close

आफ्नो एपमा कुरियर सेवा थप्दै पठाओ, ईकमर्स कम्पनीहरूको डेलिभरी पनि गर्ने

टेकपाना टेकपाना

भदौ १३, २०८० १३:४५

आफ्नो एपमा कुरियर सेवा थप्दै पठाओ, ईकमर्स कम्पनीहरूको डेलिभरी पनि गर्ने

 

काठमाडौं । नेपालकै प्रमुख राइड शेयरिङ तथा हेलिङ एप पठाओले अब कुरियर सेवा समेत दिने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक अशिममानसिंह बस्न्यातले टेकपानासँगको विशेष कुराकानीमा उक्त योजना सुनाएका हुन् । 

उनका अनुसार चाँडै नै पठाओले आफ्नो प्लेटफर्ममा कुरियर सेवा थप गर्दैछ ।  “हामी नेपाली जनजीवनलाई सहज बनाउने प्रयासमा लागिपरेका छौं,” उनले भने, “पठाओको कुरियर सेवा सुरु भएपछि नेपालमा ईकमर्स कम्पनीहरूको सामान डेलिभरी सहज हुनेछ र उपभोक्ताले सस्तोमै सामान खरिद गर्न सक्नेछन् ।”

पठाओको कुरियर सेवा सबैजसो ईकमर्स कम्पनीहरूले प्रयोग गर्न सक्ने बस्न्यातको भनाई छ । यद्यपि यो सेवा कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा भने कम्पनीले विस्तृत विवरण खुलाएको छैन । 

सन् २०१५ मा अमेरिकाबाट सुरु भएको पठाओको सेवा नेपालमा भने २५ सेप्टेम्बर २०१८ बाट सुरु भएको थियो । आउँदो ८ असोजमा पाँचौं वार्षिकोत्सव मनाउने तयारीमा रहेको कम्पनीले हाल कार तथा ट्याक्सी र मोटरसाइकलको राइड शेयरिङ एवम् हेलिङसँगै, खाना डेलिभरी, पार्सल र बजार सेवा दिंदै आएको छ ।

उपत्यका बाहिर चितवनमा भने कम्पनीले तीन पाङ्ग्रे अटो रिक्साको सेवा समेत आफ्नो एपमा जोडेको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ १३, २०८० १३:५९