close

२ करोड ३० लाख रुपैयाँ पर्ने गाडी- बीएमडब्लू आईएक्स थ्री (भिडिओ सहित)

साउन ८, २०८० १४:२१

२ करोड ३० लाख रुपैयाँ पर्ने गाडी- बीएमडब्लू आईएक्स थ्री (भिडिओ सहित)

काठमाडौं । नेपालमा हालै सार्वजनिक भएको बीएमडब्लूको विद्युतीय गाडी हाे, 'आईएक्स थ्री' (IX3) । प्रत्यक्ष अनुभव गर्न हामी तीनकुनेमा रहेको यसको शाेरुममा गएका थियौं । त्यहाँ हामीले सम्बन्धित व्यक्तिबाट गाडीबारे थप कुरा थाहा पाउनुका साथै टेस्ट ड्राइभ पनि गर्‍याैँ ।

झट्ट हेर्दा गाडीको ‘लुक्स’ निकै आकर्षक देखिन्छ । यसमा प्रयोग गरिएका कालो, निलो र सेतो रङले गाडीलाई सुन्दर देखाएको छ । कम्पनीले अगाडि र पछाडि आफ्नो ब्रान्डिङ गरेको छ ।

गाडी भित्र पस्दा निकै आराम मिल्छ । यसमा पाँच जना बस्न सकिन्छ । लेदर (छाला) बाट गाडीको इन्टेरियर भाग बनाइएकाे छ, जुन क्लासिकल र प्रिमियम देखिन्छ । यसमा धेरै बटन छन् ।

साउन्डप्रुप सिसाहरू भएका कारण गाडीभित्र बस्दा बाहिरको आवाज सुनिँदैन । यसको कन्सोल पनि प्रयाेगकर्तामैत्री छ । १२.३ इन्चको पूर्ण डिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम  छ । त्यसमा गाडीको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

यसमा बीएमडब्लू इन्टेलिजेन्ट पर्सनल एसिसटेन्ट पनि छ । जसलाई प्रयोग गरेर चालकले आफ्नो आवाजबाट नै गाडीमा भएका विभिन्न मोडहरू चलाउन सक्छन् । गाडीलाई डिजिटल चाँबीबाट पनि 'अन' गर्न  सकिन्छ ।

गाडीमा अडियोका लागि १६ ओटा स्पीकर, पानारोमा सन रुफ, थुप्रै कम्पाटमेन्ट दिइएको छ ।

१९१ ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ८० किलोवाट आवरको ब्याट्री छ । यसले सिङ्गल चार्जमा ४६० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । तर नेपालको बाटोमा ४२०-४३० किलोमिटरसम्म दिनसक्ने  बीएमडब्लू नेपालका म्यानेजर मिनल लाभले बताए ।

उनका अनुसार यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर छ । त्यस्तै १८० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा कुदाउन सकिन्छ ।

यो गाडी आयोनिक फाइभ प्रिमियन सेग्मेन्ट अन्तर्गत पर्छ । यसमा लिथियम आयोनको जेनेरेसन फाइभ ब्याट्री प्याक राखिएको छ । यसको ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ । एसी चार्जरबाट भने १४/१५ घण्टा लाग्छ । 

गाडीमा रन फ्याल्ट टायर छ । यो यस्तो टायर हो, जो पङ्चर हुँदा पनि गाडी कुदाउन मिल्छ । यसमा रिभर्सिङ एसिसटेन्ड मोड छ, यसले जुन बाटोबाट गाडी आएको हो, स्वचालित रुपमा त्यही बाटोबाट गाडी फर्काउँछ । पार्किङ गर्ने बेला यो फिचर उपयोगी हुन्छ ।

पेट्रोलबाट चल्ने एक्स थ्रीको चेसिसमा आईएक्स थ्री बनाएको कारण चलाउँदा त्यस्तै पेट्रोल गाडी जस्तै महसुस हुने म्यानेजर लाभले बताए । यस बाहेक सुरक्षाका लागि गाडीमा विभिन्न  प्रकारका सेन्सरहरू जडान गरिएका छन् ।

बाटोमा यात्राको क्रममा गाडीमा कुनै समस्या आए कम्पनीका प्राविधिकहरू जसरी पनि त्यहाँ पुग्छन् । यसका लागि बीएमडब्लूबाट प्रमाणपत्र प्राप्त प्राविधिकहरूको व्यवस्था कम्पनीले गरेको छ ।

आईएक्स थ्रीलाई नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले भित्र्याएकाे हो । अहिले यसको बजार मूल्य दुई करोड २९ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८० १४:३६