काठमाडौं । काठमाडौं महानगरपालकिाका प्रमुख बालेन शाहले डेंगी रोगबारे कुनै जिज्ञासा तथा समाधान खोज्न हटलाइन नम्बर ११८० मा निःशुल्क फोन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले डेंगी रोगबारे निःशुल्क परामर्श सेवा चौबिसै घण्टा हटलाइन नम्बरको व्यवस्था गरिएको बताए ।
यदि तपाईं संक्रमित हुनुहुन्छ वा डेंगुबाट संक्रमित भएको आशंका छ भने, तपाईंले ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नुहुन्छ । स्वास्थ्यकर्मीले तपाईंका लक्षणहरू मूल्याङ्कन गरी आवश्यक परामर्श र सल्लाह दिनेछन् ।
त्यस्तै अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न बालेनले अनुराेध गरेका छन् ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको उनले बताएका छन् ।
काठमाडौमा डेंगी रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद छर्कन लागेको पनि उनले जानकारी दिए ।
''यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ,'' उनले लेखेका छन् ।