close

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक खुलायो आईटी कोर्षमा भर्ना, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ ६, २०८० १८:१५

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक खुलायो आईटी कोर्षमा भर्ना, यसरी दिनुहोस् आवेदन

काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा पहिलो पटक भर्ना खुलाएको छ । विश्वविद्यालयको इन्जिनियरिङ तथा इन्फर्मेसन टेक्नोलोजी सङ्कायले एक सूचना जारी गर्दै भर्ना खुला गरेको जानकारी दिएको हो ।

विश्वविद्यालयले ‘बी टेक इन सीएस एन्ड एआई’ र ‘बी टेक इन आईटी’मा भर्ना खुला गरेको छ । बी टेक इन सीएस एन्ड एआई विषयमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ ।

त्यस्तै बी टेक इन आईटीमा भर्ना हुन भने कक्षा ११/१२ मा जुनै विषय लिए पनि न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ । इच्छुक विद्यार्थीले भदौ ६ देखि असोज ५ गतेसम्म नियमित र विलम्ब शुल्कमा असोज १२ सम्म फाराम भर्न सक्नेछन् ।

भर्ना आवेदन दिन भने यहाँ क्लिक गर्न सक्नेछन् । यी दुवै विषयको प्रवेश परीक्षा भने असोज १७ गते हुने विश्वविद्यालयले जनाएको छ । साथै असोज मसान्तसम्म ओरियन्टेसन कक्षा सञ्चालन गर्ने विश्वविद्यालयको भनाइ छ ।

कोर्षबारे

बी टेक इन सीएस एन्ड एआई

पूरा रुप ब्याचर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स रहेको यो कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्षमा कम्प्युर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको छ ।

प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न कोर्षमा सैद्धान्तिक सँगै प्रयोगात्मक विषय राखिएको छ । 

यो कोर्ष नियमित शुल्कमा पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा पढ्न पाँच लाख १८ हजार रुपैयाँ लाग्छ ।

कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।  

बी टेक इन आईटी

ब्याचलर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी कोर्ष चार वर्षे (आठ सेमेस्टर)हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरूको ज्ञान दिइने छ ।

प्रयोगात्मक कक्षा र सैद्धान्तिक ज्ञानलाई मिसाएर आईटी क्षेत्रका लागि विभिन्न जनशक्ति तयार पार्नु कोर्षको उद्देश्य रहेको छ । 

यो कोर्ष नियमित शुल्कमा पढ्न एक लाख १५ हजार र पूर्ण शुल्कमा पढ्न चार लाख ६० हजार रुपैयाँ लाग्छ ।

 कोर्षबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

यी दुवै कोर्षको कोटा ४८ रहेको छ । जसमा विश्वविद्यालयले ४ जनालाई पूर्ण छात्रवृत्ति र १२ जनालाई नियमित शुल्कमा अध्यापन गराउने भएको छ । साथै नेपाल इन्जिनियरिङ परिषदबाट कोर्षको अनुमति पाउन साथै आईटी इन्जिनियरिङको पनि भर्ना खुला गर्ने विश्वविद्यालयको भनाइ छ ।

 

हेर्नुहोस् भर्ना सूचना



 

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १४:४७