close

१५ सय बढी डेभलपरले एप्पलमाथि हाले मुद्दा, १ खर्ब ३१ अर्ब क्षतिपूर्ति माग

टेकपाना टेकपाना

साउन १०, २०८० १९:४०

१५ सय बढी डेभलपरले एप्पलमाथि हाले मुद्दा, १ खर्ब ३१ अर्ब क्षतिपूर्ति माग

काठमाडौं । बेलायतमा एप्पलविरुद्ध १५ सय बढी एप डेभलपरले मुद्दा हालेका छन् । एपस्टोरमा शुल्क अत्यधिक तथा अनुचित भएको भन्दै एप्पलविरुद्ध द कम्पिटिसन अपिल ट्रिबुनलमा मुद्दा दर्ता भएको हो ।

प्राध्यापक तथा अर्थशास्त्री सेन एनिसले १५ सय ६६ डेभलपरहरूको तर्फबाट ७८५ मिलियन पाउन्ड (एक खर्ब ३१ अर्ब रुपैयाँ बढी) को क्षतिपूर्ति दाबी गर्दै मङ्गलबार मुद्दा दायर गरेका हुन् । उनले मुद्दा विवरणमा एप्पलले इन-एप पर्चेजमा लिने १५ देखि ३० प्रतिशत कमिसन एकाधिकार भएको र त्यसले डेभलपर र प्रयोगकर्ता दुवैलाई आर्थिक भार थपेको उल्लेख गरेका छन् । 

पछिल्ला केही वर्षमा एप्पल सर्भिस बिजनेसको कमाइ बढिरहेको छ । यसअन्तर्गत एपस्टोर पनि पर्छ, जसबाट मात्रै एप्पलले एक त्रैमासिकमा २० अर्ब डलर बढी कमाइ गर्ने बताइन्छ ।

यता एप्पलले भने १५ प्रतिशत कमिसन सामान्य भएको तर्क गर्ने गर्छ । साथै एप स्टोरका कारण नै युरोपका डेभलपरहरूले तयार पारेका उत्पादन विश्वका १७५ देशहरू पुगेको उसकाे भनाइ छ ।

बेलायतमा परेकाे मुद्दाकाे सन्दर्भमा भने एप्पलले कुनै कुनै प्रतिक्रिया जनाएको छैन । तर यस मुद्दाले कम्पनीको एपस्टोर शुल्क र अभ्यासहरूलाई कानूनी चुनौती दिएको विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १९:४०