काठमाडौं । सामसङले अर्को साता ‘डब्लू’ सिरिज अन्तर्गतका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही सेप्टेम्बर १५ मा चीनमा रहेको आफ्नो कार्यालयबाट नयाँ मोडलका फोन सार्वजनिक गर्ने जनाएको हो ।
ग्याजेट्स ३६० का अनुसार सामसङले यसपटक सामसङ डब्लू २४ र सामसङ डब्लू २४ फ्लिप सार्वजनिक गर्दैछ । यसअघि कम्पनीले डब्लू सिरिजअन्तर्गत सामसङ डब्लू २३ र सामसङ डब्लू २३ फ्लिप सार्वजनिक गरेको थियो।
सार्वजनिक सूचनाअनुसार सामसङ डब्लू २४ र सामसङ डब्लू २४ फ्लिपलाई क्रमशः सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ र ग्यालेक्सी जेड फ्लिप फाइभको रिब्रान्डेड संस्करणको रूपमा ल्याइनेछ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड फाइभ र ग्यालेक्सी जेड फ्लिप फाइभलाई गत जुलाईमा ‘ग्यालेक्सी अनप्याक्ड’ समारोहमार्फत सार्वजनिक गरेको थियो ।
ग्यालेक्सी जेड फोल्ड फाइभमा ६.२ इन्चको बाह्य स्क्रिन र ७.६ इन्चको आन्तरिक स्क्रिन रहेको छ। यी फोन स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्ममा आधारित छन् ।
ग्यालेक्सी जेड फोल्ड फाइभमा ४,४०० एमएएचको ब्याट्री क्षमता रहेको छ भने यसलाई २५ वाटको फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ । त्यस्तै ग्यालेक्सी जेड फ्लिपमा ३,७०० एमएएचको ब्याट्री दिइएको छ । यसले पनि २५ वाटको चार्जर सपोर्ट गर्छ ।
ग्यालेक्सी जेड फोल्ड फाइभमा १२ जीबीको र्याम दिइएको छ । ग्यालेक्सी जेड फ्लिप फाइभमा भने आठ जीबीको र्याम दिइएको छ । दुवै फोनमा पानी प्रतिरोधक आईपीएक्स८ वाटरप्रुफ रेटिङ दिइएको छ।
सामसङले सार्वजनिक गर्ने भनेका नयाँ मोडलका फोनको बाँकी फिचर भने सार्वजनिक हुन बाँकी नै छ ।