काठमाडौं । गुगलले आफ्ना वर्कस्पेस प्रयोगकर्तालाई लक्षित गर्दै ड्युएट एआई नामक एआई टुल सार्वजनिक गरेको छ । कम्पनीले 'गुगल क्लाउड नेक्स्ट २३’ नामक कार्यक्रममा उक्त एआई टुल सार्वजनिक गरेको हो । योसँगै स्लाइड, मीट, च्याट लगायतका अन्य वर्कस्पेस एप्लिकेसनमा ड्युएट एआई उपलब्ध भएको छ ।
यस एआईले दैनिक काममा सहयोग गर्ने, ईमेल पढ्ने, स्लाइड तयार पार्ने जस्ता काम गर्ने बताइएको छ । जिमेलमा पहिले भएको स्मार्ट रिप्लाई फिचरलाई यस एआई थप सुधार गरेर लामो र पर्सनलाइज्ड ईमेल लेखेर उत्तर फर्काउन सक्ने गुगलले जनाएको छ । यद्यपि यो मासिक ३० डलर (करिब चार हजार रुपैयाँ) तिरेर प्रयोग गर्नुपर्ने सशुल्क फिचर हो ।
यस फिचर प्रयोग गर्ने प्रयोगकर्ताले जिमेलको मोबाइल एप वा वेबमा 'हेल्प मी राइट' बटन देख्न सक्छन् । त्यसैमा क्लिक गरेर यो एआई प्रयोग गर्न सकिने गुगलको भनाइ छ । ड्युएट एआईले पहिलेका ईमेल विश्लेषण गरी ड्राफ्ट तयार पार्ने जनाइएको छ । त्यस्तै प्रयोगकर्ता स्वयंले एआईको लेखनको शैली परिमार्जन गर्न र लामो वा छोटो कस्तो मेल लेख्ने भनेर छनोट गर्न सक्ने बताइएको छ ।
त्यस्तै गुगलले 'आईएम फिलिङ लक्की' नामक फिचर पनि ईमेलमा जोडेको छ। यसलाई प्रयोग गरेर प्रयोगकर्ताले विभिन्न शैलि र भावको ईमेल ड्राफ्ट बनाउन सक्नेछन् । गुगलले 'हेल्प मी राइट' फिचरलाई डक्समा पनि उपलब्ध गराएको छ । यसलाई प्रयोग गरेर लेखेको कुराको सार झिक्न, बुँदाहरू झिक्न, परिच्छेद लामो वा छोटो बनाउन जस्ता काम गर्न सक्नेछन् ।