close

कस्तो छ भर्खरै नेपाल भित्रिएको बीवाईडीको एट्टो थ्री ईभीको सस्तो भेरियन्ट ?

टेकपाना टेकपाना

भदौ १८, २०८० ११:२३

कस्तो छ भर्खरै नेपाल भित्रिएको बीवाईडीको एट्टो थ्री ईभीको सस्तो भेरियन्ट ?

 

काठमाडौं । बीवाईडी एट्टो थ्रीको एड्भान्स भेरियन्ट हालै मात्र नेपाली बजारमा आएको हो ।  नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कले यो भेरियन्टको बिक्री वितरण पनि सुरु गरिसकेको छ । 

बजारमा यसलाई एट्टो थ्रीको सबैभन्दा सस्तो भेरियन्टको रूपमा चिन्ने गरिएको छ । सरकारले बिजुली गाडीमा कर वृद्धि गरेसँगै बिक्रेता साइमेक्स इन्कले यो गाडी नेपाल ल्याएको हो । 

नेपालमा बीवाईडी एट्टो थ्रीको सुपेरियर र पर्फमेन्स गरी दुई प्रकारका भेरियन्ट यस अगाडिदेखि नै बजारमा उपलब्ध छन् । साथै लिमिटेड संस्करणमा फरेस्ट ग्रिन पनि कम्पनीले बिक्री गरिरहेको छ । 

एट्टो थ्रीका अन्य भेरियन्ट जस्तै यो गाडीको लुक्स पनि समान छ । तर अन्य भेरियन्टमा भएका केही फिचर भने यसमा दिइएका छैनन् । 

कम्पनीले यसमा ४४० लिटरको बुटस्पेस दिएको छ । एट्टो थ्रीकै सुपेरियर भेरियन्टमा भएको अटोमेटिक टेलगेट ओपनर पनि यसमा दिइएको छैन । यसो हुँदा डिक्कीलाई हातैले खोल्ने र बन्द गर्नुपर्ने हुन्छ ।

त्यस्तै सुपेरियर र पर्फमेन्स भेरियन्टमा सीएन ९५ र पीएम २.५ एयर फिल्टर राखिएको छ । तर यसमा सीएन ९५ फिल्टर मात्र दिइएको छ । जसले गाडी बाहिरको प्रदूषित हावा त्यति ‍फिल्टर भएर भने आउँदैन । 

गाडीमा पाँच जनासम्म बस्न सकिने ठाउँ छ । यसमा हेड र लेग स्पेस पनि राम्रै छ, यसो हुँदा गाडीमा आरामले बस्न सकिन्छ । साथै आफू अनुकूल सिटलाई मिलाउन सकिन्छ । 

यसमा पछाडि दुई ओटा र अगाडी चार ओटा गरी जम्मा छ ओटा एसी भेन्ट दिइएका छन् । सुरक्षाका लागि सात ओटा एयरब्याग छन् । त्यस्तै यसमा ३६० डिग्री भ्यु देखिने क्यामेरा दिइएको छ । 

जुन ससाना गल्ली र जामहरूमा उपयोगी हुन्छ । तर यसमा वायरलेस चार्जिङ दिइएको छैन । यद्यपि ‍अगाडि र पछाडि दुवैमा टाइप-बी र टाइप-सी चार्जर भने दिइएको छ । साथै सुपेरियर भर्सनमा आठ ओटा स्पिकर दिइएकोमा यसमा छ ओटा मात्रै छन् । 

कम्पनीका अनुसार एक पटकको फुल चार्जमा ३४५ किलोमिटरसम्म गाडी गुडाउन सकिन्छ । यसमा ५० किलोवाट पर आवरको ब्याट्री छ । यसलाई ७० किलोवाटको फास्ट चार्जरले ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न जम्मा ४५ मिनेट मात्र लाग्ने कम्पनीको भनाई छ । यसको ग्राउन्ड क्लियरेन्स १७४ मिलिमिटर र अधिकतम टर्क ३१० न्युटन मिटर रहेको छ । 

नेपालमा सर्फ ब्लु, पार्कर रेड, बोल्डर ग्रे र स्कि ह्वाइट गरी चार रङमा यो गाडी उपलब्ध छ । यसमा पानोरोमिक सनरुफ, पाँच इन्चको क्लस्टर, १२.८ इन्चको घुमाउन मिल्ने टचस्क्रिन दिइएको छ । 

त्यस्तै ट्राक्सन कन्ट्रोल सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङ सिस्टम, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक सिस्टम लगायतका फिचर पनि यसमा रहेका छन् । 

कम्पनीले गाडीको ब्याट्री र मोटर दुवैमा आठ वर्ष र १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । नेपाली बजारमा यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । नयाँ ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर ८० प्रतिशत किस्तामा गाडी लिन सक्छन् ।

नेपालमा अन्य भेरियन्टको मूल्य एट्टो थ्री लिमिटेड एडिसनको फरेस्ट ग्रिनको ६६ लाख ८८ हजार, एट्टो थ्री सुपरियरको ६५ लाख ८८ हजार र एट्टो थ्री पर्फर्मेन्सको ८१ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० ११:२६