close

नेपालमा टिकटक ब्यान्ड गर्नुपर्ने भन्दै युवराज सफलले दिए सरकारलाई निवेदन

टेकपाना टेकपाना

भदौ १३, २०८० १५:२२

नेपालमा टिकटक ब्यान्ड गर्नुपर्ने भन्दै युवराज सफलले दिए सरकारलाई निवेदन

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउन माग राख्दै नेपाल समाजवादी मोर्चाका संयोजक एवं अधिवक्ता युवराज पाैडेल ‘सफल’ले सरकारलाई निवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई मंगलबार पत्र लेख्दै उनले ​टिकटकमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

"हालसम्म टिकटकले नेपालमा अनुमति समेत लिएको छैन ," युवराजले निवेदनमा लेखेका छन्, "टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गाली गलौज, मानहानी, अश्लीलता, अपराध आदि वृद्धि भएको छ । अत: तत्कालको लागि टिकटक बन्द गर्न माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।"

उनले निवेदनमा अगाडि लेखेका छन्, "साथै टिकटक चलाउने परेको खण्डमा पहिला नेपालमा सञ्चालन अनुमति लिन लगाउने साथै टिकटक सञ्चालन मापदण्ड आचारसंहिता लागू गराउने र फेक आइडीहरूलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानुनी दायरामा ल्याउन समेत माग गर्दछु ।"

टिकटकमा गेमको नाममा लाखौं करोडौंको समेत कारोबार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरुले आजसम्म नेपालमा कुनै राजस्व समेत नतिरेको उनको गुनासो छ ।

त्यस्तै गेमको समेत नियमन गरी विजेताले प्राप्त रकमको निश्चित प्रतिशत कर राज्यको ढुकुटीमा ल्याई सो टिकटक गेमलाई समेत करको दायरामा ल्याउन उनले अनुरोध गरेका छन् ।

टिकटको माध्यमवाट गाली गलौज गर्ने, वेश्यावृत्ति गर्ने, सामाजिक, धार्मिक सद्भाव बिथोली, धार्मिक, जातीय एवं साम्प्रदायिक हिंसासमेत भड्काउने कार्य भएकोले यसलाई व्यवस्थापन नगर्दासम्म टिकटक बन्द गर्न माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु," उनले थपेका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० ६:३९