काठमाडौं । फिफिया नामको अवैध जुवा प्लटेफर्ममा रकम लगानी गर्ने नेपालीहरूको सङ्ख्या हजारौंमा छ । हालै फिफियाको एजेन्टका रूपमा सक्रिय दादिकी शेर्पा (राई) पक्राउ परेपछि यो प्रकरणले झनै चर्चा पाएको छ । समाचार आएपछि सो प्लेटफर्मबाट प्रयोगकर्ताको रकम आउन बन्द भएको छ ।
गत बिहीवार सो कम्पनीले प्रयोगकर्तालाई त्यस प्लेटफर्ममा भएको रकम निकाल्ने भए १०० यूएसडीटी क्रिप्टोकरेन्सीमा तिर्नुपर्ने भन्दै सूचना निकाल्यो । कतिपय प्रयोगकर्ताले सो रकम बुझाइसकेपछि पनि आफ्नो जम्मा भइसकेको रकम फिर्ता नआएको दाबी गरेका छन् । सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रयोगकर्ताले आफ्नो लगानी डुबेको भन्दै चित्कार गरिरहेका छन् । यस्तो अवस्थामा प्रहरी कार्यालयमा उजुरी गर्न गए के हुन्छ ?
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानेर वा नजानेर सट्टेबाजीमा राखेको रकम डुब्यो भन्दै प्रहरी कार्यालय गए अनुसन्धान हुने बताउँछन् । उनका अनुसार नेपालमा अवैध मानिएकाे प्लेटफर्म सञ्चालन गर्ने, त्यसमार्फत रकम संकलन तथा नेटवर्किङ गराउने एवं लगानी गर्ने सबैलाई कारबाहीको दायरमा ल्याउने प्रयास भइरहेको छ ।
प्रहरीलाई विभिन्न माध्यमबाट नेपालमा बेटिङ प्लेटफर्म सञ्चालन भइरहेको छ भन्ने सूचना आएको थियो । अनुसन्धानका क्रममा दादिकी पक्राउ परिन् । राठोरका अनुसार दादिकीले 'फिफिअ इन्टरनेट मिडिया प्रालि' नामबाट घरेलु तथा साना उद्याेगमा कम्पनी खाेलेकी थिइन् । त्यो सामान्य प्रयाेजनका लागि लिइएको अनुमति थियो, तर उनले त्यसलाई बेटिङ तथा नेटवर्किङका लागि प्रयोग गरेको प्रहरीको ठहर छ ।
"यो सिङ्गापुरबाट सञ्चालित चिनियाँको सहयोगमा नेपालमा चलाउँदै आएको अनलाइन जुवा प्लेटफर्म हो," प्रहरी उपरीक्षक राठोरले भने, "त्यसमा हजारौंको सङ्ख्यामा नेपालीहरू जोडिएको देखिएकाे छ । त्यही क्रममा दादिकीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।"
पक्राउ परेकी दादिकीमाथि थप अनुसन्धान भइरहेको र उनको बैंक स्टेटमेन्ट हेरेर को को जोडिएका छन् भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
लगानी डुब्यो भन्दै उजुरी दिन आएमा कानूनी प्रक्रिया अनुसार कारबाही प्रक्रिया थाल्ने उनको भनाइ छ । प्रयोगकर्ताले फिफियामा खर्चिएकाे रकम नेपाल सरकारको राजस्वमा जाने उनले बताए । "जुवामा लगानी गर्न हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि जुवामा लगानी गर्ने, अनि जुवाको पैसा फिर्ता माग्न आए उनीहरूलाई कारबाहीकाे दायरामा ल्याउँछौं," राठाेरले भने ।
उनले अगाडि भने, “कसैले कुनै पनि प्रलोभन देखाएर झुक्यायो भन्ने हुँदैन । कुनै पनि आधारमा कुनै पनि तथ्य देखाएर अवैध काममा आकर्षित गर्छ भने त्यो पनि अपराध हो ।”
अनलाइन जुवा वा अन्य विभिन्न किसिमका अनलाइन अपराध कस्ता हुन्छन्, कसरी फसिन्छ भन्नेबारे प्रहरीले विभिन्न माध्यमबाट बारम्बार सचेतना गराइरहेको उनले बताए । “हाम्रो वेबसाइटमा पनि यसबारे खुलस्त लेखिएको छ । कसरी कस्तो कस्तो माध्यमबाट ठगी गर्छन्, प्रलोभनमा पार्छन्, फसाउँछन् भनेर राखेका छौं,” उनले भने, “तथापि लोभले फस्छन् भने उनीहरू त्यसको भागिदार हुनैपर्छ । कानूनले नगर भनेको काम गर्छन् भने कसूरको भागिदार बन्नैपर्छ ।”
अवैध अनलाइन नेटवर्किङ तथा सट्टेबाजीमा सर्वसाधारणलाई आकर्षित गर्न एजेन्टहरूले विभिन्न निकायबाट लिएको कागजात देखाउने गरेकाे बताउँदै राठोरले भने, “अहिले साना तथा घरेलु उद्योगमा जसले पनि कम्पनी (व्यवसाय) दर्ता गर्न पाउँछ । कुनै पनि किसिमको व्यापार व्यवसाय गर्छु भनेको छ भने पाउँछ । त्यो प्रयोजनले लिने, तर त्यसलाई बेटिङको धन्धाका लागि प्रयोग गर्न पाइँदैन । त्यो कारबाहीको भागिदार हुन्छ । हामी उनीहरूलाई कानूनको दायरामा ल्याउँछौं ।”
“जुवा खेल्न, त्यसमा लगानी गर्न हुँदैन भनेर सानैबाट सिकाइएको हुन्छ । त्यसबाहेक पनि घर, समाज, गुरु सबैले यस्ता गल्ती गर्नु हुँदैन भनेर बुझाएका हुन्छन्,” प्रहरी उपरीक्षक राठोरले भने, “यति गर्दा पनि अवैध काम गर्छन् भने कानूनले डन्डा लगाउँछ ।”
उनले अगाडि भने, “अवैध अनलाइन सट्टेबाजीका प्लेटफर्म नेपालीलाई लक्षित गरेर मौलाइरहेका छन् । यी अन्तर्राष्ट्रिय फोरमबाट आउने प्लेटफर्म हुन् । यसलाई हामीले रोकेर रोक्न सक्दैनौं । कतिपय देशमा यी प्लेटफर्म कानूनी छन् । तर, इन्टरनेट भनेको विश्वव्यापी हुन्छ । त्यसैले हाम्रो देशमा पनि ठोकिन्छ ।”
उनले कुनै पनि प्रलोभनमा परेर सट्टेबाजी वा अन्य किसिमका प्लेटफर्ममा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराए ।