काठमाडौं । माइक्रोसफ्टले विन्डोजबाट वर्डप्याड हटाउने भएको छ । एक ब्लग पोस्ट लेख्दै माइक्रोसफ्टले वर्डप्याडको डेभलपमेन्ट रोक्ने बताएको हो । योसँगै अब वर्डप्याडले कुनै पनि फिचर वा अपडेट नपाउने भएको छ ।
आगामी विन्डोज अपडेटले अपेरेटिङ सिस्टमबाट वर्डप्याड हटाउने कम्पनीले जनाएको छ । टेक्स्ट एडिटरको रूपमा २८ वर्षअघि माइक्रोसफ्टले वर्डप्याड सार्वजनिक गरेको थियो । कम्पनीले विन्डोज ९५ मा यसलाई सबैभन्दा पहिले उपलब्ध गराएको थियो ।
त्यसपछि हालसम्म प्रत्येक विन्डोजको नयाँ भर्सनमा वर्डप्याड रहँदै आइरहेको थियो । यसमा आरटीएफ, डीओसी, डीओटी लगायत विभिन्न फर्म्याटमा रहेका कागजपत्र एडिट गर्न सकिन्छ ।
अब यसको सट्टामा प्रयोगकर्ताले नोट प्याड वा माइक्रोसफ्ट वर्ड प्रयोग गर्नु पर्नेछ ।
कम्पनीले विन्डोजबाट वर्डप्याडसँगै अन्य धेरै कुरा बन्द गर्न थालेको छ । पछिल्लो समयमा भ्वाइस असिस्टेन्ट कोर्टना, माइक्रोसफ्ट सपोर्ट डायगनोस्टिक टुल (एमएसडीटी), ट्रान्सपोर्ट लेयर सेक्युरिटी प्रोटोकल (टीएलएस) लगायतका सेवा बन्द भएका छन् ।