close

उत्तर पश्चिमी नाका टिंकरमा पुग्यो नेपाल टेलिकमको टुजी सेवा

टेकपाना टेकपाना

असोज १७, २०८० १३:५२

उत्तर पश्चिमी नाका टिंकरमा पुग्यो नेपाल टेलिकमको टुजी सेवा

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि सो क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भी-स्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो ।

पहिले सो क्षेत्रमा भी-स्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब ५०० सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुने टेलिकमले जनाएको छ ।

करिब तीन हजार ७०० मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा अवस्थित छ ।

त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज १७, २०८० १३:५२