close

नास्टले भाषणभन्दा काम गरेर देखाउनु पर्छः मन्त्री राई

टेकपाना टेकपाना

असोज ५, २०८० १८:१३

नास्टले भाषणभन्दा काम गरेर देखाउनु पर्छः मन्त्री राई

काठमाडौं । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान दिवस २०८० लाई सप्ताहव्यायी रूपमा मनाएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ नाराका साथमा नास्टले भदौ २९ देखि असोज ५ सम्म विज्ञान दिवस मनाएको हो ।

यही उपलक्ष्यमा नास्टले आज (शुक्रवार) आफ्नो कार्यालय परिसरमा विज्ञान तथा प्रविधि सम्बन्धी विद्यार्थीले बनाएका विभिन्न परियोजना, प्यानल छलफल, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई​ सम्बाेधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भाषणबाट भन्दा काम गरेर देखाउन नास्ट नेतृत्वलाई सुझाव दिए ।

नास्टका सहकुलपति समेत रहेका मन्त्री राईले युवा विद्यार्थीहरूलाई प्राविधिक ज्ञान दिलाए जीवन बाँच्ने तरिकालाई सहज बनाउन सकिने धारणा राखे ।

“मानिसलाई प्राप्त प्राकृतिक सम्पत्ति प्रयोग गरेर प्रविधि विकास गर्ने हो । माइक्रोस्कोप, टेलिस्कोप, दूरसञ्चार प्रविधि जस्तै टेलिफोन, इन्टरनेट, यातायातका साधनहरूको विकास, मानिसका चाहनालाई पूरा गर्ने साधन हुन्,” उनले भने, “हामी ज्ञान विज्ञानको रचनात्मक प्रयोग गर्नेतर्फ लाग्नुपर्छ । धनी राष्ट्रले छुट्याउने बजेट रचनात्मक भन्दा विनाशक क्षेत्रमा प्रयोग गरिरहेका छन् ।”

विज्ञान शिक्षाप्रति रूचि कम भइरहेकाे सन्दर्भमा मन्त्री राई शिक्षण र सिकाईलाई आकर्षणयुक्त बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नास्टका उपकुलपति प्राडा. दिलीप सुब्बाले नास्टले अनुसन्धान मात्र नभएर अनुसन्धान गर्न सहयोग पनि गर्ने भएकाले मन्त्रालयबाट सहयोग प्राप्त भए आफूहरूले सोचेको गर्नसक्ने बताए ।

“नास्टले नवप्रवर्तनलाई सहयोग गर्ने, देशको परम्परागत प्रविधि सम्वर्द्धन/प्रवर्द्धन गर्ने, साइन्स पार्क बनाउने, सातै प्रदेशमा आफ्नो शाखा तथा प्रयोगशाला खोल्ने लगायतका धेरै काम गर्नु छ,” उनले अगाडि भने, “तर नास्टले चाहँदैमा यी सबै काम हुँदैनन् । नास्टका कुलपति तथा प्रधानमन्त्री, सहकुलपति तथा शिक्षामन्त्री लगायतको अमूल्य सहयोग चाहिन्छ । नास्टले देश र जनताको आवश्यकता अनुसार विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने समय आएकाले सबैतिरबाट सहयोग आए पक्कै पनि नास्ट धेरै माथि पुग्छ ।”

विज्ञान दिवस मनाउने क्रममा नास्टले ललितपुर महानगरपालिकाको वडा नम्बर १५ का शिक्षक तथा विद्यार्थीहरूलाई भदौ २९ देखि ३१ गतेसम्म स्टीम शिक्षा (साइन्स, टेक्नाेलाेजी, इन्जिनियरिङ र म्याथमेटिक्स) सम्बन्धी तालिम दिएको थियो ।

शुक्रबारै उक्त तालिममा सहभागी विद्यार्थीहरूले बनाएका एभियसन, थ्रीडी प्रिन्टर, स्मार्ट पार्किङ, ड्रोन, स्याटलाइट, रकेट साइन्सका परियोजनाहरूको प्रदर्शनी गरिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १८:२४