close

कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो २८ रोपनी जग्गा बेच्दै महावीर पुन

टेकपाना टेकपाना

भदौ १८, २०८० ८:४०

कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो २८ रोपनी जग्गा बेच्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा बेच्न लागेको बताएका छन् । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले आफ्ना तीन ओटा योजना सार्वजनिक गरेका छन् ।

"निकट भविष्यका तीन ओटा योजनाका लागि दुरविनले भविष्यतिर ग्राहक खोज्दैछु," दुरविनले दृश्य हेरेको फोटो राख्दै पुनले लेखेका छन्, "पदकको, जीवन कथाको र जग्गाको ग्राहक लौ त ग्राहकहरू यता हेर्नुहोस् ।"

पोस्टमा उनले आफ्ना तीन ओटा योजना उल्लेख गरेका छन् । जसमध्ये पहिलो योजना आफूले पाएको अन्तर्राष्ट्रिय पदकहरू बेच्ने र त्यसबाट आएको पैसाले वीरगञ्ज कृषि औजार कारखानामा दशैंअगाडि नै ट्रान्सफर्मर राख्ने । उनका अनुसार यो योजनाका लागि नेपालका थुप्रै दाताहरूले आफू सक्दो दान राष्ट्रिय आविष्कार केन्द्रको बैंक खाता मार्फत गरिरहेका छन् । त्यो दान पनि ट्रान्सफर्मर किन्न थपथाप हुने उनको विश्वास छ ।

त्यसैगरी दोस्रो योजनामा उनले आफ्नो जीवन कथाको किताब बिक्री गरेर आएको रकम कहाँ खर्च हुन्छ भन्ने उल्लेख गरेका छन् । "मेरो जीवन कथाको पुस्तक प्रेसमा जाँदैछ," उनले लेखेका छन्, "त्यो बेचेर आएको सबै पैसा राष्ट्रिय आविष्कार केन्द्रको खातामा जाने छ । तिहारपछि जे जति सकिन्छ, त्यति नै औजारहरूको उत्पादनको काम सुरु हुनेछ ।"

यसैगरी तेस्रो योजनामा उनले आफ्नो नाममा रहेको कालिका पोखराको २८ रोपनी जग्गा सकभर एक वर्ष भित्रमा इच्छुक ग्राहकलाई बेच्ने उल्लेख गरेका छन् । उनका अनुसार जग्गा बिक्री गरेर आएको रकम पनि कृषि औजार कारखाना र अन्य आवश्यक काममा खर्च हुनेछ । यसमा पुनले कसैलाई पनि यस विषयमा दुःख नमान्न र अन्यथा नसोच्नु अनुरोध गरेका छन् ।

उनले अन्तिममा लेखेका छन्, "बरु सक्नुहुन्छ भने उपरोक्त कामको लागि ग्राहक बनि दिनु होला भन्ने विनम्र अनुरोध गर्दछु । यो काम राष्ट्रको हितका लागि नगरी नहुने काम भएकोले सबै मिलेर गरौँ भनेर आह्वान गर्दछु ।"

 

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० ८:४०