close

नागरिकता, पासपोर्ट जस्ता सरकारी प्रमाणपत्रबाट एक्सको अकाउन्ट भेरिफाई गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३०, २०८० १२:५९

नागरिकता, पासपोर्ट जस्ता सरकारी प्रमाणपत्रबाट एक्सको अकाउन्ट भेरिफाई गर्न सकिने

 

काठमाडौं । एक्स (ट्वीटर) का सशुल्क प्रयोगकर्ताले आफ्नो अकाउन्टलाई सरकारी कागजपत्रसँग प्रमाणित गराउन पाउने भएका छन् । प्रोफाइलमा देखिने लाइक ट्याब लुकाउने फिचर ल्याएको केही दिनमा नै एक्सले प्रिमियम प्रयोगकर्ताका लागि ‘आईडी भेरिफेसकन’ नामक फिचर ल्याएको हो ।

यो विकल्प प्रिमियम सेटिङभित्र हुने ‘भेरिफिकेसन सेक्सन’मा भेट्न सकिने छ । आईडी भेरिफेसकन गर्न आफू प्रमाणित हुने सरकारी प्रमाणपत्र (नागरिकता, पासवर्ड आदि) र आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ । यस कामका लागि एक्सले आईडी भेरिफिकेसन कम्पनी ओटेनटिक्स (Au10tix) सँग सहकार्य गरेको छ । 

यसरी आईडी भेरिफिकेसन गर्दा विभिन्न फाइदाहरू हुने एक्सले जनाएको छ । जसमध्ये अन्य प्रयोगकर्ताले प्रोफाइल हेर्दा आईडी भेरिफिकेसन लेभल देखिने र त्यसले विश्वास थप प्रगाढ हुने बताइएको छ ।

त्यस्तै त्यस्ता प्रयोगकर्ताहरूले प्रोफाइल फोटो, डिस्प्ले नेम र युजर नेम धेरै पटक परिवर्तन गर्न सक्ने, ब्लु चेक मार्क छिटो प्रमाणित हुने जस्ता फाइदा हुने जनाइएको छ । जसले एक्सबाट चाँडो सेवा चाहन्छन्, त्यस्ता प्रयोगकर्ताका लागि आईडी भेरिफिकेसन उपयुक्त हुने देखिन्छ ।

पछिल्लो समयमा आम्दानी घटेपछि प्रिमियम सब्स्क्राइबरलाई थप आकर्षित गर्न एक्सले यस्ता विभिन्न फिचरहरू ल्याइरहेको छ ।

एक्सको प्रिमियम सब्स्क्रिप्सन लिन मासिक आठ डलर (करिब एक हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ भने वार्षिक ८४ डलर (करिब एघार हजार रुपैयाँ) तिर्नुपर्छ । यो सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले सामान्य प्रयाेगकर्ताभन्दा बढी फिचर प्रयोग गर्न पाउँछन् । साथै उनीहरूले भेरिफाइड ब्याज पनि पाउँछन् ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० १२:५९