छन् । म गाडी चलाउने बेला चस्मा लगाउँछु । तर नलगाएको बेला राख्ने ठाउँ छैन । यसमा चस्माको कम्पाटमेन्ट चाहिन्छ । ​फोन थिचेपछि त्यसमा भएको डाइरेक्टरी आउँछ । त्यो भन्दा पहिले कल लग आउनुपर्छ । त्यहाँ जान मैले एक्स्ट्रा बटन थिच्नु पर्छ । यसलाई प्रोग्रामिङ गरेर सुधार गर्न सकिन्छ । 

गाडीको मिररमा अन्य रिफ्लेक्सन पनि देखिन्छ । त्यसले कहिलेकाँही झुक्याउँछ । कम्पनीले त्यो परिवर्तन गर्नुपर्छ । 

गाडीको अगाडिको दुई सिटमा मात्र हिटर छ । त्यो पछाडि पनि भए राम्रो हुन्छ । कम्पनीले पहिले सात किलोवाटको चार्जर दिएको थियो । अहिले दुई किलोवाटको चार्जर दिन्छ । त्यसले फुल चार्ज हुन १५/१६ घण्टा लाग्छ । रातभरी चार्ज गर्नुपर्छ । ७ वा ११ किलोवाटको चार्जर भए चाँडो चार्ज गर्न सकिन्थ्यो । त्यसलाई किन्दा ८५ हजार रुपैयाँ पर्दो रहेछ । 

यो गाडी किन्दा पङ्चर टुल, दुई वाटको चार्जरबाहेक अन्य सामग्रीहरू कम्पनीले दिएन । एक्सेसरिजका लागि कम्पनीले एउटा एजेन्टसँग कुरा गरेको रहेछ । त्यहाँ मैले आफूलाई चाहिने जति मात्र राखेँ । 

यसमा सेन्सर अर्लाम, लेन एसिसटेन्ट, ३६० डिग्री देखिने क्यामेरा छन् । त्यसको आफ्नै फाइदा छ । तर गाडी चलाइरहेको बेला कहिलेकाहीँ झट्का दिन्छ । यसो हुँदा त्यसलाई कम गर्ने वा काम नभएको बेला बन्द गर्ने गर्छु । तर   गाडी बन्द गर्नासाथ त्यो सेटिङ डिफल्टमा जान्छ । यसलाई पनि सुधार भने गर्न सकिन्छ । 

त्यसबेला हामी बर्दिबास जाने भनेर घरबाट निस्कँदा गाडी फुल चार्जमा थियो । फर्कदा भने ३० प्रतिशत जति मात्र बाँकी थियो । भन्न त कम्पनीले ३२० किलोमिटर रेञ्ज दिन्छ भनेको छ । जुन एउटा स्ट्यान्डर्ड अवस्थामा मात्र पाइन्छ । गाडीमा एसी अन छ/छैन, गाडी कुन मोडमा छ, एक्सिलेरेसनमा कति थिचिएको छ लगायतका कुराले गाडीले दिने रेञ्ज भर पर्छ ।

प्राय: कन्सल्टेन्सीको काम गर्न वा पढाउन निस्कन्छु । औसतमा २० देखि ३० किलोमिटर दिनमा यात्रा गर्नुपर्छ । 

मैले यो गाडी किन्दा साढे ५२ लाख पर्‍याे । छुट पाउन कोसिस गरे पनि कम्पनीले कुनै छुट दिएन । अहिले त झन् कर बढेपछि यसको मूल्य ५० हजार बढेको छ । यो गाडी किन्नुअघि म पूर्णकालीन जागिरमा थिएँ । महिनामा ८/१० हजार रुपैयाँ तेल हाल्दा नै जान्थ्यो । तर अहिले १०० किलोमिटर पार गर्दा १५७ रुपैयाँ जति मात्र लाग्छ । 

खासमा ईभीले नेपालको आर्थिक, सामाजिक, वातावरण आदि कुरामा निकै सकारात्मक प्रभाव पार्छ । तर यस पटक पनि सरकारले कर बढायो । उसको यो कदम न्यायसङ्गत छैन । 

बरु पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न सरकारले ध्यान दिनुपर्छ ।

मसँग पहिले एउटा सेकेन्ड ह्यान्ड कार थियो । मैले त्यसलाई ईभी बनाउन खोजेको थिएँ । तर कानूनले दिँदैन रहेछ । ब्लुबुकमा पनि परिवर्तन नहुने र कर पनि उत्तिकै तिर्नुपर्दो रहेछ । अनि त्यसो नगर्ने विचारमा पुगेँ । यदि सरकारले त्यसो गर्न दिए धेरैले आफ्नो पुरानो गाडीलाई ईभी बनाउने थिए ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८० ८:४४