close

पब्जीको दक्षिण एसियाली प्रतियोगिताको उपाधि मङ्गोलियालाई, चुके नेपाली टिम

टेकपाना टेकपाना

भदौ ४, २०८० १४:२२

पब्जीको दक्षिण एसियाली प्रतियोगिताको उपाधि मङ्गोलियालाई, चुके नेपाली टिम

काठमाडौं । पब्जीको दक्षिण एसियाली क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को उपाधि मङ्गोलियन पब्जी टिम फोमिराकल भाइब्सले जितको छ । तीन दिनसम्म चलेको फाइनलमा दोस्रो दिनसम्म शीर्ष स्थानमा रहेको ‘रअ ई-स्पोर्ट्स’ले तेस्रो दिनमा आफ्नो लय गुमाउँदा ‘फोमिराकल भाइब्स’ले उपाधि उचालेको हो ।

तेस्रो दिनमा राम्रो खेल देखाउन नसक्दा ‘रअ’ अङ्क तालिकाको तेस्रो स्थानमा सीमित हुन पुग्याे । त्यस्तै दोस्रो स्थानमा मङ्गोलियाकै ‘म्याबटेक्स ई-स्पोर्ट्स’ रहेको छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका टिमहरुको बीच तीन-तीन पोइन्ट मात्र फरक रहेको छ ।

पहिलो स्थानमा रहेको ‘फोमिराकल भाइब्स’को २२६ पोइन्ट रहेको छ भने दोस्रो स्थानमा रहेको ‘म्याबटेक्स ई-स्पोर्ट्स’को २२३ र तेस्रो स्थानमा रहेको ‘रअ ई-स्पोर्ट्स’को २२० पोइन्ट रहेको छ । यसको मतलब नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ले लगभग जितेको प्रतियोगिता हातबाट फुत्केको छ । अन्य नेपाली टिमहरुको कुरा गर्ने हो भने ‘टीटूके ई-स्पोर्ट्स’ पाँचौ, ‘लियो ई-स्पोर्ट्स’ सातौँ, ‘डीआरएस गेमिङ’ नवौँ स्थानमा रहेका छन् ।

यस्तै ‘स्काइलाइट गेमिङ’, ‘वि वन इलुमिनेट’ र ‘डेडआइज गाइज’ क्रमश अङ्क तालिकामा १०औँ, १३औँ र १५औँ स्थानमा रहेका छन् । ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप’ खेलिसकेका नेपाली टिम ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’बाट दर्शकले  फाइनलमा आशा गरे अनुरुप खेल देख्न पाएनन् ।

दुवै टिमले फाइनलको १८ खेलमा एक गेममा पनि चिकेन डिनर निकाल्न सकेनन् । योसँगै प्रतियोगिताको विजेता टिम ‘फोमिराकल भाइब्स’ले  ९५०० अमेरिकी डलर (करिब १२ लाख रुपैँया) हात पारेको छ ।

त्यस्तै तेस्रो भएको नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ले ५५०० डलर (करिब सात लाख ३० हजार रुपैँया) जितेको छ । त्यस्तै तीन दिनको फाइनलमा सबैभन्दा धेरै किल गरेका ‘रअ ई-स्पोर्ट्स’का स्काइ (आकाश सतङ राई) ‘मस्ट भ्यालुएबल प्लेयर’ बन्दै एक हजार अमेरिकी डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) जित्न सफल भए ।

यसका साथै पाँच नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’, ‘टीटूके ई-स्पोर्ट्स’, ‘लियो ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’ले 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३' मा आफ्नो स्थान सुरक्षित गरेका छन् । जुन प्रतियोगिता अगस्ट २४ देखि ३ सेप्टेम्बर सम्म चल्नेछ । ‘पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३’ मा शीर्ष चारभित्र रहने टिमले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२३ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १४:२२