close

अब नेपालबाटै फेसबुक तथा इन्स्टाग्राम अकाउन्टका लागि ब्लु टिक किन्न सकिने

टेकपाना टेकपाना

असोज ३, २०८० १३:४०

अब नेपालबाटै फेसबुक तथा इन्स्टाग्राम अकाउन्टका लागि ब्लु टिक किन्न सकिने

काठमाडौं । अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (नामको पछाडि आउने ब्लु टिक) लिन सकिने भएको छ । बुधवार बिहानदेखि कम्पनीले विश्वभर यो सुविधा उपलब्ध गराएको हो ।

यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज लिन सकिने सुविधा थिएन । केही विशेष क्षेत्रमा मात्र उपलब्ध यो फिचर अन्तर्गत मासिक ७.९९ डलर (करिब एक हजार रुपैयाँ) तिरेर ब्लु टिक लिन सकिन्छ ।

कम्पनीका अनुसार यस्तो सुविधा लिने प्रयोगकर्ताको अकाउन्ट फेसबुकले बढी सुरक्षित बनाउनेछ । त्यस्तै शुल्क तिर्ने प्रयोगकर्ताले चाहेको कस्टमर सपोर्ट पाउनेछन् । 

यससँगै कम्पनीले बिजनेस भेरिफिकेसन सुविधा पनि घोषणा  गरेको छ । यसअन्तर्गत व्यावसायिक प्रयोजनका लागि फेसबुक प्रयोग गर्ने प्रयोगकर्ताले २२ डलर तिरेर इन्स्टाग्रामको वा ३५ डलर तिरेर फेसबुक र इन्स्टाग्राम दुवैका लागि भेरिफिकसेन ब्याज लिन सक्छन् । यो सुविधा आगामी साताबाट उपलब्ध हुने द भर्जले जनाएको छ । यसरी बिजनेस भेरिफिकेसन लिने प्रयोगकर्ताले एक्सक्लुसिभ फिचरहरूमा पहुँच पाउनुका साथै सपोर्ट पनि पाउनेछन् । 

साथै भेरिफाइ गर्ने प्रयोगकर्ताको पोस्ट रिच बढ्नुका साथै उनीहरूलाई सर्चमा पनि सबैभन्दा अगाडि देखाइने मेटाले जनाएको छ । त्यस्तै ह्वाट्सएपमा पनि त्यस्ता प्रयोगकर्ताले वेब जस्तै ल्यान्डिङ पेज बनाउन सक्नेछन् । 

ट्वीटरका रूपमा परिचित एक्सका मालिक एलन मस्कले केही समयअघि मात्र सो प्लेटफर्ममा शुल्क तिरेर भेरिफिकेसन मार्क लिन सकिने फिचर उपलब्ध गराउने घोषणा गरेका थिए ।

त्यसको केही समय शुल्क तिर्ने प्रयोगकर्तालाई भेरिफिकेसन मार्क उपलब्ध गराउन थालेको कम्पनीले पछि लिगेसी ब्लु चेक नै हटाइदिएको थियो । जसले गर्दा पछि ब्लु भेरिफिकेसन चाहिने सबै प्रयोगकर्ताले एक्सलाई शुल्क तिरेर सो चेकमार्क लिनुपर्ने भयो ।

बिजनेसका लागि मेटा भेरिफिकेसन सुविधा लिने प्रयोगकर्ताले व्यवसाय भएको पुष्टि गर्नुपर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८० १३:५५