close

सबै कमर्सियल बैंकको मोबाइल बैंकिङबाट जोडियो ‘नेपाल पे’

टेकपाना टेकपाना

असोज २५, २०८० १८:१०

सबै कमर्सियल बैंकको मोबाइल बैंकिङबाट जोडियो ‘नेपाल पे’

 

काठमाडौं । अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ एपबाट 'नेपाल पे' स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले बिहीवार एक विज्ञप्ति जारी गर्दै नेपाल पे सम्पूर्ण वाणिज्य बैंकमा जोडिएको जानकारी दिएको हो ।

यससँगै अब ग्राहकले जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङमार्फत नेपाल पे स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी अधिकांश विकास बैंक, फाइनान्स कम्पनी, वालेट र कनेक्ट आईपीएस एपबाट पनि नेपाल पे स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल पेबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । ​कम्पनीले नेपाल पेमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धिलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको छ ।

त्यससँगै यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि कम्पनीको अपेक्षा छ । नेपाल पे क्यूआर नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । क्यूआर स्कीमको रूपमा समेत पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ ।

कम्पनीका अनुसार बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरू आबद्ध गरिसकेका छन् । मर्चेन्ट र व्यवसायीहरूले नेपाल पे क्यूआरमा आवद्ध भई ग्राहकहरुबाट क्यूर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई-कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्ड्रोइड पीओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

धेरैजसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १८:१०