काठमाडौं । दशैंको शुभकामना दिन चिठी वा अन्य पत्र पठाउने प्रचलन करिब हटिसकेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले शुभकामना आदानप्रदान गर्न निकै सजिलाे भएकाे छ ।
सामाजिक सञ्जालबाट शुभकामना दिन पोस्टरको धेरै महत्त्व हुन्छ । के तपाईंलाई थाहा छ ? हामी आफ्नो फोनबाट नै स्तरीय पोस्टर बनाउन सक्छौं । यस्ता पोस्टरहरू विभिन्न चाडपर्वमा आफ्नो सामाजिक सञ्जालमा राखेर शुभकामना दिन उपयुक्त हुन्छन् ।
आज हामी एन्ड्रोइड तथा आईओएस फोनबाट राम्रा शुभकामना पोस्टर बनाउन सिकाउँछौ । त्यसका लागि सबैभन्दा पहिले एन्ड्रोइडमा निःशुल्क कसरी बनाउने भन्ने चर्चा गर्छौं । अनि, आईओएसका लागि पनि कसरी निःशुल्क डिजाइन तयार पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।
त्यसका लागि केही विशेष प्रक्रियामा ध्यान दिनुपर्छ । माथि देखिएको पोस्टर देख्दा बनाउन जति गाह्रो देखिन्छ वा गाह्रो लाग्न सक्छ, बनाउन थालेपछि सोचेभन्दा सजिलो छ । एन्ड्रोइड फोनबाटै पोस्टर निर्माण गर्न सघाउने एप र त्यसको प्रक्रियाबारे यहाँ चर्चा गरिएको छ । यसका लागि तपाईंले दुईवटा प्रक्रियामा राम्रोसँग काम गर्नुपर्ने हुन्छ ।
१) एप र एपमा फन्ट इन्स्टल
सबैभन्दा पहिले तपाईंले एन्ड्रोइडका लागि यस लिङ्कमा र आईओएसका लागि यस लिङ्कमा गएर पिक्सेलल्याब एप इन्स्टल गर्नुहोस् । यदि तपाईंले निर्माण गर्न लागेको पोस्टरमा अङ्ग्रेजी अक्षर प्रयोग हुन्छन् भने त केही गर्न परेन, एपमा डिफल्ट रूपमा रहेका फन्ट प्रयोग गर्न सकिन्छ । तर, यदि पोस्टरमा नेपाली अक्षर प्रयोग गर्नुपरेको खण्डमा भने तपाईंले तल उल्लेख गरिएको प्रक्रियाबाट फन्ट इन्स्टल गर्न सक्नुहुन्छ ।
प्रक्रियागत रूपमा लामो देखिए पनि यहाँ हामीले विस्तृत जानकारी दिएकाले तपाईंले सहजै बुझ्न सक्नुहुन्छ । यस्ता पोस्टरलाई आकर्षक बनाउन हामीले विभिन्न फन्टहरू प्रयोग गर्नुपर्ने हुन्छ ।
गुगलमा गएर नेपाली फन्ट कलेक्सन जिप फाइल (Nepali Font Collection Zip File) सर्च गरेर फन्ट डाउनलोड गर्नुहोस् । वा यहाँ क्लिक गरेर पनि सोझै फन्ट डाउनलोड गर्न सकिन्छ ।
फन्ट डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो स्मार्टफोनमा रहेको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्याट गर्नका लागि तपाईंले आफूले डाउनलोड गरेको फन्टको जिप फाइल कुन फोल्डरमा छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ ।
प्रायः फोनमा डाउनलोड गरेका सामग्री डाउनलोड फोल्डरमा हुने भएकाले तपाईं त्यहीँ जान सक्नुहुन्छ । आफूले डाउनलोड गरेको जिप फाइलमा ट्याप गर्नुभयो भने एक्स्ट्रयाक्ट गर्ने अप्सन देखाउँछ ।
-यसरी फन्ट कुनै फोल्डरमा एक्स्ट्रयाक्ट गर्न सकिन्छ । यो प्रक्रियापछि पिक्सेलल्याबमा सो फन्ट इन्स्टल गर्नुपर्ने हुन्छ ।
-पिक्सेलल्यावमा फन्ट इन्स्टल गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् ।
-एप खोलिसकेपछि त्यहाँ न्यु टेक्स्ट (New Text) लेखिएको एक अप्सन देखिन्छ । तपाईंले त्यसमा क्लिक गर्नुहोला ।
-त्यसपछि तलको ए (A) को आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि त्यसको माथि थुप्रै अप्सनहरू देखिन्छन् ।
-त्यसलाई बायाँ तर्फ सार्दै जानुभयो भने फन्ट भन्ने अप्सन भेट्नुहुनेछ ।
-फन्टमा क्लिक गर्नुभयो भने एउटा नयाँ सेक्सन देखिन्छ । जसमा तपाईंलाई तीन विकल्प दिएको हुन्छ ।
-तपाईंले बीचको माई फन्ट (My Font) मा ट्याप गर्नुभयो भने त्यहाँ खाली सेक्सन देखिन्छ । अब हामीले डाउनलोड गरेको फन्ट यही सेक्सनमा इन्स्टल गर्नुपर्ने हुन्छ ।
-फन्ट इन्स्टलका लागि साेही सेक्सनको तल सर्च बक्स रहेको छ । सर्च बक्सको छेउमा दुईवटा आइकन छ । त्यसमध्ये तपाईंले अन्तिमको अप्सन छान्नुहोस् ।
-यसपछि फाइल म्यानेजरको अप्सन देखिन्छ । त्यहाँ तपाईंले पहिले फन्ट एक्स्ट्रयाक्ट गरेको फोल्डरमा गई फन्ट सेलेक्ट गर्नुहोला । यसरी फन्ट पिक्सेलल्याबमा इन्स्टल गरिसकेपछि पहिलेको माई फन्टको ठाउँमा तपाईंले थुप्रै फन्टहरू देख्न सक्नुहुन्छ ।
२) डिजाइन गर्ने तरिका
फन्ट इन्स्टलको प्रक्रिया सकिएपछि अब पोस्टर डिजाइनको प्रक्रियामा जाऔं । यसमा डिजाइन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
-सबैभन्दा पहिले तपाईंले डिजाइन कुन पर्वका लागि बनाउन लागेको हो, त्यो ख्याल गर्नुहोस् ।
-त्यो भन्दा पनि विशेष पर्वमा कुन-कुन कलरलाई प्राथमिकता दिएको छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । त्यही अनुसार हामी यहाँ रातो र हरियो रङ्गको प्रयोग गरिरहेका छौं ।
-सबैभन्दा पहिले ब्याकग्राउन्ड कलर छान्नुहोस्, त्यसका लागि सो पेजको अन्तिममा अप्सन देख्नुहुनेछ । त्यसमध्ये सकेण्ड लास्ट अप्सन छान्नुहोला । सो अप्सन छानिसके पछि कलर भन्ने अप्सन देखिन्छ । त्यसमा क्लिक गरेर आफूलाई आवश्यक कलर छान्न सक्नुहुनेछ ।
-कलर छानी सकेपछि, तलको तेस्रो अप्सनमा जानुहोस् । त्यसपछि माथि शेप्स (Shapes) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्दा वर्गाकार बक्स देखिन्छ । अब तपाईंले त्यही बक्सलाई आफ्नो आवश्यकता अनुसार साइज र कलर मिलाउन सक्नुहुन्छ ।
-त्यसरी हामीले बनाएको पोस्टर जस्तै विभिन्न कलरका बक्स बनाउनुहोस् ।
-यो प्रक्रिया सकिएपछि तपाईंले अन्य दुईवटा कुरामा ध्यान दिनुपर्छ । यदी तपाईं आफ्नो फोटो राख्न चाहनुहुन्छ भने फोटो र जमरा, टिकाको फोटो । यी सबै पहिले नै डाउनलोड गरेर राख्नुपर्ने हुन्छ ।
फोटोको ब्याकग्राउन्ड भएको खण्डमा हटाउनका लागि तपाईंले कुनै एक ब्याकग्राउन्ड रिमुभर साइट प्रयोग गर्न सकिन्छ, जस्तै रिमुभ डट बिजी । यसरी फोटोमा देखाए जस्तो पोस्टर तपाईंले आफ्नो फोनको एपबाट केही समयमा नै बनाउन सक्नुहुन्छ ।
यस पोस्टरमा प्रयोग भएका विभिन्न तत्व (जमराको फोटो, बीचमा रहेको लाइन, त्यस्तै तल भएको मन्दिरको फोटो) सबै पीएनजी फर्म्याटमा डाउनलोड गर्न सकिन्छ । यदि ब्याकग्राउन्ड हटाउन पर्यो भने पनि हामीले ब्याकग्राउन्ड हटाउने तरिकाको बारेमा जानकारी दिइसकेका छौं । पोस्टरमा के कुराले आकर्षक देखिन्छ भन्ने विषय तपाईंको छनौटमा निर्भर रहन्छ ।
आईओएसमा पिक्सेल ल्याब शुल्क तिरेर प्रयोग गर्नुपर्ने हुन्छ । यदि पिक्सेलल्याब जस्तै एप प्रयोग निःशुल्क प्रयोग गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरी आईओएस प्रयोगकर्ता र यहाँ क्लिक गरी एन्ड्रोइड प्रयोगकर्ताले क्यान्भा एप इन्स्टल गर्नुहोस् । क्यान्भा वेब ब्राउजरमा पनि प्रयोग गर्न सकिन्छ । यसमा फोटो मात्र नभई भिडिओ समेत डिजाइन र एडिट गर्ने सुविधा दिइएको हुन्छ ।
स्तरीय नेपाली फन्ट राखेर पनि पोस्टर डिजाइन गर्न सकिन्छ । तर, सबै फन्ट वा पोस्टरको टेम्प्लेट निःशुल्क भने उपलब्ध हुँदैनन् । यदि तपाईं डिजाइनमा पोख्त हुनुहुन्छ भने आफ्नै स्तरीय डिजाइन पनि बनाउन सक्नुहुन्छ । स्तरीय फोटो डिजाइन गर्नका लागि पिकआर्ट पनि राम्रै एप हो ।
यसमा पनि क्यान्भा जस्तै पहिले नै प्रयोगमा आएका टेम्प्लेटमा एडिट गर्न सकिन्छ । त्यसबाहेक पनि आफ्नो छुट्टै डिजाइन तयार पारेर पोस्टर बनाउन सकिन्छ । यसमा पाइने अधिकांश टेम्प्लेट र फन्टका लागि शुल्क तिर्नुपर्ने हुन्छ । त्यसैले तपाईंलाई क्यान्भा वा पिक्सेलल्याब नै उपयुक्त हुनसक्छ ।