काठमाडौं । बजेट अभाव हुँदा सरकारी ईकमर्स प्लेटफर्म नेपाल फुड्स सुस्ताउन थालेको छ । कोभिड महामारीमा उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्न डेलिभरी गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी (एफएमटीसी) लिमिटेडले सञ्चालनमा ल्याएको 'नेपाल फुड्स डट जीओभी डट एनपी' अहिले निष्क्रिय जस्तै छ ।
टेकपानासँग कुरा गर्दै एफएमटीसीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बजेट अभाव हुँदा प्रवर्द्धनमा कमी भएको बताइन् । “निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ । तर, सरकारी कार्यालय भएकाले हामी नाफा केन्द्रित होइनौं । त्यसैले यसमा लगानी अभाव हुँदा प्रवर्द्धन कम भएको हो । तर, हामीले हाम्रो तर्फबाट काम गरिरहेका छौं,” उनले भनिन् ।
कम्पनीले सुरुवाती अवस्थाबाटै केही निजी संस्थाहरूसँग पूर्वाधारका लागि सहकार्य गरेको थियो । “हामीसँग भएको पूर्वाधारले मात्र पुग्दैन भनेर सस्ताेडिल जस्ता निजी क्षेत्रका कम्पनीसँग समन्वय गरिएको हो । अभाव हुँदा उपभोक्ताले हामीबाट बढी अपेक्षा राख्नु भएको हुन्छ । त्यतिबेला अलि बढी चहलपहल देखियो । अहिले अवस्था सामान्य छ । सबैको घरदैलोमा सामानहरू उपलब्ध हुन्छ । यतिबेला ईकमर्स साइटकाे प्रयोग अलिकति कम भएको हो । हामीले कम गर्न खोजेका चाहिँ होइनौं ।”
साइटमा उपभोक्ताले गरेका अर्डरहरू अहिले पनि उपलब्ध गराइरहेको सुवेदीले जानकारी दिइन् । आफ्नो तर्फबाट सकेसम्मको प्रवर्द्धन गरेको भए पनि बजेट अभाव भएकाले त्यसलाई सबैमाझ पुर्याउन नसकेको यथार्थ सुवेदीले सुनाइन् ।
“हाम्रो बजेट स्वीकृत नभइसकेकाले प्रवर्द्धनमा कमी भएकै हो,” उनले भनिन्, “बजेट स्वीकृत भइसकेपछि हामी यसलाई प्रभावकारी रूपमा अगाडि बढाउँछौं ।” बजेट अभाव हुँदा पनि साइट तथा त्यसमा राखिएका खाद्यान्न प्रवर्द्धन गर्ने पाटोलाई आफूहरूले विशेष रूपमा हेरेको उनको भनाइ छ ।
१९ ओटा प्रडक्ट राखिएको ई-कमर्स साइट
सरकारले खाद्यान्नसँग सम्बन्धित सबै सामग्रीको ईकमर्स प्लेटफर्मका रूपमा 'नेपाल फुड्स' ल्याएको भए पनि त्यसमा सीमित प्रडक्ट (उत्पादन) मात्र राखिएको छ । १९ ओटा प्रडक्ट राखिएको उक्त प्लेटफर्ममा ईलेक्ट्रोनिक्सको क्याटेगोरी रित्तो छ । त्यसबाहेक पनि सबै सामग्री क्याटेगोरी अनुसार छुट्याइएको छैन ।
अर्डर गर्न न्यूनतम पाँच हजारको सामान खरिद गर्नुपर्ने भनिएको छ । त्यस्तै नेपाल फुड्सको साइटमा रहेको नम्बरमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया आउँदैन ।
साइटमा राखिएका सूचना लगायत अन्य जानकारी हेर्दा लकडाउनपछि साइट अपडेट नभएको जस्तो देखिन्छ । यद्यपि एफएमटीसीकी सूचना अधिकारी सुवेदीले बारम्बार वेबसाइट अपडेट गरिरहेको बताइन् ।