close

के तपाईंले पनि रातको समयमा आकाशमा ताराहरू लहरै दगुरेको देख्नु भयो ?

टेकपाना टेकपाना

भदौ २१, २०८० १९:३७

के तपाईंले पनि रातको समयमा आकाशमा ताराहरू लहरै दगुरेको देख्नु भयो ?

काठमाडौं । पछिल्लो समय आकाशमा एकनासले उडिरहेका चम्किला वस्तु देखिने क्रम बढेको छ । पहिले विरलै देखिने चम्किला वस्तु पछिल्ला केही वर्षमा धेरै देखिन थालेको छ । झट्ट हेर्दा तारा उडिरहेका हुन् कि भन्ने लाग्न सक्छ ।

विकसित देश जस्तै बेलायत र अमेरिका मानिसहरूमा यस्ता वस्तु एलियनको यूएफओ (अनआइडेन्टिफाईड फ्लाईङ अब्जेक्ट) हुन् भन्ने भ्रम छ । तर, यस्ता वस्तु तारा वा यूएफओ नभई स्टारलिङ्क नामक स्याटलाइट इन्टरनेट प्रदायक कम्पनीले प्रक्षेपण गरेको स्याटलाइट हुन् । 

नेपाली युट्युबर घुमन्ते उर्फ कञ्चन राईले हालै सार्वजनिक गरेको मुगु यात्राको पहिलो एपिसोडको भिडिओमा पनि स्टारलिङ्क स्याटलाइटको प्रसङ्ग उल्लेख छ । भिडिओको ५५ औं मिनेटमा घुमन्तेका सञ्चालक/युट्युबर कञ्चन राईले स्टारलिङ्कको प्रसङ्ग उठाएका छन् ।

“हामी गुम्बामा मोबाइल चार्ज गरेर तल झर्दै थियौं, हाम्रो सोनाम सरको घरमा खाना खाने निम्तो थियो,” कञ्चन राईले भिडिओको ५५ औं मिनेटमा भनेका छन्, “हामी ठ्याक्क बसेको टेन्ट अगाडि एकछिन भुल्दाभुल्दै नै यहाँ हिमाल पछाडि सररर दुई तीन ओटा ताराहरूको लहरा आयो । सुरुमा ताराहरू कसरी मुभ गरेको भन्ने लाग्यो ।”

उनले अगाडि भनेका छन्, “दुई-तीन ओटा तारा एउटै लाइनमा बढ्दै बढ्दै गएर १०/१५ ओटा लाइनमा ताराहरू जस्तो सररर गएर हाम्रो आकाशमा गएर पछाडि पट्टिको डाँडामा अस्तायो ।”

एउटै लाममा एकनास उडिरहेको देख्दा राईलाई त्यो चम्किलो वस्तु तारा होइनन् भन्ने लाग्यो । उनले त्यस घरका मान्छेलाई यस्तो दृश्य आकाशमा पहिले कहिल्यै देखिएको थियो भनेर सोधे । उनीहरूले पनि यस्तो दृश्य पहिलो पटक देखिएको जवाफ दिए । उनले आँखाले आकाशको त्यो दृश्य देखे पनि क्यामेरामा कैद गर्न पाएनन् । पछि अध्ययन गर्दै जाँदा उक्त चम्किलो वस्तु एलन मस्कको कम्पनी स्टारलिङ्कको भू-उपग्रह अर्थात स्याटलाइट रहेको उनले भिडिओमा भनेका छन् ।  

के हो स्टारलिङ्कको स्याटलाइट ?

एलन मस्कको कम्पनी स्पेसएक्सले विकास गरेको स्याटलाइट नेटवर्क हो, स्टारलिङ्क । यसका लागि एलन मस्कको कम्पनी स्पेसएक्सले पुनः प्रयोग गर्न सकिने फाल्कन नाइन रकेटको प्रयोग गरी स्याटलाइट प्रक्षेपण गर्छ । यी स्याटलाइट सुरुवातमा पृथ्वीभन्दा २९० किलोमिटर माथिको सतहमा छोडिन्छन् । त्यसपछि स्याटलाइटले आफ्नो इन्जिनको सहायताले आफूलाई माथिल्लो सतहमा सार्छन् । विशेषगरी स्याटलाइटले काम गर्ने कक्ष पृथ्वीभन्दा ३४० देखि ५५० किलोमिटर बीचमा रहेको हुन्छ । यहाँसम्म पुगेर सफलतापुर्वक काम गर्न स्याटलाइटलाई महिनौं लाग्छ । 

यो बीचको महिनामा स्याटलाइटहरू पृथ्वीको विभिन्न क्षेत्रबाट प्रस्ट देखिन्छन् । स्याटलाइटमा हुने परावर्तित सतहका कारण सूर्यको प्रकाश स्याटलाइटमा ठोक्किएर पृथ्वीसम्म आइपुग्छ । यस्तो बेला स्याटलाइटबाट प्रकाश आए जस्तो देखिन्छ । यद्यपि स्याटलाइटको आफ्नै प्रकाशको स्रोत भने हुँदैन । उनीहरूले लगातार पृथ्वीको परिक्रमा गरिराख्ने भएकाले संसारका विभिन्न क्षेत्रबाट देखिन्छन् । यस्ता स्याटलाइट एउटै लाइनमा ६० ओटासम्म हुने फोर्ब्स म्यागजिनले उल्लेख गरेको छ । 

स्याटलाइटमा नपरेको बेला वा परे पनि पृथ्वीको भाग उज्यालो भएको बेला स्याटलाइट देखिँदैन । यदि तपाईं भएको ठाउँमा अँध्यारो छ र स्याटलाइट पृथ्वीको परिक्रमा गर्दै तपाईंको क्षेत्रतिर आएको छ भने त्यस्तो बेला अँध्यारो रातमा स्याटलाइटबाट परावर्तित आएको प्रकाश देखिन्छ ।

स्याटलाइटलाई पृथ्वीको कक्षमा एकपछि अर्को मिलाएर राखिने भएकाले एउटै लाममा समान गतिले उडिरहेको जस्तो देखिन्छन् । 

यीनै स्याटलाइटको सहायताले स्टारलिङ्कले निकै ग्रामीण ठाउँमा इन्टरनेट उपलब्ध गराउँदै आएको छ । विशेषगरी ताररहित इन्टरनेट सेवा पुग्न नसक्ने र पुगे पनि इन्टरनेट स्पिड कम हुने ठाउँको समस्यालाई मध्यनजर गर्दै यो कम्पनीले स्याटलाइट इन्टरनेटको अवधारण अगाडि बढाएको थियो । 

“पृथ्वीभन्दा ३५ हजार ७८६ किलोमिटर माथिको कक्षमा राखिएका एउटा जिओस्टेस्नरी स्याटलाइटमार्फत अधिकांश स्याटलाइट इन्टरनेट सेवा प्राप्त हुन्छ,” स्टारलिङ्कले वेबसाइटमा उल्लेख गरेको छ, “स्टारलिङ्क त्यस्ता हजारौं स्याटलाइटको नक्षेत्र हो, जो पृथ्वीभन्दा ५५० किलोमिटरमाथि पृथ्वीको कक्षमा राखिएका छन् ।”

रुस र युक्रेनको युद्द हुँदा युक्रेनका लागि स्याटलाइट इन्टरनेट बरदान साबित भएको थियो । गत फेब्रुअरीमा मस्कले युक्रेनमा स्याटलाइट इन्टरनेट उपलब्ध गराउन स्याटलाइट इन्टरनेटका लागि आवश्यक उपकरण उपलब्ध गराएका थिए । विशेषगरी रुसी सेनाले अन्य माध्यमबाट प्राप्त हुने इन्टरनेट सेवा बन्द गरेपछि उनीहरूलाई त्यसको विकल्पमा स्याटलाइट इन्टरनेट उपलब्ध गराइएको थियो । 

त्यसबाहेक पनि विपद्को जोखिम हुने प्रायः ठाउँमा स्याटलाइट इन्टरनेट पुगिसकेको छ । 

हामी किन आकाशमा स्याटलाइटको ट्रेन देख्छौं ? 

स्पेसएक्सले स्याटलाइट इन्टरनेटको दायरा बढाउन बारम्बार स्याटलाइट प्रक्षेपण गरिरहेको हुन्छ । हालै मात्र स्पेसएक्सले पृथ्वीको कक्षमा ५६ ओटा नयाँ स्टारलिङ्क स्याटलाइट प्रक्षेपण गरेको छ । हालसम्म पृथ्वीको कक्षमा स्टारलिङ्कका दुई हजार सक्रिय स्याटलाइट रहेका छन् । प्रस्ट तारा देखिने रात र प्रकाश प्रदूषण कम भएको रातमा स्टारलिङ्कको तीनै सक्रिय स्याटलाइट देखिन्छन् । 

स्पेसएक्सले मात्र नभई अमेजन जस्तो कम्पनीले पनि सयौंको सङ्ख्यामा स्याटलाइट प्रक्षेपण गर्दै आइरहेको छ । यसरी सयौंको सङ्ख्यामा अन्तरिक्षमा स्याटलाइट प्रक्षेपण गर्दा यसले स्याटलाइट प्रदूषण निम्त्याएको छ । यस्तो हुँदा अन्तरिक्षयात्रीलाई अन्तरिक्ष अवलोकन गर्न गाह्रो बनाउँछ । हालसम्म स्याटलाइट प्रक्षेपणलाई रोक्ने कुनै नीति बनेको छैन ।

यद्यपि स्याटलाइटबाट प्रकाश परावर्तन नहोस् भन्नका लागि स्पेस एक्सले स्याटलाइटको सतह त्यस्तै प्रकृतिको बनाउने काम गरिरहेको छ । त्यसबाहेक पनि कम्पनी वैज्ञानिकसँग सहकार्य गरेर यी समस्या सम्बोधन गर्दै आइरहेको छ । मस्क भने स्याटलाइटका कारण कुनै पनि समस्या नहुने विश्वास गर्छन् । 

त्यसोभए पृथ्वीबाट आकाशमा स्याटलाइट उडिरहेको कहिले देखिन्छ ? 

पछिल्लो समय स्पेस एक्स लगायत अन्य विभिन्न कम्पनीले विभिन्न समयमा स्याटलाइट प्रक्षेपण गर्दै आइरहेका छन् । फाइन्ड स्टारलिङ्क डटकम यस्तो प्लेटफर्म हो जसले विभिन्न क्षेत्रबाट देखिने स्टारलिङ्कलाई ट्र्याक गर्दै आइरहेको छ । यसले स्याटलाइट ट्रयाक गर्ने मात्र नभइ तपाईंले कतिबेला आफ्नो क्षेत्रबाट स्टारलिङ्कको स्याटलाइट देख्न सक्नुहुन्छ भन्ने कुराको पनि जानकारी दिन्छ ।

काठमाडौंबाट भने आज बिहान स्टारलिङ्क-९८ र स्टारलिङ्क-९७ देखिसकेको छ । अब भने भोलि शुक्रवार बेलुका ७ः१९ बजे स्टारलिङ्क-१०२ पाँच मिनेटसम्म र पर्सी शनिवार बेलुका ७ः२८ बजेदेखि चार मिनेटसम्म स्टारलिङ्क-१०२ स्याटलाइट देखिनेछ । यी प्रस्ट स्याटलाइट देखिने दिन हुन् ।

त्यसबाहेक पनि मध्यम र न्यून भिजिबिलिटीमा कहिले देखिन्छ भन्ने जानकारी सोही वेबसाइटबाट लिनुपर्ने हुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । आफ्नो देश र शहर छानिसकेपछि लोकेसनको एक्सेस दिनुहोस् । त्यसपछि तपाईंको स्थानबाट कहिले कता हेर्दा स्टारलिङ्क स्याटलाइट देखिन्छ भन्ने थाहा पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १९:३७