close

एन्ड्रोइड फोनमा अब क्यूआर स्क्यान गरेजस्तै सजिलै ईसिम ट्रान्सफर गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ ५, २०८० १७:९

एन्ड्रोइड फोनमा अब क्यूआर स्क्यान गरेजस्तै सजिलै ईसिम ट्रान्सफर गर्न मिल्ने

 

काठमाडौं । एन्ड्रोइड फोनहरूमा ईसिम ट्रान्सफर फिचर उपलब्ध हुने भएको छ । गत फेब्रुअरीमा गुगलले यसै वर्षभित्र एन्ड्रोइडमा यो फिचर ल्याउने घोषणा गरेको थियो । यो फिचरबाट प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरेर ‍नयाँ डिभाइसमा आफ्नो मोबाइल प्लान (पोस्टपेड र प्रिपेड प्लान) सार्न सक्नेछन् । 

यसबाट काम छिटो हुनुका साथै सुरक्षित हुने गुगलको भनाइ छ । त्यस्तै पुरानो डिभाइसमा भएको भौतिक सिम कार्ड झिकेर नयाँमा राख्नु नपर्ने भएको छ । प्रयोगकर्ताले वायरलेस माध्यमबाटै मोबाइल प्लान सार्न सक्ने छन् ।

हालै एन्ड्रोइडको यही फिचर कस्तो हुन्छ भनेर एक्स (पहिलेको ट्वीटर)मा एसेम्बल डिबग नामक प्रयोगकर्ताले पोस्ट गरेका छन् । उनले पोस्ट गरेको फोटोमा प्रयोगकर्ताहरूले पुरानो डिभाइस प्रयोग गरेर आफ्नो नयाँ डिभाइसमा देखाइएको क्यूआर कोड स्क्यान गरेर ईसिम सारेको देखिन्छ । क्यूआर कोड स्क्यान गर्ने काम पूरा भएपछि प्रयोगकर्ताले नयाँ फोनमा ईसिम सार्ने प्रकिया पूरा गर्नुपर्छ । यो काम निकै सजिलो र सरल देखिन्छ ।

यो फिचरले प्रयोगकर्तालाई ईसिम प्रोफाइल फरक-फरक डिभाइसमा सार्न निकै सजिलो बनाउने बताइएको छ । हाल यही काम गर्न पुरानो फोनमा ईसिम प्रोफाइल ‘अनरजिष्टर’ गरेर नयाँ डिभाइसमा ‘रिएक्टिभ’ गर्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा यसका लागि सम्बन्धित टेलिकमलाई नै सम्पर्क गर्नुपर्ने अवस्था छ । 

गुगलका अनुसार जर्मन दूरसञ्चार कम्पनी ड्यूश टेलिकमले यो फिचर सबैभन्दा पहिले दिनेछ । अन्य नेटवर्कमा पनि यो फिचर क्रमशः उपलब्ध हने छ । एन्ड्रोइड १४ को अन्तिम भर्सनसम्म यो फिचर सबैले प्रयोग गर्न पाउने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १७:१३