काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८ वर्षको अवधिमा नेपाल सरकारलाई दुई खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर बुझाएको छ । आइतवार आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा एनसेलले स्थापना कालदेखि आर्थिक वर्ष २०७९/८० मा सो रकम कर र अन्य शुल्कका रूपमा तिरेको जनाएको हो ।
नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक एनसेलले कर बाहेक शिक्षा, वातावरण र स्वास्थ्यको क्षेत्रमा सो अवधिमा एक अर्ब ८० करोड रुपैयाँ बढी योगदान दिएको समेत उल्लेख छ ।
यसका साथै एनसेलले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागू हुने सामाजिक पहल '१८ का लागि १८ (18 for 18)' कार्यक्रम सुरु गरेको छ ।
यस अन्तर्गत एनसेलले सातै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ-आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन आह्वान गरेको छ । इच्छुक संस्थाले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर (व्यावसायिक सामाजिक उत्तरदायित्व) आयोजनाका लागि कम्पनीले १८ ओटा परियोजनामा प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ । यहाँ क्लिक गरेर वा [email protected] मा ईमेल गरेर अथवा ९८०५५५४४४० मा सम्पर्क गरेर यो परियोजनाबारे थप जानकारी लिन सकिनेछ ।
त्यस्तै कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) र 'हामी तपाईंकै लागि' थिम अन्तर्गत राष्ट्रिय प्याराओलम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा समेत गरेको छ । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पाराओलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्ने बताएको छ ।
यो सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरूको समग्र तालिम र विकासका लागि उनीहरूलाई वर्षभर आवश्यक पर्ने आहार र पोषण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।