close

एक्सेलमा पाइथन प्रोग्रामिङ ल्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

भदौ ६, २०८० १६:४७

एक्सेलमा पाइथन प्रोग्रामिङ ल्याउँदै माइक्रोसफ्ट

 

काठमाडौं । माइक्रोसफ्टले विश्व विख्यात प्रोग्रामिङ ल्याङ्ग्वेज पाइथनलाई एक्सेलमा ल्याएको छ । एक ब्लग पोस्ट लेख्दै माइक्रोसफ्टले यसबारे जानकारी दिएको हो । हाल कम्पनीले यसको ‘पब्लिक रिभ्यु’ समेत उपलब्ध गराइसकेको छ । 

प्रयोगकर्ताले यो फिचरबाट एक्सेल वर्कबुकमा पाइथन स्क्रिप्ट प्रयोग गर्न सक्नेछन् । जहाँ पाइनथन प्रोग्रामिङ र एक्सेल फर्मुलाहरू एकैपटकमा सँगै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । 

कम्पनीले माइक्रोसफ्ट ३६५ इन्साइडरमा पहिलो पटक यो सुविधा उपलब्ध गराएको छ । त्यहाँ विन्डोज बेटा च्यानलबाट एक्सेल प्रयोग गर्ने व्यक्तिले यसलाई चलाउन पाउने बताइएको छ । त्यस्तै एक्सेलको डेस्कटप भर्सनमा मात्र यो फिचर उपलब्ध हुने भएको छ । 

स्प्रेडशिट भित्र पाइथन, तस्वीर क्रेडिट: माइक्रोसफ्ट

एक्सेलको बिल्ट इन कनेक्टर र पावर क्वेरीहरूमा नै पाइथन इन्टिग्रेसन हुने भएकाले यो सुविधा प्रयोग गर्न सफ्टवेयर इन्स्टल गर्नु नपर्ने र कुनै सेटअप गर्नु नपर्ने माइक्रोसफ्टले जनाएको छ । साथै पाइथन क्यालकुलेसनहरू माइक्रोसफ्ट क्लाउडमा हुने भएको छ ।

त्यस्तै पाइथन डेटालाई एक्सेल स्प्रेडसिटमा ल्याउन माइक्रोसफ्टले नयाँ पाइथन फङ्सन पनि एक्सेलमा थप्ने भएको छ । त्योसँगै पान्डा, स्टेटस मोडेल, र म्याटप्लोटलिब (pandas, statsmodels, and Matplotlib) जस्ता लोकप्रिय पाइथन लाइब्रेरीहरू एक्सेलमा उपलब्ध हुने जनाइएको छ । 

यो काम गर्न माइक्रोसफ्टले डेटा साइन्स सम्बन्धी काम गर्ने कम्पनी एनाकोन्डासँग साझेदारी गरेको छ । एक्सेलमा पाइथन इन्टिग्रेसन गर्ने माइक्रोसफ्टको कदमलाई महत्त्वपूर्ण भएको बताइएको छ । यसबाट डेटामा काम गर्ने व्यक्तिहरूलाई सहयोगी हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १६:४७