close

सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजीमा पढाइने

टेकपाना टेकपाना

भदौ २८, २०८० १३:४५

सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजीमा पढाइने

काठमाडौं । सरकारले निजीसँगै सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी भाषामा पढाउनु पर्ने व्यवस्था अगाडि सारेको छ । बुधवार सङ्घीय संसद्‌को प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा यस्तो प्रस्तावित व्यवस्था राखिएको हो ।

विधेयकको दफा ८ मा शिक्षणको माध्यम भाषा सम्बन्धी व्यवस्था छ । जसअनुसार शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, मातृभाषा वा अङ्ग्रेजी हुन सक्ने भनिएको छ । तर मूल विषयमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी भाषामा अध्यापन गराउनु पर्ने व्यवस्था गरिएको छ ।

यसरी गणित, विज्ञान र कम्प्युटर गरी तीन विषयका लागि अङ्ग्रेजी भाषा अनिवार्य गरिएको हो । यसबाट पठनपाठन प्रभावकारी हुनुका साथै उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेलाई सहज हुने विश्वास लिइएको छ ।

त्यस्तै विदेशीले नेपाली विषयको साटो पाठ्यक्रममा निर्धारित भाषामध्ये कुनै एक भाषागत विषय अध्ययन गर्न सक्ने बताइएको छ । त्यस्तै नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहन सहन समेटिएका सामाजिक विषयका विषयहरू नेपाली वा मातृभाषाको माध्यमबाट अध्यापन गराउनु पर्ने उल्लेख छ । यो विधेयक शिक्षा ऐन २०२८ प्रतिस्थापन गर्ने गरी ल्याइएको हो । 

 

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० १३:४५