close

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. जोशीको लाइसेन्स नभएको भन्दै उजुरी दर्ता

टेकपाना टेकपाना

साउन १५, २०८० १३:३४

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. जोशीको लाइसेन्स नभएको भन्दै उजुरी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्राडा. शशीधर राम जोशीको इन्जिनियरिङ लाइसेन्स नभएको भन्दै नेपाल इन्जिनियरिङ परिषद्मा उजुरी परेको छ ।

इन्जिनयरिङ विषयको अध्ययन अध्यापन गराउनुअघि परिषद्बाट अनिवार्य रूपमा इन्जिनयरिङ लाइसेन्स लिनुपर्ने व्यवस्था भएकोमा प्राडा. जोशीले नलिएको भन्दै ई. भैरव धिताल (ने.ई.प.नं २०८२७) ले आइतबार १४ गते नेपाल इन्जिनियरिङ परिषद्मा उजुरी दर्ता गराएका हुन् ।

परिषद्का रजिष्टार शिव मङ्गल गिरीले प्राडा. जोशीमाथि उजुरी परेकाे पुष्टि गरे । साथै उक्त उजुरी छानबिन समितिमा पठाइसकेको पनि उनले जानकारी दिए ।

प्राडा. जोशीसँग टेकपानाले यस बिषयमा बुझ्दा आफूसँग लाइसेन्स नभएको स्वीकार गरे । विदेशमा शिक्षण गर्न लाइसेन्सको जरुरत नभएकाले आफूले पनि त्यतातिर ध्यान नदि‍एको उनले सुनाए ।

उजुरीकर्ता ई. धितालले भने लाइसेन्स नै नभएको व्यक्तिले अध्यापन गराउनु, इन्जिनियरिङ व्यवसाय गर्नु कानून विपरीत भएकाले उजुरी दर्ता गरेको बताएका छन् । 

नेपाल इन्जिनियरिङ्ग परिषद् ऐनले यस क्षेत्रमा काम गर्नका परिषदबाट अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । परिच्छेद ३ (दफा ११) को नाम दर्ता सम्बन्धी व्यवस्थामा नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गर्न नहुने व्यवस्था छ । यद्यपि यसअगाडि इन्जिनियरिङ व्यवसायको लाइसेन्स लिन परीक्षाको व्यवस्था थिएन ।

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ गर्दै गत वर्षदेखि मात्र यस्तो व्यवस्था गरिएको थियो । डीन प्रा.डा जोशी यस ऐन आउनु अगावै इन्जिनियरिङ क्षेत्रमा आबद्ध थिए । तर त्यसबेला इन्जिनियरिङ उत्तीर्ण हुनासाथ लाइसेन्सका लागि आवेदन दिन सकिन्थ्यो । 

यदि कसैले लाइसेन्स नलिई इन्जिनियरिङ व्यवसाय गरे त्यस्ता व्यक्तिलाई परिषद्ले उक्त ऐनको दफा ३० अनुसार कारबाही गर्नसक्ने छ । परिच्छेद ३ (दफा ११) मा नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गरेमा कसूर गरेको मानिने उल्लेख छ । साथै सोही दफाको उपदफा १ मा त्यस्ता कसूर गर्ने व्यक्तिलाई १० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । 

प्राडा. जोशी आईओईमा सूचना प्रविधि पृष्ठभूमिबाट डीनमा नियुक्त हुने पहिलो पदाधिकारी हुन् । उनी याे पदमा तीन वर्षअघि नियुक्त भएका हुन् । ल्याबोरेटरी फर आईसीटी रिसर्च एण्ड डेभलपमेन्टका संस्थापक अध्यक्ष रहेका जोशी करिब चार चार दशकयता अध्यापनरत छन् । 

उनले रिजनल कलेज अफ इन्जिनियरिङ, साउथ गुजरात युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ, युनिभर्सिटी अफ क्यालगरी क्यानडाबाट स्नातकोत्तर र त्रिवि-जापान-नर्वेको स्याण्डबीच कार्यक्रमबाट विद्यावारिधि गरेका छन् । विशेषत: आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स, नेटवर्किङ,  इलेक्ट्रोनिक्स र कम्प्युटर साइन्स विषयहरू उनले अध्यापन गराउने गरेका छन् । 

२०५० को दशकमा प्रा.डा. राजेन्द्रधोज जोशी डीन हुँदा उनी सहायक डीन बनेका थिए । यसबाहेक विभागीय प्रमुख, अनुसन्धान समिति अध्यक्ष, सञ्चार प्रविधि केन्द्रको निर्देशक लगायत थुप्रै पदहरू उनले सम्हालिसकेका छन् ।

साउथ एसियन युनिभर्सिटी लगायत थुप्रै अन्य देशका विश्वविद्यालयहरूमा गेस्ट लेक्चररको रूपमा काम गरिसकेका प्रा.डा.जोशी २०४२ सालदेखि पुल्चोक क्याम्पसमा अध्यापन गराउँदै आएका छन् ।



 

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १३:३५