close

आज सामसङको अनप्याक्ड इभेन्ट, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

साउन १०, २०८० ९:२२

आज सामसङको अनप्याक्ड इभेन्ट, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । सामसङले गत वर्ष आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस२३ फ्ल्यागशिप सिरिज घोषणा गरेको थियो । तर, त्यसको अर्थ यस वर्ष कोरियाली कम्पनी सामसङले कुनै प्रमुख प्रडक्ट घोषणा गर्दैन भन्ने चाहिँ होइन ।

सामसङको नयाँ ग्यालेक्सी अनप्याक्ड इभेन्ट आज हुँदैछ, जसमा कम्पनीले फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड फाइभ र फ्लिप फाइभ घोषणा हुने बताइएको छ । त्यसबाहेक पनि कम्पनीले ग्यालेक्सी वाच सिक्स सिरिज र अन्य उत्पादन सार्वजनिक गर्नेछ ।

यदि तपाईं सामसङले सार्वजनिक गर्ने विभिन्न प्रडक्टको प्रत्यक्ष रूपमा हेर्न चाहनुहुन्छ भने अनलाइन लाइभ हेर्न सक्नुहुन्छ ।

कतिबेला सुरु हुन्छ ग्यालेक्सी अनप्याक्ड २०२३ इभेन्ट ?

सामसङले आज बुधबार दक्षिण कोरियाको राजधानी सउलमा ग्यालेक्सी अनप्याक्ड इभेन्ट आयोजना गर्दैछ । कम्पनीले आफ्नै देशमा प्रडक्ट गर्न लागेको यो पहिलो पटक हो ।

आज तय गरिएको कार्यक्रम सउलको स्थानीय समय अनुसार राति ८ बजे सुरु हुनेछ । नेपाली समय अनुसार भने कार्यक्रम दिउँसो ४:४५ देखि सुरु हुनेछ ।

कार्यक्रम ९० मिनेटसम्म लाइभ हुने बताइएको छ । 

कसरी हेर्ने लाइभ ?

दक्षिण कोरियाको राजधानी सउलमा हुनेले कार्यक्रम प्रत्यक्ष हेर्न पाउनेछन् । अन्य ठाउँबाट प्रडक्ट सार्वजनिक भएको कार्यक्रम युट्युब लाइभबाटै हेर्न सकिन्छ ।

तपाईंले यहाँ क्लिक गरेर युट्युबमा गई लाइभ हेर्न सक्नुहुनेछ वा, तल इम्बेड गरिएको भिडिओमा लाइभ हेर्न सक्नुहुन्छ ।


 

सार्वजनिक हुने तयारीमा रहेका डिभाइस

सामसङ ग्यालेक्सी जेड फ्लिप फाइभ 

कम्पनीले विगत पाँच वर्षदेखि लगातार आफ्नो फोल्ड र फ्लिप सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । यसको अर्थ हो, यो वर्ष पनि केही नयाँ स्मार्टफोन पक्कै आउँछ । नयाँ स्मार्टफोनमा सबैभन्दा सुरुमा अपेक्षा गरिएको फोन हो, ग्यालेक्सी जेड फ्लिप फाइभ ।

यो पटक फोनको बाहिरी डिस्प्ले ठूलो हुने अपेक्षा गरिएको छ । अर्थात् बाहिरको डिस्प्ले मोटोरोलाको पछिल्लो भर्सन 'रेजर प्लस' को जस्तै फुल हुनेछ ।

साथै बाहिरी डिस्प्लेबाट नै मेसेज रिप्लाइ गर्न सकिने, सेल्फी खिच्न सकिने, मिनिगेम्स खेल्न सकिने लगायतका फिचर हुनेछन् । जेड फ्लिप फाइभमा क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिनेछ । 

सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ 

अहिलेसम्म बाहिरिएको जानकारी अनुसार जेड फोल्ड फाइभमा बाहिरी डिस्प्ले ६.२ इन्चको र भित्री डिस्प्ले ७.६ इन्चको हुनेछ भने १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यो फोनमा पनि क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिनेछ ।

फोनमा ४,४०० एमएएचको ब्याट्री हुनेछ भने यो फोनको अघिल्लो सिरिजको तुलनामा पातलो हलुङ्गाे हुने बताइएको छ । त्यसैगरी कम्पनीले यसपटक फोनको क्यामेरामा पनि निकै परिवर्तन गरेको बताइएको छ ।

सामसङ ग्यालेक्सी वाच ६ सिरिज 

बुधबार हुने अनप्याक्ड इभेन्टमा कम्पनीले आफ्नो ग्यालेक्सी वाच ६ सिरिज पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । वन यूआई फाइभमा आधारित हुने यो वाचमा स्लिप, फिटनेस र सेफ्टी टुल सुधार गरिएको बताइएको छ ।

त्यस्तै यसमा भर्चुअल सेफ्टी कोच पनि उपलब्ध हुनेछ भने नयाँ एसओएस अर्थात् आकस्मिक अवस्थाका लागि आवश्यक फिचरहरू पनि थप गरिएका छन् ।

यो पटक कम्पनीले वाच ६ का तीन ओटा भेरियन्ट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जसमा स्ट्यान्डर्ड, प्रो र क्लासिक भर्सन हुनेछन् । 

सामसङ ग्यालेक्सी ट्याब एस नाइन सिरिज 

कम्पनीले आफ्नो नयाँ सामसङ ग्यालेक्सी ट्याब एस नाइन सिरिज पनि सार्वजनिक गर्दैछ । यो सिरिजमा तीन ओटा मोडेल हुनेछन्  र तीनै मोडेलमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिने बताइएको छ ।

ट्याब्लेटको रिफ्रेसरेट भने १४४ हर्ज अथवा १६५ हर्जको हुने अनुमान छ । ट्याब एसएटको तुलनामा यसमा उत्कृष्ट टच स्याम्पलिङ रेट हुने बताइएको छ भने डिस्प्लेका अन्य फिचर पनि सुधार गरिएको जानकारी बाहिरिएको छ । 

सामसङ ग्यालेक्सी बड्स थ्री प्रो 

अन्य डिभाइस सार्वजनिक हुँदै गर्दा ग्यालेक्सी बड्स थ्री प्रो पनि सार्वजनिक भइहाल्छ कि भन्ने अनुमान छ । तर यसको विषयमा भने कम्पनीबाट धेरै कुरा नबाहिरिएका कारण यो सार्वजनिक नहुने पनि उत्तिकै अनुमान छ ।

सामसङ हेडसेट 

यो अनप्याक्ड इभेन्टमा सार्वजनिक हुने सम्भावना एकदमै न्यून रहेको अर्को डिभाइस हो, सामसङको हेडसैट । सामसङले क्वालकम र गुगलसँगको सहकार्यमा यो हेडसेट तयार गरिरहेको छ । तर यसको सार्वजनिक हुने विषय भने निश्चित छैन ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० ९:४७