काठमाडौं । गुगलले आफ्नो परिवारका सदस्यबीच ‘लग इन’ विवरण शेयर गर्न मिल्ने फिचर ल्याउने भएको छ । पासवर्ड शेयरिङ फिचर ल्याएर गुगलले क्राेम ब्राउजरमा यस्तो सेवा दिन लागेको हो ।
हाल गुगलको पासवर्ड मेनेजरमा सेभ गरिएका विवरण अन्य व्यक्तिलाई शेयर गर्न मिल्दैन । ब्राउजर विज्ञ लियोपेभा ६४ (Leopeva64) का अनुसार अब चाँडै नै गुगल फ्यामिली ग्रुपमा भएका अन्य सदस्यलाई पासवर्ड शेयर गर्न सकिन्छ । यसका लागि कम्पनीले याे फिचर परीक्षण गरिरहेकाे उनले बताएका छन् ।
यसअन्तर्गत क्रोम प्रयोगकर्ताले पासवर्ड शेयर गर्न चाहे छ जना सदस्य रहने 'फ्यामिली' ग्रुप बनाएर आफ्नो पासवर्ड शेयर गर्न सक्नेछन् । यो फिचर सार्वजनिक भएपछि पासवर्ड म्यानेजरमा यो काम गर्न शेयरको नयाँ बटन देखिने र त्यहाँ क्लिक गरेपछि गुगल फ्यामिली ग्रुपमा जोडिएका सदस्यहरूको विवरणसहित नयाँ डायलग बक्स देखिने बताइएको छ ।
यसरी देखिने सदस्यहरूमध्ये जोकोहीलाई पासवर्ड विवरण शेयर गर्न सकिने छ । यदि प्रयोगकर्ताले फ्यामिली ग्रुप बनाएका छैनन् भने डायलग बक्सबाटै उक्त ग्रुप बनाउन सक्नेछन् ।