close

सस्तो मूल्यको आईफोन ल्याउँदै एप्पल, कति होला मूल्य ?

टेकपाना टेकपाना

असोज १२, २०८० ११:५६

सस्तो मूल्यको आईफोन ल्याउँदै एप्पल, कति होला मूल्य ?

काठमाडौं । सस्तो मोडेलका रूपमा एप्पलले आईफोन एसई सार्वजनिक गर्ने गर्छ । एप्पलले सबैभन्दा पहिले सन् २०१६ मा आईफोन एसई, सन् २०२० मा आईफोन एसई (२०२०) र सन् २०२२ मा आईफोन एसई (२०२२) बजारमा ल्याएको थियो ।

यस पटक सार्वजनिक हुने आईफोन एसईको नाम आईफोन एसई फाेर वा आईफोन एसई (२०२४) हुने अपेक्षा गरिएको छ । विभिन्न लिकरले सार्वजनिक गरेको जानकारी अनुसार आईफोन एसई फाेर आईफोन १४ जस्तै डिजाइनमा उपलब्ध हुनेछ ।

त्यसबाहेक सो मोडेलमा फेस आईडी, यूएसबी-सी, एक्सन बटन, ओलेड डिस्प्ले र अन्य फिचरहरू हुने बताइएको छ ।

एप्पलकाे सूचना बाहिर ल्याउने प्लेटफर्म म्याक र्‍युमर्सलाई गाेप्य स्रोतले भने अनुसार कम्पनीले हाल आईफोन एसई फाेर का लागि विभिन्न अपग्रेड परीक्षण गरिरहेको छ । त्यसैले अहिले नै सो फोन कहिले सार्वजनिक हुन्छ भन्ने खुलिसकेको छैन ।

सो फोनमा हाल आईफोन १४ को च्यासिस, एक्सन बटन, यूएसबी-सी पोर्ट, ४८ मेगापिक्सेलको सिङ्गल क्यामेरा, ओलेड डिस्प्ले, फेस आईडी र इनहाउस फाइभजी मोडेल परीक्षण भइरहेको छ ।

डिजाइनका सन्दर्भमा आईफोन एसईमा आईफोन १४ को च्यासिस प्रयोग गरिने भएकाले सो मोडेलमा आईफोन १५ जस्तो कर्भ्ड एज हुँदैन ।

उक्त मोडेलकाे क्यामेरा कस्तो हुने भन्ने खुलाइएको छैन । एप्पलले यी विशेषता समावेश गरेर हालसालै फोन बजारमा ल्यायो भने त्यसले राम्रो चर्चा पाउने विश्लेषकहरूको अपेक्षा छ ।

अहिले राम्रो विशेषता हुँदाहुँदै पनि आईफोन १५ का केही कमजोरीले गर्दा सो फोनले आलोचना खेप्नु परिरहेको छ । सस्तो मूल्यमा आईफोन १५ मै भएका अधिकांश फिचरहरू आईफोन एसईमै पाएको खण्डमा त्यसले प्रयोगकर्ता आकर्षित गर्ने निश्चित छ ।

यसअघि २०२० र २०२२ मा सो मोडेलको फोन बजारमा आएकाले यो पटक २०२४ मा आउन सक्ने अपेक्षा गरिएको छ । यी सबै सूचना अज्ञात स्रोतले उपलब्ध गराएकाले सटीक छन् वा छैनन् छुट्याउन गाह्रो भएको म्याक र्‍युमर्सले उल्लेख गरेको छ । 

 

२०२२ मा सार्वजनिक भएको आईफोन एसई (२०२२) को सुरुवाती मूल्य १८९ अमेरिकी डलर तोकिएको थियो । सो मूल्य आईफोन एसई (२०२०) को तुलनामा करिब ६० अमेरिकी डलरले बढी हो । त्यसैले नयाँ मोडेलको आईफोन एसईको मूल्य आईफोन एसई (२०२२) हाराहारी वा त्योभन्दा केही महँगो हुने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८० ११:५६