close

अर्को महिना हुँदै एप्पल इभेन्ट, आईफोन १५ बाहेक केके आउलान् नयाँ उत्पादन ?

टेकपाना टेकपाना

भदौ ३, २०८० १२:२८

अर्को महिना हुँदै एप्पल इभेन्ट, आईफोन १५ बाहेक केके आउलान् नयाँ उत्पादन ?

 

काठमाडौं । आउँदो सेप्टेम्बर महिनामा एप्पल इभेन्ट आयोजना हुने भएको छ । सो अवसरमा कम्पनीले नयाँ के के उत्पादन सार्वजनिक गर्ला भन्नेमा धेरैले चासो देखाइरहेका छन् । 

विशेषतः आफ्ना उत्पादन सार्वजनिक गर्न एप्पलले उक्त लञ्च इभेन्ट गर्ने गरेको छ । यस पटकको एप्पल इभेन्टमा सर्वाधिक चासोको रूपमा रहेको आईफोन १५ रहेको छ ।

त्यस्तै एप्पल वाच नाइन, एप्पल वाच अल्ट्रा टू जस्ता उत्पादन पनि छन् । आज हामी एप्पल इभेन्टमा सार्वजनिक हुन सक्ने केही उत्पादन बारे चर्चा गर्दै छौं: 

 

आईफोन १५ र आईफोन १५ प्लस

एप्पल इभेन्टमा आईफोन १५ र आईफोन १५ प्लस सार्वजनिक हुने निश्चित छ । यी मोडलमा एप्पले धेरै अपग्रेड गरेको बताइन्छ । जसमा यूएसबी टाइप सी पोर्ट, डिस्प्लेमा डायनामिक आइल्याण्ड जस्ता कुराहरू छन् ।

त्यस्तै यी मोडलको ब्याट्रीमा पनि परिवर्तन गरिएको बताइन्छ । नयाँ आईफोनमा आईफोन १४ प्रोमा प्रयोग गरिएकै ए १६ बायोनिक चिप प्रयोग गरेको बताइन्छ । जुन निकै शक्तिशाली छ ।

त्यस्तै आईफोनमा ३५ वाटको फास्ट चार्जिङ सपोर्ट पनि दिइनेछ । तर यी मोडमा डिस्प्ले रिफ्रेश रेट भने ६० हर्ज मात्र रहने बताइएको छ । जुन अहिलेको समयमा निकै कम हो । 

 

आईफोन १५ प्रो

थुप्रै परिवर्तन सहित आईफोन १५ प्रो आउने बताइएको छ । यो डिजाइन थप ‍गोलाकार हुने, फोनका किनारामा टाइटेनियम राखिएको उल्लेख छ ।

हालको आईफोन प्रो मोडेलहरूको चेसिसमा स्टेनलेस स्टिल प्रयोग भइरहेको छ । आईफोन १५ प्रोमा हुने टाइटेनियम त्यसको तुलनामा हलुका तर बलियो हुने बताइन्छ ।

आईफोन १५ प्रोको डिस्प्ले बेजल पनि १.५५ एमएमको पातलो हुनेछ । जुन आईफोन १४ प्रोको तुलनामा धेरै पातलो हो । त्यस्तै म्युट स्लाइडरलाई आईफोन १५ प्रोबाट हटाएर कुनै एक्सन बटन राख्ने अनुमान छ ।

यसबाट तुरुन्तै क्यामेरा एप खोल्ने जस्तो निश्चित काम हुने बताइएको छ । क्यामेराको कुरादा गर्दा यसमा पनि ‍पछाडि भागमा ट्रिपल क्यामेरा हुने, तर सेन्सरहरू नयाँ र सुधारिएको हुने उल्लेख गरिएको छ ।

साथै आईफोन १५ प्रो र प्रो म्याक्स दुवैमा एप्पलका तीन न्यायोमिटरको ए १७ बायोनिक प्रोसेसर प्रयोग गरिएका हुन सक्ने अनुमान गरिएको छ ।

आईफोन १५ प्रो म्याक्स

यसमा पनि आईफोन १५ प्रोमा जस्तै धेरै अपग्रेड गरिएको बताइन्छ । तर यसमा ‍पेरिस्कोप टेलिफोटो लेन्स प्रयोग गरिएको छ । यसमा भएको क्यामेराले आईफोन १४ प्रो म्याक्सको क्यामेराको अप्टिकल जुम गर्ने क्षमताभन्दा दोब्बर भएको अनुमान गरिएको छ ।

अर्थात यसमा तीन गुणाबाट छ गुणासम्म अप्टिकल जुम गर्न सकिने छ । तर यसले गर्दा आईफोनको पछाडि हुने तीन ओटा क्यामेराको डिजाइन फरक हुन सक्ने बताइएको छ । 

 

एप्पल वाच

प्राय: एप्पले नयाँ आईफोन लन्च गर्दा नयाँ ‍एप्पल घडी पनि सार्वजनिक गर्ने गरेको छ । त्यही अनुरूप यस पटक पनि एप्पल वाच नाइन सार्वजनिक हुने आशा गरिएको छ ।

यस घडीको विशेषताहरूमा एप्पलले सुधार गरेको हुन सक्ने बताइएको छ । जसमा ५ न्यायोमिटर ए १५ चिप, सुधारिएको ब्याट्री लाइफ हुन सक्ने बताइन्छ । त्यस्तै एप्पल वाच अल्ट्रा फिल्टरका केही सुविधाहरू वाच नाइनमा देख्न सकिने छ । 

 

एप्पल वाच अल्ट्रा टू

२०२४ सम्म एप्पल वाच अल्ट्रा नआउने बताइए पनि ब्लुमबर्गका मार्क गुरम्यानले यही एप्पल इभेन्टमा यो घडी सार्वजनिक हुने बताएका छन् । यदि यो घडी सार्वजनिक भए यसको रङ, माइक्रो एलईडी डिस्प्ले र २.१ इन्चको स्क्रिन साइज हुने अनुमान गरिएको छ ।

त्यस्तै विभिन्न ट्र्याकिङ र हेल्थ मनिटरिङ सिस्टमहरूमा अपडेट देख्न सकिने छ । तर यस घडी बारे त्यति धेरै जानकारी भने बाहिरिएका छैनन् ।

 

आईप्याड मिनी सेभेन

एप्पल इभेन्टमा सार्वजनिक हुन सक्ने अर्को उत्पादन आईप्याड मिनी सेभेन हो । तर यसको पनि त्यस्तो सूचना बाहिरिएको छैन । तर ब्लूमबर्गका मार्क गुरम्यानका अनुसार यो उत्पादन सार्वजनिक हुनेछ । यसमा प्रोसेसर अपग्रेड हुने र त्यसमा एम टू ‍चिप राखिने बताइन्छ ।

यस पटकको एप्पल इभेन्टमा नयाँ म्याकबुक सार्वजनिक भने नहुने बताइन्छ । हुुन त एप्पलले तीन नानोमिटरको एम थ्री चिपमा आधारित नयाँ म्याक बुकमा काम गरिरहेको उल्लेख छ ।

तर अक्टोबर महिनासम्म लञ्च नहुने बताइन्छ । यस इभेन्टमा एप्पलले भिजन प्रो मिक्स्ड रियालिटी हेडसेट बारे केही बताउन सक्छ । तर यसको पूरा डेमो भने अर्को महिनामात्र देख्न सकिने छ ।

यद्यपि भिजन प्रोका लागि कन्टेन्ट बनाउन नयाँ आईफोनहरूमा अगमेन्टेड रियालिटी (एआर) को क्षमता भएको एप्पलले कुरा गरे कुनै अनौठौ हुने छैन । यस बाहेक एयरपडहरू पनि आउँदो एप्पल इभेन्टमा सार्वजनिक नहुने बताइएको छ ।   

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १२:२८