close

अब थ्रेड्स पोस्ट सोझै इन्स्टाग्राम प्रयोगकर्तालाई पठाउन सकिने

टेकपाना टेकपाना

साउन २५, २०८० १०:१८

अब थ्रेड्स पोस्ट सोझै इन्स्टाग्राम प्रयोगकर्तालाई पठाउन सकिने

 

काठमाडौं । सक्रिय प्रयोगकर्ताको सङ्ख्या ‍दिनानुदिन ओरालो लाग्न थालेपछि थ्रेड्सले पोस्ट सोझै इन्स्टाग्राम प्रयोगकर्तालाई पठाउन सकिने फिचर ल्याउने भएको छ । बुधबार एक थ्रेड्स राख्दै मेटाका सीईओ मार्क जुकरबर्गले उक्त फिचर ल्याउने घाेषणा गरेका हुन् । यो साता सार्वजनिक हुने उक्त फिचरमार्फत थ्रेड्सका कुनै पनि पोस्ट सोझै इन्स्टाग्राम प्रयोगकर्तालाई डीएममा पठाउन सकिनेछ ।

सो फिचर सार्वजनिक भएपछि जसरी फेसबुकमा कुनै पनि पनि पोस्ट मेसेन्जर प्रयोगकर्तालाई पठाउन सकिन्छ, त्यसरी नै थ्रेड्स पोस्ट इन्स्टाग्राम प्रयोगकर्तालाई पठाउन सकिनेछ ।

त्यससँगै कम्पनीले फोटो तथा भिडिओका लागि कस्टम अल्ट टेक्स्ट राख्न सकिने फिचर पनि ल्याउने भएको छ । अल्ट टेक्स्ट फिचरमार्फत प्रयोगकर्ताले कुनै विशेष फोटो वा भिडिओ अपलोड गर्नुअघि उक्त फोटो वा भिडिओ केसँग सम्बन्धित छ वा त्यसमा के छ भन्ने कुरा उल्लेख गर्न सक्छन् । 

यससँगै कम्पनीले नयाँ मेन्सन बटन पनि समावेश गरेको छ । यसका माध्यमबाट थ्रेड्स पोस्टमा कुनै पनि थ्रेड्स प्रयोगकर्तालाई सहजै मेन्सन गर्न सकिने छ । 

मेटा अहिले थ्रेड्सको वेब ल्याउने काममा सक्रिय छ । सीईओ जुकरबर्गले अबका केही सातामा वेब एप सार्वजनिक गर्ने बताएका छन् । त्यसपछि ब्राउजरबाटै थ्रेड्समा पोस्ट गर्न, रिप्लाई गर्न लगायत अन्य फिचरहरू प्रयोग गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १०:२०