काठमाडौं । नेपाली चलचित्र महापुरुष ओटीटी (ओभर द टप) एप सिनेमाघरमा रिलिज भएको छ । शुक्रवार एक कार्यक्रम आयोजना गर्दै निर्माता टोलीले फिल्म रिलिज गरेको हो ।
टेकपानासँग कुराकानी गर्दै सिनेमाघर कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले फिल्म रिलिज भएको जानकारी दिए । “शुक्रवारदेखि फिल्म रिलिज भएको छ,” लामिछानेले भने, “विश्वको जुनसुकै कुनाबाट शुल्क तिरेर वा सिने क्वाइन जम्मा गरेर फिल्म हेर्न सकिन्छ ।”
विज्ञापन हेरेर, एप रिफर गरेर, एप रिभ्यु गरेर, क्विज खेलेर सिने क्वाइन जम्मा पार्न सकिन्छ । महापुरुष सिनेमा हेर्न २०० रुपैयाँ वा २०० सिने क्वाइन तिर्नुपर्ने हुन्छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।
टिकेट खरिद गरेको एक हप्तासम्म उक्त फिल्म हेर्न सकिनेछ । त्यस्तै एउटा अकाउन्टबाट खरिद गरिएको फिल्म बढीमा दुई ओटा डिभाइसमा मात्र हेर्न सकिने बनाइएको छ ।
लामिछानेका अनुसार यो प्लेटफर्ममा भुक्तानीका लागि ईसेवा, खल्ती, पेटीएम, फ्रिचार्ज, भिसा, मास्टर कार्ड, पेपाल, सेल पे, आईएमई पे लगायतका विकल्प उपलब्ध छन् । सन् २०१६ मा सुरु भएको सिनेमाघर एपमा २०२० देखि सब्स्क्रिप्सनको आधारमा फिल्म हेर्न सकिने फिचर ल्याइएको थियो ।
पछि सब्स्क्रिप्सन अनुसार कन्टेन्ट उपलब्ध गराउन नसकेपछि ‘पे पर कन्टेन्ट’ फिचर ल्याइएको लामिछानेले बताए । अबको केही समयपछि सिनेमाघर एप पुनः सब्स्क्रिप्सन मोडेलमा जाने उनको भनाई छ । महापुरुष बाहेक सो प्लेटफर्ममा कबड्डी ४, प्रेमगन्ज, दोख, मिसिङ ब्राइड, जय भोले, पानी फोटो, रोमियो एन्ड मुना लगायतका चलचित्र आइसकेका छन् ।
सिनेमाघर एप डाउनलोड गर्न एन्ड्ररोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । यो प्लेटफर्म वेबसाइटबाट समेत प्रयोग गर्न सकिन्छ ।