close

वनप्लस फोनको स्क्रिनमा हरियो धर्को आउने समस्या, डिस्प्ले फेर्न ४२ हजारसम्म लाग्ने !

टेकपाना टेकपाना

असोज ४, २०८० १५:४४

वनप्लस फोनको स्क्रिनमा हरियो धर्को आउने समस्या, डिस्प्ले फेर्न ४२ हजारसम्म लाग्ने !

 

काठमाडौं । “वनप्लसको फोन अपडेट गर्दा स्क्रिनमा हरियो लाइन आइरहेको छ भन्ने सुनेको थिएँ । त्यसैले मैले मेरो वनप्लस नोड ८ प्रो फोन अटो-अपडेटमा राखेको थिइनँ,” काठमाडौं मैतिदेवी बस्ने एन्जल गिरी गुनासो गर्छन्, “तर, खै कसरी आफैं अपडेट भयो । अहिले स्क्रिनमा ग्रिन लाइन देखिरहेको छ ।” 

स्क्रिनमा त्यस्तो समस्या आएपछि गिरीले नेपालमा रहेको वनप्लसको सर्भिस सेन्टरमा सम्पर्क गरे । तर, फोन उठेन । उनी मङ्गलवार आफैं पनि सर्भिस सेन्टर पुगेका थिए । तर, सर्भिस सेन्टर बन्द देखेपछि फर्किए ।

उनी भन्छन्, “वनप्लसले नेपालमा त्यस्तो केही सुविधा ल्याएको छैन । भारतमा वनप्लसले स्क्रिनमा ग्रिन लाइन आएका फोनको डिस्प्ले लाइफटाइम रिप्लेसमेन्ट गरिरहेको छ ।” 

गिरी मात्र होइन, उनका साथी प्रनिल ढकाल पनि फोनमा एक्कासि ग्रिन स्क्रिन आउँदा चिन्तित छन् । “पहिला त्यस्तो कुनै समस्या थिएन । भौतिक क्षति केही भएको थिएन,” ढकाल भन्छन्, “अपडेट गर्ने बित्तिकै खै के भो, एक्कासि हरियो लाइन देखियो । हट्दै हट्दैन ।”  

फेसबुकमा रिवेश थपलिया नाम भएका व्यक्ति पनि आफ्नो वनप्लस ८ टीमा एन्ड्रोइड १३ अपडेट गरेपछि दिक्क भएका छन् । नेपालबाट सञ्चालन भइरहेको वनप्लसको आधिकारिक फेसबुक पेजको पोस्टमा थपलियाले कमेन्ट गर्दै लेखेका छन्, “मैले १३ मा अपडेट गरेसँगै वनप्लस ८ टी फोनको स्क्रिनमा हरियो लाइन देखिएको छ ।”

“वनप्लस नलिए हुन्छ है गाइज,” अर्का एक प्रयोगकर्ता प्रजेश रामदाम लेख्छन्, “ग्रिन लाइन समस्या आउँछ । त्यसपछि चुना मात्र लाग्छ ।”

थपलियाको पोस्टमा रिप्लाई गर्दै भोलानाथ चौधरीले पनि आफूले त्यस्तै समस्या भोगेको उल्लेख गरेका छन् ।

त्यस्तै सञ्जिव नाम भएका अर्का प्रयोगकर्ताले आफ्नो वन प्लस ८ को डिस्प्लेमा किन सेतो लाइन आयो भनेर प्रश्न राखेका छन् ।

यो समस्या नौलो होइन । गत वर्षदेखि नै विश्वभरका प्रयोगकर्ताले आफ्नो वनप्लस फोनमा स्थायी हरियो लाइन आउने गरेको गुनासो गरेका थिए ।

एन्ड्रोइड अथाेरिटीले गरेको अध्ययनमा एमोलेड स्क्रिन भएका वनप्लसका पुरानो फोनमा समस्या आएको देखिएको थियो । प्रयोगकर्ताले यस्तो समस्या बढी गुनासो गर्न थालेपछि वनप्लसले भारतमा प्रभावित डिभाइसमा लाइफटाइम वारेन्टी दिन सुरु गरेको एन्ड्रोइड अथाेरिटीले उल्लेख गरेको छ । कतिपय प्रयोगकर्ताले सोही फोनमा केही शुल्क मात्र थपेर नयाँ फोन लिने सुविधा पाएका थिए । 

एन्ड्रोइड अथाेरिटीसँग कुरा गर्दै वनप्लसका प्रवक्ताले ग्रिन लाइनबाट प्रभावित सबै डिभाइसमा लाइफटाइम स्क्रिन वारेन्टी दिएको बताएका थिए । “ग्रिन लाइनको समस्याले प्रभावित प्रयोगकर्तालाई परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,” एन्ड्रोइड अथाेरिटीलाई प्रवक्ताले पठाएको पत्रमा लेखिएको थियो, “त्यस्तो समस्या सामना गरिरहेका हाम्रा ग्राहकलाई हामी निःशुल्क स्क्रिन रिप्लेसमेन्ट गर्न नजिकैको वनप्लसको सर्भिस सेन्टरमा जान अनुरोध गर्छौं ।”

विज्ञप्तिमा कम्पनीले वनप्लस ८ र वनप्लस नाइन सिरिजका डिभाइसहरू प्रभावित भएको उल्लेख गरेको छ । त्यसबाहेक पनि स्क्रिनमा ग्रिन लाइन आएका प्रयोगकर्ताको डिभाइसलाई उचित मूल्याङ्कन गर्दै कम्पनीले अर्को फोन उपलब्ध गराउने प्रतिबद्धता दिएको थियो । प्रवक्ताले विज्ञप्तिमा स्क्रिनका लागि लाइफटाइम वारेन्टी दिने स्पष्ट उल्लेख गरेका थिए । 

एन्ड्रोइड अथाेरिटीले अमेरिका र युरोपमा रहेको वनप्लसको कार्यालयमा पनि यसबारे बुझेको थियो । तर, कम्पनीले ती क्षेत्रमा वारेन्टी सेवा उपलब्ध नभएको बतायो । 

नेपालमा के छ व्यवस्था ? 

वनप्लसका लागि नेपालमा दुई ओटा आधिकारिक वितरक छन्; एउटा स्मार्टटक प्रालि र अर्को ट्राटस टेक्नोलोजी । स्मार्टटक प्रालिका अनुसार सो कम्पनीले नेपालका आधिकारिक डिलरबाट खरिद गरेका डिभाइसमा स्क्रिन रिप्लेसमेन्टको सुविधा दिए पनि बाहिरबाट मगाएका डिभाइसमा त्यस्तो कुनै सुविधा दिएको छैन ।

“यदि वनप्लसले नेपालमै आफ्नो सर्भिस सेन्टर बनाएको भए हामी सबै प्रयोगकर्तालाई स्क्रिन रिप्लेसमेन्टको सुविधा दिने थियौं,” स्मार्टटकका एक प्रतिनिधिले भने, “हामी अहिले आधिकारिक रूपमा हामीबाट खरिद गरेका डिभाइसमा मात्र वारेन्टी सुविधा दिइरहेका छौं ।” 

नेपालबाट खरिद नगरेको भए पनि सर्भिस सेन्टरमा ल्याएको अवस्थामा शुल्क लिएर मर्मत गरिदिने उनको भनाइ छ ।

यदि शुल्क तिरेर बनाउनु पर्‍यो भने वनप्लस ८ र नाइन सिरिजका डिभाइसका लागि ४२ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेकाे वनप्लसका प्रयोगकर्ताको भनाइ छ । उनीहरू नेपालमा पनि भारतमा जस्तै फोन अपग्रेड गर्ने, लाइफटाइम स्क्रिन रिप्लेसमेन्ट गर्ने वा फोनको भ्यालुएसन गरेर त्यही बराबरको मूल्य उपलब्ध गराउने सुविधा होस् भन्ने चाहन्छन् ।

वनप्लस बाहेक अन्य एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताले पनि अपडेटपछि स्क्रिनमा हरियो लाइन देखिने समस्या आएको गुनासो गरिरहेका छन् । अन्य कम्पनीहरूले यसबारे आधिकारिक रूपमा केही खुलाएका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १५:४४