close

आफ्ना ग्राहकको गुनासो सम्बोधन गर्न वर्ल्डलिङ्कले प्रयोगमा ल्यायो एआई च्याटबट

टेकपाना टेकपाना

असोज १५, २०८० १४:८

आफ्ना ग्राहकको गुनासो सम्बोधन गर्न वर्ल्डलिङ्कले प्रयोगमा ल्यायो एआई च्याटबट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतवारदेखि वेबसाइट र ह्वाट्सएप नम्बरमा एआई इन्ट्रिगेट गर्दै आफ्नो  ग्राहक सेवालाई नयाँ आयाम दिएको हो । 

कम्पनीका अनुसार प्रयोगकर्ताले वर्ल्डलिङ्कको ग्राहक सेवामा जुन प्रयोजनका लागि सम्पर्क गर्छन्, त्यो सबै मेसेजबाटै सोध्न सकिनेछ । “मेरो अकाउन्ट एक्सटेन्ड गरिदिनु, इन्टरनेट कनेक्सन चेक गरिदिनु, नेटटिभीमा आएको समस्या समाधान गरिदिनु जस्ता गुनासोका लागि जसरी प्रयोगकर्ताले वर्ल्डलिङ्कको ग्राहक सेवामा सम्पर्क गर्छन्, त्यो सबै अब एआई च्याटबटसँग सोध्न सकिनेछ । त्यसको समाधान च्याटबटले नै गरिदिनेछ,” कम्पनीका प्रतिनिधिले टेकपानासँग भने, “हामीलाई दैनिक रूपमा आउने फोन कलको सङ्ख्या घटाउन र नयाँ प्रविधि आत्मसात गर्न यस्तो सुविधा ल्याएका हौं ।”

च्याटबटबाटै समस्या समाधान हुन्छ भने किन फोन गरेर ब्यालेन्स खर्च गर्नु भनेर यस्तो सेवा सुरु गरिएको उनको तर्क छ । यसका लागि प्रयोगकर्ताले वर्ल्डलिङ्कको वेबसाइट वा ह्वाट्सएप नम्बर (+977 9801523051) प्रयोग गर्न सक्नेछन् । 

वेबसाइट तथा ह्वाट्सएपबाट एआई च्याटबटसामु आफ्नो समस्या राख्दा प्रयोगकर्ताले मोबाइल नम्बर राखेर युजर भेरिफाइ गराउनु पर्ने हुन्छ ।  युजर भेरिफाई गर्दा आफ्नो नम्बरमा आएको ओटीपी कोड राख्नुपर्ने हुन्छ । 

त्यसपछि च्याटबटले प्रयोगकर्ताले राखेको समस्याको समाधान दिने कम्पनीले जनाएको छ । यदि च्याटबटसँग कुरा गर्दा प्रयोगकर्ता सन्तुष्ट भएनन् भने अनलाइनमार्फत वर्ल्डलिङ्कका प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज १५, २०८० १४:८