काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० भित्र भारतले चन्द्रामामा मान्छे पठाउने घोषणा गरेका छन् । मङ्गलवार ‘गगनयान मिसन’ (देशको पहिलो मानव मिसन) र अक्टोबर २१ मा हुने भनिएको ‘क्रु स्केप सिस्टम टेस्ट भेहिकल’को पहिलो प्रदर्शनी उडानको तयारीको समीक्षा गर्न भएको बैठकमा मोदीले भारतका आगामी महत्त्वकांक्षी लक्ष्य घोषणा गरेका हुन् ।
मोदीका अनुसार भारतले सन् २०३५ मा भारतीय अन्तरिक्ष स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ भने सन् २०४० मा सम्ममा चन्द्रमामा पहिलो भारतीय नागरिक पठाउने लक्ष्य राखेको छ । बैठकको अध्यक्षता ग्रहण गरिरहेका मोदीले अन्तरिक्ष अन्वेषणमा भारतले भविष्यमा अपनाउने रणनीतिक योजनाबारे थप चर्चा गरेका थिए ।
“गगनयान मिसनको तयारी र भारतको अन्तरिक्ष अन्वेषण प्रयासहरूसँग सम्बन्धित अन्य पक्षहरूको समीक्षा गरियो,” मोदीले एक्स पोस्ट गर्दै लेखेका छन्, “विगतका केही वर्षहरूमा अन्तरिक्ष क्षेत्रमा भारतको प्रगति प्रशंसनीय छ र हामी थप सफलताहरूका लागि त्यसलाई निर्माण गरिरहेका छौं ।”
यी महत्त्वाकाङ्क्षी लक्ष्यहरू पूरा गर्न अन्तरिक्ष विभागले चन्द्रमा अन्वेषणको लागि एक व्यापक रोडम्याप तयार गर्नेछ, जसमा चन्द्रयान मिसनहरूको शृङ्खला, नेक्स्ट जेनेरेसन लन्च भेहिकल (NGLV) को विकास, नयाँ लन्च प्याडको निर्माण गर्ने बताइएको छ ।
मानव-केन्द्रित प्रयोगशाला र सम्बन्धित अत्याधुनिक प्रविधिहरूको विकासमा समेत विभागले काम गर्नेछ । प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरूलाई अन्तरग्रहीय मिसनहरूमा काम गर्न पनि आह्वान गरेका छन् । जसमा शुक्र ग्रह र मङ्गल ग्रहमा मिसन पठाउने समावेश छन् ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले एक विज्ञप्ति जारी गर्दै गगन यान परियोजनाको आउँदो फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन-वान (टीभी-डीवान) को जानकारी दिएको छ । उक्त परीक्षण अक्टोबर २१ मा आन्ध्र प्रदेशमा रहेको श्रीहरिकोट लन्ट साइटमा हुनेछ ।