close

एभरेष्ट बैंकका ग्राहकले इन्टरनेट नहुँदा पनि भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

साउन २९, २०८० ९:२६

एभरेष्ट बैंकका ग्राहकले इन्टरनेट नहुँदा पनि भुक्तानी गर्न सक्ने

काठमाडौं । एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट इन्टरनेट वा डेटा कनेक्सन नहुँदा पनि भुक्तानी सुविधा पाउने भएका छन् ।

यस सेवालाई ग्राहकहरूले सर्वप्रथम आफ्नो माेबाइल बैंकिङ एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई मर्चेन्ट (व्यापारी)को स्मार्टफोनमा टयाप गरी भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन् भने व्यापारी तथा व्यवसायीहरूले आफूसँग भएको 'फोन पे बिजनेस एप' बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

फोनपेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्ने बताइएकाे छ । यसका लागि फाेनपेले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ । 

'फोनपे ट्याग' (फोनपे ट्याप एन्ड गो) सेवाअन्तर्गत एनएफसी डिभाइस प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । 

एनएफसी डिभाइस नभएका प्रयोगकर्ताको हकमा कम्पनीले 'कस्टमर प्रेजेन्टेड क्यूआर' सेवा ल्याएकाे छ, जुन प्रक्रियामा मर्चेन्टले सेवाग्राही (एन्ड्रोइड र आईओएस दुवै प्रयाेगकर्ता)को क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने छन् ।

पोस मसिन लिन नसक्ने साना तथा मझौला व्यापारीका लागि यो सेवा उपयोगी हुने बताइएको छ । अफलाइन कारोबारको सीमा एक पटकमा पाँच हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २९, २०८० ९:३६