काठमाडौं । आईफोन १५ लाइनअप अन्तर्गतका फोनको डिजाइन र अन्य फिचरको जानकारी बाहिरिएको छ । बाहिरिएका विभिन्न फिचरमध्ये सबैभन्दा बढी चर्चा आईफोन १५ मा हुने एक्सन बटनको भइरहेको छ ।
एप्पलले सार्वजनिक गरेको आईओएस १७ बेटा फोर भर्सनमा एक्सन बटनका कोडहरू देखिएका छन् । उक्त बटन यसअघिका आईफोनमा समावेश गरिएको म्युट स्वीचको सट्टामा राखिने बताइएको छ । सो स्वीचलाई आवश्यकता अनुसार विभिन्न एक्सेसिबिलिटी फिचर जस्तै; क्यामेरा, फ्ल्याशलाइट, फोकस, म्याग्निफायर, शर्टकट्स, साइलेन्ट मोड, ट्रान्सलेट र भ्वाइस मेमो फङ्सनका लागि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै आईफोन १५ को बेस मोडेल आईफोन १५ र आईफोन १५ प्लसमा आईफोन १४ प्रो र प्रो म्याक्स जस्तै डाइनामिक आइल्यान्ड हुनेछ । ए१६ बायोनिक चिपसेटद्वारा सञ्चालित हुने ती मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने लिकरहरूले उल्लेख गरेका छन् । त्यस्तै सबै आईफोन १५ मोडेलमा यूएसबी-सी पोर्ट हुनेछ ।
आईफोन १५ प्रो र १५ प्रो म्याक्सका सन्दर्भमा यी मोडेल तुलनात्मक रूपमा अन्य मोडेलभन्दा ठूलो हुने दाबी गरिएको छ । लिकरका अनुसार आईफोन १५ प्रोमा ६.१२ इन्च र आईफोन १५ प्रो म्याक्समा ६.६९ इन्ड डिस्प्ले हुन्छ । ३ एनएम ए१७ बायोनिक चिपद्वारा सञ्चालित उक्त मोडेलमा हलुका टाइटनियम च्यासिस हुनेछ ।
यूडब्लूबी (अल्ट्रावाइड ब्यान्ड), वाई-फाई सिक्स ई जस्ता प्रविधि पनि यी मोडेलमा समावेश हुने भएका छन् । यो पटक सार्वजनिक हुने आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलको मूल्य कम हुने अपेक्षा गरिएको छ ।
आईफोन १५ र आईफोन १५ प्लसमा क्रमशः ३८७७ एमएएच र ४९१२ एमएएच क्षमताको ब्याट्री र आईफोन १५ प्रो तथा प्रोम्याक्समा क्रमशः ३६५० एमएएच र ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ ।
म्याक र्युमर्सका अनुसार आईफोन १५ सेप्टेम्बर १२ वा १३ मा सार्वजनिक हुने उच्च सम्भावना छ । नाइन टु फाइभ म्याकले भने उक्त मोडेल सेप्टेम्बर १३ मा सार्वजनिक हुने उच्च सम्भावना भएको उल्लेख गरेको छ ।