close

गलत तथा भ्रामक सूचना विरुद्ध लड्न चाहनुहुन्छ ? लिनुहोस् यो अनलाइन कोर्ष

टेकपाना टेकपाना

भदौ ९, २०८० २१:१७

गलत तथा भ्रामक सूचना विरुद्ध लड्न चाहनुहुन्छ ? लिनुहोस् यो अनलाइन कोर्ष

 

काठमाडौं । गलत तथा भ्रामक सूचनाबारे अध्ययन गर्न चाहनेका लागि नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा युथ इनोभेसन ल्याबले अनलाइन कोर्ष तयार पारेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै युथ इनोभेसन ल्याबका प्रबन्ध निर्देशक प्रदीप खतिवडा र दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट ई. विल्करसनले संयुक्त रूपमा कोर्ष सार्वजनिक गरे ।

शिक्षा डटअर्ग प्लेटफर्म मार्फत सार्वजनिक गरिएको ‘गलत र भ्रामक सूचना सम्बन्धी बुझाइ र यस विरुद्धको लडाईं’ कोर्षमा पाँच ओटा मोड्युल रहेका छन् । यो अखिलेश उपाध्यायको नेतृत्वमा विकास गरिएको पाठ्यक्रममा हो, जसमा राजन पोखरेलले विकास गरेको पहिलो मोड्युलमा परम्परागतदेखि नयाँ मिडियासम्म नेपालको विकसित मिडिया परिदृश्यको अन्वेषण गरिएको छ ।

त्यससँगै यसमा गलत र भ्रामक सूचना विरुद्ध लड्ने उत्कृष्ट अभ्यासहरूको बारेमा छलफल गरिएको छ । दीपक अधिकारीले तयार पारेको दोस्रो मोड्युल व्यक्तिहरूलाई प्रभावकारी तरिकाले तथ्य-जाँच गर्ने प्रविधिहरू प्रदान गर्न र गलत र भ्रामक सूचनाहरू विरुद्ध लड्न मिडिया साक्षरता प्रवर्द्धन गर्नमा केन्द्रित छ ।

त्यसैगरी अवास्ना पाण्डेले तेस्रो मोड्युलको नेतृत्व गरेकी छिन् । यो मोड्युल नेपालमा सीमान्तकृत समुदायहरूलाई लक्षित गरी फैलाइने गलत र भ्रामक सूचनाहरू विरुद्ध लड्न र यी समूहहरूमा यसको प्रभाव कस्तो हुन्छ भन्ने कुराको मूल्याङ्कनमा केन्द्रित छ । र, अन्त्यमा लक्ष्मी महर्जनले विकास गरेको चौंथो मोड्युल गलत  र भ्रामक सूचना विरुद्ध लड्न विश्वव्यापी रूपमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यास, कानुनी र नियामक रणनीतिहरूमा केन्द्रित छ । 

हरेक मोड्युल सकिएपछि त्यससम्बन्धी टेस्टमा सहभागी हुनुपर्छ । ८० प्रतिशतभन्दा बढी ल्याएको खण्डमा मात्र नयाँ मोड्युलमा सहभागी हुन सकिन्छ । यसरी जसले चार ओटै मोड्युल सक्छ, उसले अन्तिममा युथ इनोभेसन ल्याबको तर्फबाट डिजिटल सर्टिफिकेट पाउँछ । 

कसरी लिने निःशुल्क अनलाइन कोर्ष ?

यो कोर्ष लिनका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर शिक्षा डटअर्गको साइटमा जानुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि रहेको भाषाको अप्सनबाट आफूलाई उपयुक्त लाग्ने भाषा छान्नुहोस् । 

- अनि नेपाली भाषा छानेको भए ‘सामेल हुनुहोस्’ र अङ्ग्रेजी छानेको भए ‘जोइन नाउ’ बटनमा थिच्नुहोस् ।

- यति भएपछि आफ्नो विवरण राख्नुहोस् र अन्तिममा रहेको सुरु गर्नुहोस् वा ‘गेट स्टार्टेड’को बटनमा थिच्नुहोस् ।

- यति विवरण भरिसकेपछि तपाईंले राखेको ईमेलमा भेरिफिकेसन लिङ्क जान्छ । जिमेल खोलेर शिक्षाबाट आएको मेल हेर्नुहोस् । र, त्यहाँ आएको भेरिफाइ योर अकाउन्ट वा तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् । 

- यति भइसकेपछि होमपेजमा रहेको ‘इनरोल क्लास’ को बटनमा थिच्नुहोस् । अनि ‘कन्टिन्यु लर्निङको बटनमा क्लिक गर्नुहोस् । 

- त्यसपछि विभिन्न मोड्युलहरूको सूचि देखिन्छ । यहाँ सबैभन्दा पहिले मोड्युल १ बाट अध्ययन गर्न सुरु गर्नुहोस् । 

- हरेक मोड्युल सकिएपछि टेस्ट दिनुहोस् । अनि मात्र नयाँ मोड्युल अनलक हुन्छ । 

पछिल्लो अध्यावधिक: भदौ ९, २०८० २१:३९