close

ईसिम मात्रै लाग्ने आईफोन १५ यो वर्ष पनि अमेरिका बाहेकका देशमा उपलब्ध नहुने

टेकपाना टेकपाना

भदौ २९, २०८० १९:४८

ईसिम मात्रै लाग्ने आईफोन १५ यो वर्ष पनि अमेरिका बाहेकका देशमा उपलब्ध नहुने

 

काठमाडौं । यस वर्ष पनि एप्पलले ईसिम मात्र लाग्ने आईफोन १५ अमेरिका बाहेकका अन्य देशमा उपलब्ध नगराउने भएको छ । गत वर्ष आईफोन १४ मा पहिलो पटक कम्पनीले ईसिम मात्र सपोर्ट गर्ने भेरियन्टको आईफोन सार्वजनिक गरेको थियो । 

यो वर्ष ईसिम भेरियन्टको आईफोन १५ अमेरिकासहित विश्वका अन्य देशमा समेत उपलब्ध हुने अपेक्षा गरिएको थियो । तर, एप्पलले अमेरिकी ग्राहकका लागि मात्र ईसिम भेरियन्टको आईफोन उपलब्ध गराउने नाइन टु फाइभ म्याकले उल्लेख गरेको छ । 

त्यसो त अमेरिका बाहिर उपलब्ध हुने आईफोन १५ मा ईसिम सपोर्ट नहुने भन्ने होइन । तर, बाहिर उपलब्ध हुने फोनमा भौतिक सिमसँगै त्यसको विकल्पमा ईसिमको सपोर्ट दिइएको हुन्छ । एप्पलको वेबसाइटमा हेर्ने हो भने त्यहाँ आईफोन १५ का विभिन्न चार ओटा मोडेल लिस्टिङ गरिएको देखिन्छ । त्यसमा अन्य देशमा उपलब्ध हुने भेरियन्ट पनि रहेका छन् । जस मध्ये चिनियाँ भेरियन्ट (दुई ओटा भौतिक सिम लाग्ने मोडेल) का साथै क्यानडा, जापान र मेक्सीको र अमेरिकामा मात्र उपलब्ध मोडेल रहेका छन् । 

कम्पनीका अनुसार भौतिक सिमको साटो ईसिम प्रयोग गर्नुका थुप्रै फाइदा रहेका छन् । विशेषगरी यदि कसैले फोन चोरी गरिहालेको खण्डमा पनि सिम निकालेर फाल्ने अवस्था आउँदैन । नेपालमा नेपाल टेलिकम र एनसेल आजियाटाले आफ्ना ग्राहकलाई सहजै ई-सिम उपलब्ध गराइरहेका छन् । यद्यपि विश्वका केही देशमा यो प्रणाली निकै सुस्त छ । 

भौतिक सिमको साटो ईसिम मात्र उपलब्ध गराउँदा फोनको आन्तरिक भागमा अलिकति भए पनि स्पेस बाँकी हुन्छ । आईफिक्सिटका अनुसार अहिले अमेरिकामा उपलब्ध ईसिम मात्र लाग्ने आईफोन १४ मोडेलको भौतिक सिम राख्ने भाग प्लास्टिकले ब्लक गरिएको छ । त्यसैले तत्काल यो खाली स्पेस प्रयोग भएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १९:४८